Comments Add Comment

विश्वविद्यालय टपरलाई शिक्षक बनाउने सरकारको योजना

२२ भदौ, काठमाडौं । सरकारले विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई सोझै शिक्षण पेशामा प्रवेश गराउने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विभिन्न संकायका सर्वोत्कृष्ट विद्यार्थीलाई सिधै शिक्षण पेशामा सहभागी गराउने बताएको हो ।

‘शिक्षण पेशामा अब्बल प्रतिभाहरुलाई प्रवेश गराउन विश्वविद्यालयका फ्याकल्टी टपहरहरुलाई सोझै शिक्षण पेशामा प्रवेश गर्न पाउने कानूनी व्यवस्था गर्ने’ नीतिमा भनिएको छ ।

त्यस्तै सरकारी विद्यालयमा करारमा शिक्षक राख्नुपर्ने ठाउँमा पनि शिक्षक सेवा आयोगले लिएको परीक्षामा वैकल्पिकमा नाम निकालेहरुलाई मात्र राख्ने सरकारको तयारी छ ।

सरकारले विद्यालयमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने गरी नीति ल्याएको छ । यदि अलग्गै प्रधानाध्यापक नभएमा प्रधानाध्यापकको जिम्मा लिएका शिक्षकलाई धेरै कक्षा पढाउन नपर्ने व्यवस्गा गर्ने सरकारको तयारी छ ।

प्रधानाध्यापक नियुक्ति गर्दा नतिजामूलक कार्यसम्पादन सम्झौता गर्ने र सम्झौताअनुसार काम नगरेमा हटाउन सक्ने व्यवस्था गर्ने, अनुभवी एवं उत्कृष्ट शिक्षकमध्येबाट प्रधानाध्यापक छनोट गर्ने, शिक्षक सेवा आयोगले नेतृत्व परीक्षणका लागि आधारमा सम्भावित प्रधानाध्यापकको रोष्टर तयार पार्ने पनि नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै सरकारले हरेक ६ महिनामा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, एक विद्यालय एक वगैंचाको कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम पनि ल्याएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीति तथा कार्यक्रमले सार्वजनिक शिक्षाको रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘सार्वजनिक संस्थाबाट प्रदान गरिने शिक्षा निजी संस्थाको तुलनामा कमजोर देखिएको स्थितिमा सार्वजनिक शिक्षाको सुधारको लागि नीति तथा कार्यक्रम ल्याइएको हो’ मन्त्री पोखरेलले भने ।

सार्वजनिक शिक्षामा लगानी अनुसारको प्रतिफल नआएकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार गर्न सबैले प्रयास गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment