Comments Add Comment

ठेकेदारले अलपत्र छाडेको सडक बनाउँदै सुनकोशी गाउँपालिका

१९ भदौ, काठमाडौं । बिग्रेको सडक १० दिनभित्र सुधार गरिसक्ने लिखित प्रतिबद्धता निर्माण व्यवसायीले पूरा नगरेपछि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका आफैं सडक मर्मतका लागि तातेको छ ।

सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत चार जिल्लाको ‘लाइफलाइनका रुपमा लिइने लामो साँघु जिरी सडक स्तोरन्नति गर्नै भन्दै निर्माण व्यावसायीहरुले भत्काएर अलपत्र पारेपछि यात्रुहरु मर्कामा परेका थिए ।

निर्माण व्यावसायीहरुले १० दिनभित्र सडक सुधार गरेर सहज रुपमा यातयात सञ्चालन गर्नै प्रतिबद्धता गरे पनि नसुधारेपछि सुनकोसी गाउँपालिकाको अगुवाइमा सडक मर्मत सुरु गरिएको हो ।

खाडिचौरदेखि मुढेसम्म २७ किलोमिटर सडक चौडा र कालोपत्रे गर्ने जिम्मा सुनौलो खिम्ती, भारतको सीमाञ्चल कम्पनीलाई दिइएको थियो । मुडेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकिल हैदरले लिएका थिए ।

यस क्षेत्रका यात्री र स्थानीयले सडकको कारण चरम दुःख पाएपछि दुई साताअघि ३ नम्बर प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा ठेकेदारहरुले १० दिनभित्र सडक सुधारेर आवागमन सहज पार्ने प्रतिबद्धता जनाएका थिए ।

तोकिएको मितिमा पनि ठेकेदारहरुले काम नगरेपछि गाउँपालिकाको स्रोतमा सडक सुधार थालिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले जानकारी दिए । ‘यस क्षेत्रका यात्रीहरुले सडक बिग्रेका कारण धेरै दुःख पाए, त्यसैले सुनकोशी गाउँपालिका भित्रको सडक खण्ड हामी आफैंले सुधार थालेका छौं’, अध्यक्ष जिसीले भने ।

गाउँपालिकाले भाडामा दुईवटा स्काभेटर ल्याएर ग्राबेल बिच्छाउने काम शुरु गरेको छ । अध्यक्ष जिसीले लिसंखुपाखर गाउँपालिकासँग पनि समन्वय गरेर मुडेसम्म नै सडक सुधार गर्ने बताए ।

चाडपर्व नजिकिँदै जाँदा पनि ठेकेदारहरुले सडक मर्मत नगरेको अध्यक्ष जीसीले बताए । ‘हामीले पटकपटक ठेकेदारहरुलाई सडक सुधार गर्न भनेका छौं तर ठेकेदारले वास्तै गरेनन्’, अध्यक्ष जिसीले भने, ‘अब हामी आफैं सडक सुधारमा लागेका छौं । केही दिनभित्रै सबैले सहज रुपमा यात्रा गर्न सक्छन् ।’

सडक स्तरोन्नतिका क्रममा सडक अधकल्चो छाडेपछि यस क्षेत्रका यात्रीहरु वैकल्पिक सडक प्रयोग गर्न बाध्य छन् । दोलखाबासीहरु अहिले खुकोर्टको सडक हुँदै यात्रा गरिरहेका छन् । यो सडक हुँदै राजधानी आउजाउ गर्न जम्मा १३३ किलोमिटर भए पनि वैकल्पिक सडक प्रयोग गर्दा १९१ किलोमिटर लामो हुने दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment