Comments Add Comment

‘तस्करको सञ्जाल नभत्काएसम्म मान्छे बेचिने समस्या यथावत’

२० भदौ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औं राष्ट्रिय दिवस आज काठमाडौं उपत्यकासहित देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘संघीयताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाउन लागिएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउँदै छ । मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय संघसंस्थाहरुले पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, विद्यार्थी, अधिकारकर्मीलगायतको सहभागीतामा प्रभातफेरी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

दिवसको अवसरमा बुधबार काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ । बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको र्‍याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर समापन भएको थियो ।

बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको प्रभातफेरीमा मन्त्री थममाया थापासहित, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतको सहभागिता थियो ।

मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध: मन्त्री थापा

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षले सहयोग गर्नुपर्ने बताइन् ।

कार्यक्रममा ‘मिडिया मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्मा, ‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेल लगायतले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताए । उनीहरुले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सन् २००२ मा नेपालमा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महामन्त्री २००२’ लाई नेपालको व्यवस्थापिका संसदले २०६३ भदौ २० गतेका दिन अनुमोदन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष नेपालमा भदौ २० गतेलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment