Comments Add Comment

भताभुंग दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने घोषणा

२९ भदौ, काठमाडौं । ०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको र भूकम्पले झनै धरासायी बनाएको दशरथ रंगशालाको पुनर्निर्माण नसकिँदै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा दशरथ रंगशालामा आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म मदन भण्डारी इन्टरनेसनल फुटबल प्रतियोगिता हुने घोषणा गरिएको हो ।

२०७० सालको असोजमा साफ च्याम्पियनसिप भएपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन ।

दशरथ रंगशाला पुनर्निर्माणकै क्रममा छ, साधारण प्याराफिटतर्फ लगभग काम सकिए पनि अझै धेरै काम बाँकी नै छ । यस्तोमा रंगशाला पुनर्निर्माणमा ढिलासुस्ती नहोस् र समयमै काम होस् भनेर दबाव दिन पनि प्रतियोगिता दशरथ रंगशालामै गर्ने घोषणा गरिएको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् ।

‘रंगशालाको अवस्था हामीले विचार गरेका छौं । त्यहाँ भइरहेको ढिलासुस्ती नहोस् र समयमै काम होस् भनेर पनि हामीले अर्को विकल्प हुँदाहुँदै रंगशालामा नै प्रतियोगिता गर्न खोजेका हौँ । यो हाम्रो अहिलेसम्मकै ठूलो आयोजना हो, यसैले सबै कुरा विचार गरेका छौं’ उनले भने ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीसँग अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गराउन पहल गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घले पनि प्रतियोगिता हुनुअघि नै दशरथ रंगशालाको काम सकिने बताउँछन् ।

‘राखेप सदस्यसचिवसँग पनि मैले कुरा गरिरहेको छु । उहाँले रंगशाला दसैंअघि दर्शक बसेर खेल हेर्न मिल्ने भइसक्ने बताउनुभएको छ । दशरथ रंगशालामा बन्नेमा हामी ९९ प्रतिशत ढुक्क छौं’ घलेले भने ।

झण्डै चार वर्षदेखि घरेलु लिग पनि हुन नसकेकाले नेपाली दर्शकले फुटबल नै हेर्न नपाएका बेला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागिएको र त्यसले खेलाडीको स्तर वृद्धिमा पनि सहयोग पुग्ने घले बताउँछन् ।

‘गएको वर्ष घरेलु प्रतियोगिता गरेका थियौं । यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता गरेर फुटबलको माहोल फर्काउनेसँगै खेलाडीको स्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्य राखेका छौं । यसैले धेरै खेलाडीले अवसर पाउन् भनरै नेपालको दुई टिम खेलाउने तयारी गरेका हौं’ अध्यक्ष श्रेष्ठले भने ।

कति टिम आउने यकीन छैन

प्रतियोगिताका लागि मदन भण्डारी स्पोर्टस् एकेडेमीले एन्फासँग सहमति गरेर काम गरिरहेको छ । फिफा र एएफसीबाट अन्तर्राष्ट्रिय मान्यता लिन एन्फाबाट पहल भइरहेको आयोजकले जनाएको छ ।

लिग कम नकआउटका आधारमा गर्ने प्रतियोगितामा ४ विदेशी टिम र नेपालको २ टिम सहभागी हुने भनिए पनि टिममा थपघट हुने देखिएको छ । किनकी एन्फाकै सहकार्यमा दक्षिण कोरिया, भुटान, बंगलादेश, भारत, थाइल्याण्ड र चीनसँग कुरा भइरहेको छ ।

दक्षिण कोरियाले युनिभर्सिटी टिम पठाउने र भुटानले २३ वर्षमुनिको टिम पठाउने लगभग पक्का गरेपनि अरु देशले टिम पठाउने कि नपठाउने वा कस्तो टिम पठाउने बारे निर्णय गरिसकेका छैनन् ।

एन्फाका मानार्थ अध्यक्ष टासी घले आफूहरुले सकेसम्म राष्ट्रिय टिम र त्यो नभएमा २३ वर्षमुनिको टिम पठाइदिन आग्रह गरेको बताउँछन् ।

समूह चरणका लागि सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग खेल खेलाइने तयारी छ । प्रत्येक समूहबाट उच्च अंक ल्याउने दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल र फाइनल नकआउट आधारमा खेलाइने आयोजकले जनाएका छन् ।

विजेतालाई २५ हजार अमेरिकी डलर

प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर (२५ लाख रुपैयाँ भन्दा बढी) र दोस्रो हुनेले १० हजार अमेरिकी डलर (१० लाख भन्दा बढी) पुरस्कार पाउनेछन् । प्रतियोगिताका लागि एक करोड ५० लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

साथै प्रतियोगिताका लागि आउने विदेशी टिमको बसोबास र खानपानको व्यवस्था आयोजकले नै गर्ने छन् । आउने जाने खर्च भने टिमले आफै व्यहोर्नुपर्ने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment