Comments Add Comment

बंगलादेश र अफगानिस्तान सेमिफाइनलमा, श्रीलंका आउट

२ असोज, काठमाडौं । बंगलादेश र अफगानिस्तान समान एक-एक खेल खेल्नुअघि नै एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युएईको अबुधाबीस्थित शिख जायद रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानसँग अपत्यारिलो तरिकाले श्रीलंका पराजित भएसँगै एसिया कपबाट बाहिरिएको हो ।

२५० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १५८ रन बनाएसँगै अफगानिस्तानले ९१ रनले विजयी भएको हो । विना रन पहिलो विकेट गुमाएको श्रीलंकाले कुनै जादु देखाउन सकेन ।

श्रीलंकाका लागि उपुल थरांगाले ३६, थिसरा परेराले २८, धनन्जय डे शिल्भाले २३ र कप्तान एन्जेलो मथेवसले २२ रन बनाउन बाहेक अन्य खेलाडी पनि सस्तैमा समेटिए ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा राशिद खान, मुजिब उर रहमान, गुल्बादिन नाइब र मोहम्मद नाबीले समान २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४९ रन बनाएको थियो ।

अफगानिस्तानको लागि रहमत शाहले उत्कृष्ट इनिङ्स खेले । उनले ७२ रन बनाएका थिए । त्यस्तै, इन्सानुल्लाहले ४५, हस्मातुल्लाह शाहिदीले ३७ र मोहम्मद शाहजादले ३४ रनको योगदान दिए ।

बलिङतर्फ श्रीलंकाका थिसरा परेराले ५ विकेट लिए । उत्कृष्ट बलिङ गरेका परेराले ९ ओभर बलिङ गर्दै ५५ रन खर्चेर ५ विकेट लिएका थिए ।

पराजित श्रीलंका समूह चरणको दुबै खेलमा हार ब्यहोर्दै एसिया कपबाट बाहिरिएको हो । यसअघि आफ्नो पहिलो खेलमा बंगलादेशसँग १३७ रनले पराजित भएको थियो ।

समूह बी को अन्तिममा बंगलादेश र अफगानिस्तानबीचको खेल २० तारिखमा हुदैछ । खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment