Comments Add Comment

राजा त्रिभुवनले जन्माएको फुटबल क्लबको कथा

५ असोज, काठमाडौं । एक समय नेपाली फूटबलमा निकै बलियो मानिन्थ्यो न्यूरोड क्लव (एनआरटी) । तर, त्यो केवल इतिहास बनिसकेको छ ।

चारपटक राष्ट्रिय लिग जितेको एनआरटी अहिले भने निकै पछि परेको छ । आर्थिक संंकटमा कारण ६० को दशकमा धराशयी भएर फेरि ब्यूँतिएको टिमले यसपाली लिगमा कस्तो प्रदर्शन गर्ला ? त्यसको चर्चा गर्नुअघि क्लवको इतिहास बुझौं ।

यसरी जन्मियो

१९९० को दशकको प्रारम्भमा राणा शासनविरोधी गतिविधि विस्तारै सुरु भएको थियो । जनता मात्रै हैन, राजा पनि विभिन्न शैलीबाट राणाको विरुद्धमा उत्रिन थालेका थिए । तत्कालिन राजा त्रिभुवनले प्रजातन्त्रका पक्षमा युवाहरुलाई संगठिन गर्न खेलकुदलाई एउटा अष्त्र बनाए ।

अरु टिमले बाह्रै महिना अभ्यास गरिरहेका छन् । हाम्रो लक्ष्य भनेको सातौं–आठौं पोजिसनमा आउने हो- मुख्य प्रशिक्षक महेश्वर मुल्मी

यही क्रममा उनले जन्माएको फुटबल क्लब हो, न्यु रोड टिम (एनआरटी) । त्रिभुवनले त्रिपुरेश्वर चोकमा ४ रोपनी जग्गा उपलब्ध गराएपछि वि.सं. १९९१ मा क्लबको स्थापना भएको थियो । क्लवमा न्युरोडका स्थानीय खेलाडी आवद्ध थिए । त्यसको १२ वर्षपछि २००३ सालमा अन्य खेलहरु पनि समेट्ने उद्देश्यले काठमाडौं खेल मण्डल स्थापना गरेर एनआरटीलाई त्यस मातहत ल्याइयो । काठमाडौं खेल मण्डलले अहिले पनि विभिन्न खेलकुद गतिविधि गर्छ ।

त्यो समयमा नेपालमा फुटबल टिमहरू भर्खर जन्मन थालेका थिए । क्लबहरु राणा शासक र राजाको पक्षमा विभाजित थिए । राणानिकट महावीर क्लब र राजानिकट एनआरटी प्रतिस्पर्धी मानिन्थे ।

एनआरटीका अध्यक्ष दिपकहर्ष बज्राचार्यका अनुसार महावीर र एनआरटीबीचको एउटा खेलमा रेफ्री थिए नरशम्शेर । खेलकै दौरानमा दुई पक्षबीच झगडा पर्‍याे । नरशम्शेरले अम्पायरिङमा त्रुटी गरेपछि एनआरटीका डिफेन्डर कृष्णचरण श्रेष्ठले उनको मुखैमा थुकिदिए । त्यसपछि उनीमाथि प्रतिबन्ध लगाइयो । पछि उनी राजनीतिमा होमिए ।

ऋणले थिचेपछि …

२०६९ सालमा एनआरटीले नेपाली फुटबलमा ‘भूकम्प’ नै ल्याइदियो । ऋणको बोझले थिचिएको क्लवले सो वर्ष ए डिभिजन लिग नै नखेल्ने निर्णय गर्‍याे । त्यसअघि करिब २ वर्षसम्म लिग भएको थिएन ।

खेलाडीलाई भने पूरै पारिश्रमिक दिनुपर्दा एनआरटीलाई करिब १ करोड ८४ लाख ऋण लागेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारणले निकै ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको क्लबको निष्कर्ष छ ।

टुँडिखेलमा अभ्यास गर्दै न्यूरोड टिमका खेलाडीहरू

क्लबले आर्थिक भार थेग्न नसक्ने स्थितिमा पुग्दा पदाधिकारीहरु दुई समूहमा विभाजित भए । तत्कालिन अध्यक्ष नरेन्द्र श्रेष्ठ लिग खेल्नुपर्छ भन्ने पक्षमा थिए भने अन्य पदाधिकारी केही वर्ष सहभागिता नजनाउने पक्षमा । भोटिङमा जाँदा सहभागिता नजनाउनेको बहुमत आयो र अध्यक्ष श्रेष्ठले राजीनामा नै दिए ।

यो नेपाली फुटबलका लागि नमिठो घटना थियो । राणाकालदेखि पञ्चायत हुँदै विभिन्न कालखण्ड पार गरेको यो क्लब संकटमा पर्नु दुखद थियो ।

भविष्यको आयस्रोत सुरक्षित गर्न २०४७ सालमा क्लवले त्रिपुरेश्वरको जग्गामा लिजमा भवन बनाउन दिएको थियो । २० वर्षपछि उक्त भवन क्लवको स्वामित्वमा आउने सम्झौता थियो ।

२०६७ सालमा आएर भवन एनआरटी क्लबको आफ्नै भयो । त्यसलाई भाडामा लगाएर क्लवले केही आम्दानी गर्न थाल्यो । बिस्तारै ऋणहरू चुक्ता गर्ने बाटो बन्यो । यसरी चरम आर्थिक संकटबाट मुक्ति पाएर पुनर्जिवित भयो एनआरटी ।

चार पटकको विजेता

एनआरटीले अहिलेसम्म सहिद स्मारक ‘ए’ डिभिजन लिग ४ पटक जितेको छ । विक्रम संवत् २०१७, २०१९, २०३५ र २०५१ मा यसले उपाधि जितेको हो ।

अन्तर्राष्ट्रियस्तरमा पनि केही प्रतियोगितामा सहभागिता जनाएर उपाधि जित्न क्लब सफल भएको छ । साथै महेन्द्र गोल्डकप र मोफसलमा हुने विभिन्न प्रतियोगिताको उपाधि पनि यसको नाममा छ ।

तर, ६० को दशकमा ओरालो लाग्न थालेको क्लवले ६९ सालको लिग नखेलेपछि एन्फाले कारवाहीस्वरुप बी डिभिजनमा घटुवा गरिदियो । २०७३ सालमा मा ‘बी’ डिभिजन लिगको रनर अप भएपछि एनआरटी फेरि ए डिभिजनमा उक्लियो । तर, त्यतिबेला ए डिभिजन लिग रोकिएको अवस्था थियो ।

यसपालीको लक्ष्य

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको चार वर्षपछि ‘ए’ डिभिजन लिग फुटबल यही असोज १३ गतेदेखि सुरु गर्दैछ । एनआरटी क्लव ए डिभिजनमा फर्किएपछि पहिलोपटक लिग खेल्दैछ ।

प्रशिक्षक महेश्वर मुल्मी

एनआरटीमा अहिले ३ विदेशी खेलाडी र अन्य स्थानीय गरी २२ जना खेलाडी अनुवन्धित छन् । तर, मैदानको अभावमा एनआरटीले टुँडिखेलमा अभ्यास गरिरहेको छ । क्लवका मुख्य प्रशिक्षक महेश्वर मुल्मीले तयारी राम्रो भएको भन्दै सन्तोषजनक नतिजा आउने आशा व्यक्त गरे ।

उनले भने, ‘अरु टिमले बाह्रै महिना अभ्यास गरिरहेका छन् । हाम्रो लक्ष्य भनेको सातौं–आठौं पोजिसनमा आउने हो ।’

कुनै बेला एनआरटी भनेपछि अन्य क्लबको सातो जाने गथ्र्यो । स्थानीय खेलाडीले भरिएको यो क्लब एक जमानामा निकै बलियो मानिन्थ्यो ।

तर, २४ वर्षदेखि यसले उपाधि जितेको छैन र यो वर्ष पनि उपाधि जित्ने लक्ष्य नै छैन । क्लबमा राष्ट्रिय टिममा रहेका तथा अनुभवी खेलाडी छैनन् । दुई जनामात्र ए डिभिजन खेलेका खेलाडी छन्, स्टाइकर अशोक थापा र गोलकिपर सन्देश गुरूङ ।

एनआरटीमा अनुवन्धित खेलाडीः

१.असोक थापा

२. अजित प्रजापति

३. आशिश कपाली

४.विरेन्द्र थापा

५. दिपक खत्री

६. प्रविन शैजु

७. डिकेस खड्गी

८. रोजिन पुडासेनी

९. रोशन सरु

१०. सरोज तामाङ

११ .सकल रेग्मी

१२. सफल थापा

१३. संजिव श्रेष्ठ

१४. सुशिल लामा

१५. राजेश परियार

१६.दीपेश घोली श्रेष्ठ

१७. अशिम गुरुङ

१८. सोजित गुरुङ

१९. निशान लिम्बु

२०. क्रिस्टियन वालिसे कामिनी कामिनी (क्यामरुन)

२१. मोशोद ओपेमी अगवोला (नाइजेरिया)

२२. कौसी जियन डिडेल स्मेल योव्रो (आइभेरिकोष्ट)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment