Comments Add Comment

प्रधानन्यायाधीश थिएँ भन्ने बिर्सन थालेकी छु

५ असोज, काठमाडौं । पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ शनिबार सार्वजनिक हुँदैछ । उनको पुस्तक आएसँगै पूर्व न्यायमुर्तीहरूले आत्मकथा लेख्नु हुँदैन भन्ने परम्परा टुटेको छ ।

सर्वोच्च अदालतको सात दशक लामो इतिहासमा कार्की पहिलो महिला प्रधानन्यायधीश बन्न सफल भइन् । उनले २०७३ असारदेखि एघार महिना सर्वोच्च अदालतको नेतृत्व गरिन् । हक्की स्वभावकी कार्कीको पालामा सुडान घोटाला, अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्की लगायतका चर्चित मुद्दाको फैसला भयो । कार्की र तर्कराज भट्टको संयुक्त इजलाशले पहिलो पटक बहालवाला मन्त्रीलाई कैद सजाय सुनायो । तत्कालिन सूचना तथा सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्तालाई २०६८ फागुनमा भ्रष्टाचार मुद्दामा १८ महिना कैद हुने फैसला भएको थियो ।

भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति लिएका कार्कीविरुद्ध प्रधानन्यायाधीश भएका बेलामा तत्कालीन सत्तारुढ दल काग्रेस र माओवादीले व्यवस्थापिका-संसदमा महाअभियोग दर्ता गरे । यद्यपि पछि फिर्ता भयो ।

पूर्व प्रधानन्यायाधीश कार्कीसँग वकालत र न्यायालयको अनुभव तथा अवकाशपछिको जीवनबारे अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः

मेरो जन्म विराटनगरमा भएको हो । मेरो पुख्र्यौली थलो धनकुटाको जितपुर हो । तर, म त्यहाँ पुगेकी छैन । सिँधुुवाबाट पुर्ख्यौली गाउँ देखेकी छु । सात वर्ष कटेपछि विवाह गर्ने जमानाको कुरा हो यो । तर, २०१७ सालतिर नेपाली कांग्रेसले छोरीबुहारीलाई पढाउनुपर्छ भन्ने अभियान चलायो ।

वीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालाले छोरीलाई पढाउने गर्नुभएको थियो । अन्धकारका बेलामा कोइरालाहरुले छोरी पढाएका थिए । त्यतिबेला सक्नेहरूले छोरी पढाए । हाम्रा बुवाहरूमा पनि त्यो प्रभाव पर्‍यो । छोरी पढाउनुपर्छ, नोकरी गर्न पठाउनुपर्छ भन्ने सोच त्यतिबेलै आएको थियो ।

हामीले स्कूल पढ्ने बेलामा १२-१५ जना छात्राहरु हुन्थे । धेरै जसोको आईए पढ्ने बेलामा विवाह भयो । स्नातक गर्ने बेलामा त दुई-तीन जना थियौं । मैले नेपालबाटै बीएल गरें । ०३५ सालको अन्तिमतिरबाट ‘ल प्राटिक्स’ गर्न थालेँ । ०३६ सालमा जनमत संग्रहमा लागियो । ०३७/०३८ सालतिर धरानको ल क्याम्पसमा पढाएँ । अञ्चल बार र पुनरावेदन बारको अध्यक्ष भएँ ।

बुबा नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । २००७ सालमै राजनीतिमा लाग्नुभएको थियो । घरमा कांग्रेसको प्रभाव थियो । नेपाल विद्यार्थी संघमा काम गरेँ । तर कांग्रेसको सदस्यता लिईन । पार्टीमा आइनँ । भोट दिने काम पनि व्यक्ति हेरेर हुन थाल्यो । मान्छे जो गतिलो छ, उसैलाई भोट दिएँ ।

बिहेको प्रस्ताव मैले नै राखें

०४६ साल साउनमा विवाह भयो । हामी एक अर्कालाई मन पराएर विवाह गरेका हौं । अर्को तरिकाले भन्ने हो भने दुबै जनासँगै बस्नुपर्ने परिस्थिति निर्माण भयो । दुईजनाबीच लामो समयदेखिको परिचय थियो । एकले अर्कालाई बुझेको हुनाले विवाह गर्नु राम्रो हुन्छ भन्ने निश्कर्षमा पुग्यौं ।

आमाबाबुले छोरीको विवाह गर्ने बेलामा धनी, सम्पन्न होस् भन्ने चाहन्छन् । तर, मलाई भने आफ्नो करिअरमा रोकतोक नगर्ने श्रीमान् हुनुपर्छ जस्तो लाग्थ्यो । उहाँ (दूर्गा सुवेदी) मा त्यस्ता धेरै गुणहरू थिए । उहाँ घर व्यवहारमा पनि सहयोग गर्नुहुन्छ, म काम गर्न पाउँछु । पारिवारिकरुपले पनि उहाँ एक्लो एक्लो जस्तो हुनुहुन्थ्यो । उहाँ ड्रिक्स पनि नगर्ने । उहाँसँग विवाह गर्दा म निर्धक्क काम गर्न पाउँछु भन्ने जस्तो लाग्यो र मैले विवाहको प्रस्ताव राखेँ ।

मैले पहिलो दिन भन्दा उहाँले मैले कसरी विवाह गर्ने मसँग केही त छैन भन्नुभयो । मैले कमाउन त म कमाइहाल्छु नि भन्नेखालको कुरा गरेँ ।

म पनि मेकअप गरेर हिँड्ने खालकी थिइनँ । त्यसमा भन्दा पनि मैले आफ्नो लक्ष्यमा ध्यान दिन्थेँ । आफ्नो नाम बनाउनुपर्छ । मुलुकको सेवा गर्नुपर्छ भन्ने मेरो लक्ष्य थियो ।

कहिले काँही मात्रै हाम्रो नोक झोक पर्छ । मैले एकदमै सही श्रीमान रोजंेछु जस्तो लाग्छ । एकजना छोरा छन् । चार भागमा तीन भाग खाना श्रीमानले नै पकाउनुहुन्छ ।

म बाजजस्तै गुँडविहीन थिएँः दुर्गा सुवेदी

त्यतिखेर मेरो बस्ने ठेगान थिएन । भाडामा कोठा खोज्दा पनि दिँदैनथे । नाम सोध्थे, दुर्गा सुवेदी भनेपछि कोठा छैन भन्थे । होटलमा पनि इन्ट्री बुकमा नाम लेखिसकेपछि कोठा खाली छैन भन्थे । म कहिले इलाम, कहिले झापातिर चिनेजानेको मान्छेकोमा गएर दिन बिताएर बसेको थिएँ ।

पञ्चायतको चर्को दमनको बेला थियो, त्यो । म पार्टीमा पनि असन्तुष्ट थिएँ । जुन पार्टीमा काम गरेँ, त्यो पार्टी छोडिसकेको थिएँ । म एकदमै असहाय थिएँ । समाजमा सबैले चिन्थे । तर, त्यो चिनाइ कस्तो थियो भने यो हामीसँग नबोली दिए हुन्थ्यो भन्नेखालको । मसँग भेट हुँदा पनि यताउता हेरेर सतर्क भएर मात्रै कुरा गर्थे ।

एकमना सरकार छ । यसलाई काम गर्न दिनुपर्छ । यदि गरेन भने जनताले भोलि अर्कोलाई रोज्ला । तर, दुई तिहाईको सरकार भएको बेलामा महिलामाथि यत्रो हिंसा भइरहेका छन् । आततायीहरु, अपराधीहरूको मनोबल बढेको देखिन्छ । शान्ति सुरक्षा कायम गर्ने काम भएन ।

एकदम निकट कांग्रेस, जसले मलाई आदर्श मान्थे, त्यस्तो घरमा मात्रै जान्थेँ । म बाजजस्तै गुँडविहीन थिएँ । कमाइ भएका साथीहरूले खर्च दिन्थे । केही वकीलहरूले भित्रभित्रै मलाई सहयोग गर्थे । मलाई सहयोग गर्नेमा गणेशराज शर्मा लगायतका मेरै गुरुहरू पनि थिए । त्यसक्रममा म सुशीला कार्कीको घरमा पनि जान्थें । हाम्रो पहिलादेखिकै चिनजान थियो । कलेज पढ्ने बेलामा म नेता, उहाँहरू मेरा कार्यकर्ता । मलाई खर्च पनि दिनुहुन्थ्यो ।

नेपालभरि जहाँ गए पनि मलाई चिन्थे । नाम भनेपछि सतर्क भइहाल्थे । सँधै भौतारिएर मात्रै भएर एउटा गुँड त खोज्नुपर्‍यो भन्ने भएको थियो । भारतको डेरा पनि छोडिसकेको थिएन । उतै गएर बस्नुपर्छ कि जस्तो पनि लागेको थियो । एकदुई महिना भारत गएर बस्ने र र्फकने गथेर्ं । उता मुद्दा पनि चलिरहेको थियो । तोकिएको दिनमा तारेखमा जानुपर्दथ्यो । मेरो भविष्य पुरै अन्धाकारमा थियो ।

त्यस्तो बेलामा सुशीलाजीले विवाहको प्रस्ताव ल्याउनुभयो । त्यतिबेला उहाँ स्थापित वकील भइसक्नुभएको थियो । आम्दानीमा पनि गर्न थालिसक्नुभएको थियो । उहाँले पनि के सोच्नुभएको थियो होला भने अब विवाह गरेर बुहारी भइसकेपछि वकालत गर्न पाउँछु कि पाउँदिनँ ? त्यो करिअर अगाडि बढेन भने त बुहार्तन भएर बस्नुपर्ने हुन्छ । आमाबाबुको इच्छा अर्कै हुन्छ । उहाँ अलि सम्पन्न परिवारको मान्छे । म सबै सिद्धिसकेको मान्छे ।

उहाँले फ्याट्ट विवाहको प्रस्ताव राख्नुभयो । उहाँको भनाइ के थियो भने म उमेरले परिपक्व महिला हुँ, मैले सोचेर यो कुरा भनेकी हुँ । त्यसै मैले यो कुरा भनेको छैन भनेपछि मैले पनि विश्वास गर्नुपर्‍यो ।

त्यसपछि मैले विवाह गरेर त बसौंला, तर मेरो विगतले पछ्याइरहन्छ भनें । मेरो विगतले उहाँलाई बिगारिदिने पो हो कि भनेर रन्थनिइरहेँ । यस्तो कुरामा कसैसँग सल्लाह गर्ने कुरा पनि भएन । मेरो स्वविवेकमा सल्लाह लिनुपर्ने ।

अर्कोतिर सम्पन्न परिवारको छोरीले केही नभएको व्यक्तिसँग विवाह गर्दा उनीहरू सन्तुष्ट पनि नहुने । भविष्यमा यस्ता समस्या आउलान् भनेको उहाँले यो मेरो विषय हो भन्नुभयो । र, धेरै छलफल गरेरपछि ओके गरियो ।

त्यतिबेला म ४३ वर्षको थिएँ । बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर, म पूर्ण मान्छे भइसकेको थिएँ । जीवन देखिसकेको थिएँ । निक्कै माथिल्लो तहका नेताहरू चिनेको थिएँ । भारतका पनि प्राय सबै नेतालाई चिनिसकेको थिएँ ।

मलाई त्यस्तो फिलिङ नै भएन

विमान अपहरणमा परेको व्यक्ति पछि प्रधानमन्त्री नै बने । त्यो केसमा धेरै व्यक्तिहरू थिए । मलाई त्यतिबेला यो सब कुराको फिलिङ नै भएन ।

म विवाहका बारेमा युवा पुस्तालाई के भन्न चाहन्छु भने संसार पहिला जस्तो छैन । पहिला-पहिला सानोमा विवाह गर्ने चलन थियो । गाउँघर तिर अहिले पनि यस्तो चलन देखिन्छ । पढ्दा पढ्दै विवाह गर्न गएको पनि देखिन्छ । विवाह समयमै गर्नुपर्छ । आरोग्य हुनलाई यो आवश्यक पनि छ । तर परिपक्क नभईकन गरिएको विवाहमा सम्बन्ध विच्छेद दर पनि बढी छ । त्यसैले विवाह बुझेर गर्नुपर्दछ ।

अहिलेको जमानामा भनेको आफ्नै खुट्टामा उभिने बेला हो । आफ्ना लागि आफै कमाउने बेला हो । कमाउने नभईकन गरिएको विवाह त कठिन हुन्छ । संयुक्त परिवार जस्तो जमाना रहेन अब ।

जनताले न्यायाधीश बनाए

म कहिल्यै पनि पार्टीमा त छँदैछैन, न कांग्रेस, न एमाले, न माओवादीमा । हामी स्वतन्त्र मान्छे हौं । हामी सिंगो मुलुकका मान्छे हौं । न कुनै पार्टीसँग सम्बन्ध छ न कुनै गुटसँग । हाम्रो सिँगो मुलुकप्रति आस्था छ । धन्यवाद दिने हो भने जनतालाई दिन्छु । देशलाई दिन्छु । कुनै पार्टी विशेषलाई किन धन्यवाद दिने ? न्यायाधीश पनि कुनै पार्टीका हुन्छन् र ?म वकालतमा आएको केही समयपछि नै जिल्ला न्यायाधीशमा अफर हुँदै आएको थियो । बारले भन्यो, न्यायाधीश परिषदले भन्यो, म सर्वोच्चको न्यायाधीशमा आएँ । माओवादीले हामीले ल्याएको, छुरा घोपी भन्छ । कांग्रेस पनि हामीले ल्याएको यसो गरी भन्छ । कसको सरकार थियो । तर, मलाई औपचारिक रुपमा न्याय परिषदले खबर गरेको हो ।

कृष्णप्रसाद भट्टराईले भनेका आधारमा मेरा श्रीमानले माओवादीसँग वार्ता गराउन लाग्नुभयो । हामीलाई जनताप्रति आस्था छ । हामीले गरेको योगदानबापत सरकारले केही दिओस् भन्ने सोच त एक रति पनि छैन ।

बारमा मात्र हैन, सबैतिर राजनीतिकरण भयो

पहिला र अहिलेको बार एशोसिएसनमा फरक छ । बारमा लाग्नेहरू कोही काँग्रेस, कोही कम्युनिष्ट त कोही पञ्चायत समर्थक थिए । तर, बारको विषय आउन साथ त्यसमा राजनीति हुँदैनथ्यो । बारले कानून व्यावसायीको मात्रै मुद्दा लिएर हिंँडथ्यौं । नेतृत्व चयन पनि सहमतिमै हुन्थ्यो । तर, अहिले झण्डा मात्रै बोक्दैनन् बाँकी सबै पार्टीकै गर्छन् ।

बहुदल ल्याउने बेलामा सबै मिलेर ल्याए । विभिन्न क्षेत्रमा अनावश्यक राजनीति भयो । हुनुपर्ने ठाउँमा बाहेक राजनीति हुँदा व्यावसायिकतामा असर पर्ने रहेछ । निजामति लगायतका सरकारी सेवामा राजनीति हुनुहुँदैन । सबैले मुलुकलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दछ । राजनीतिमा खिचातानी त हुन्छ । तर, त्यसको असर न्यायपालिका, बार, निजामति क्षेत्रमा पर्नुहुँदैन ।

नेकपा, कांग्रेस जो सत्तामा आए, त्यही पार्टीका मान्छे मात्रै नियुक्त हुने हो भने अरु योग्य र क्षमतावानहरू भेडा चराउन जाने ? जितेको पार्टीमा नलागेका जति योग्य भए पनि जागिरै नपाउने ? भोकै बस्ने ?

जुन दलले जिते पनि पार्टी भेद गर्नुहुँदैन । जुन दलले जिते पनि अल्पमतको सम्मान गर्नुपर्दछ । जितिसकेपछि मेरो मतदाता होइन भनेर पक्षपात-भेदभाव गर्न मिल्दैन । राम्रा राजनीतिज्ञले चुनाव जितेपछि अब सबै मेरा लागि समान हुन पनि भन्छन् । हुँदाहुँदा अहिले त शवमा पनि पार्टीकरण हुनथाल्यो । शव पनि काँग्रेस, कम्युनिष्ट हुन्छ र ? यो दुःखदायी कुरा हो नि ।

नेताहरूले नारा भट्याउनुको साटो काम गरेर देखाउनुपर्छ । राम्रो काम गरे पो जनताले ठीक गर्‍यो तिमीले भन्छ । अर्कोपल्ट चुनाव जित्न सजिलो पनि हुन्छ । यो कुनै एउटा दललाई भनेकोे होइन ।

एकमना सरकार छ । यसलाई काम गर्न दिनुपर्दछ । यदि गरेन भने जनताले भोलि अर्कोलाई रोज्ला । नेताहरू कुर्सीको झगडामा लाग्दा गरिब वर्गको कदर भएन ।

दुई तिहाईको सरकार भएको बेलामा महिलामाथि यत्रो हिंसा भइरहेका छन् । आततायीहरु, अपराधीहरूको मनोबल बढेको देखिन्छ । शान्ति सुरक्षा कायम गर्ने काम भएन ।

हरेक विषयलाई राजनीतिकरण गर्नु भएन । बाढी पहिरो पीडित, दुर्घटनाका घाइते, भूकम्प पीडितलाई यो मेरो पार्टी हो यो होइन भनेर त हेर्नु भएन ।

हामीजस्ता मान्छे राजनीतिमा आएर केही गर्न सकिँदैन

राजनीतिमा त म आउँदैनथे । राजनीतिमा एक दुईजना मात्रै आएर केही नहुँदो रहेछ । इमान्दार मान्छे फालिँदो रहेछ । जनताले पनि इमानदार नेतालाई भोट दिँदैनन् । कृष्णप्रसाद भट्टराई जस्ता नेता हारेका होइनन् र ? उहाँ जस्तो नेता आउँदा मुलुक कायापलट हुन्थ्यो । भट्टराई, मनमोहन अधिकारी, गणेशमान सिंह जस्ता नेताको अभाव भएजस्तो लाग्छ ।

०४७ सालसम्म ममा राजनीतिक फिलिङ्स थियो । पछि राजनीति हाम्रो वशमा छैन जस्तो लाग्यो । न्यायालयमा त्यत्रो सकस परेको बेलामा पनि मैले आफ्नो धर्म छोडिन । आफ्नो सिद्धान्त र मूल्य मान्यतामा अडिग रहेँ । न्यायालयको नेतृत्वमा बसेर निस्कलंकित भएर निस्कने प्रण गरे । चारैतिरबाट त्यसलाई तोड्ने प्रयत्न भयो । मान्छे लगाईयो, प्रहार गरियो । काम गर्न नदिने प्रयास गरेँ । हामीले मुद्दा छिनेर यसलाई किन जस दिने भनेर दुई बजे नै हाजिर गरेर घर जाने न्यायाधीशहरू पनि थिए ।

शुरुमा म त न्यायाधीशमा आउनै चाहेको थिइनँ । काम गर्न कति गाह्रो छ भन्ने मलाई थाहा थियो । यसरी ‘सर्पोट’ नै गर्दैनन् भन्ने पनि मलाई लागेको थियो । र, पनि म आएँ ।

संसदीय सुनुवाईका बेला मैले केबी गुरुङलाई भनेको थिएँ- म जस्तो गएको थिएँ त्यसरी नै हात हल्लाउँदै आउँछु । मैले त्यो वाचा पुरा गरेँ । तर, राजनीतिमा त्यो सम्भव छैन । शैलजा आचार्य रुँदै निस्केको मलाई थाहा छ । जीवनको सारा उर्जा पार्टीलाई दिएकाहरू पछि मागेर हिँड्नुपर्ने अवस्था आयो । त्यही भएर पनि राजनीतितिर रुची जागेन ।

आश गर्न सकिने नेता नै भएनन्, जनता पनि उस्तै

एकातिरबाट हेर्दा नेपालमा सँधै भरी यस्तै भइरहन्छ कि जस्तो पनि देखिन्छ । तर, केही हुँदै नभएको होइन । केही न केही समय सापेक्ष परिवर्तन पनि आएको छ । दुई छिमेकी देशका कारण पनि आएको हो ।

अहिलेको बेला भनेको सबै कुरा सरकारले नै गरिदिन्छ भन्ने पनि होइन । यो आधुनिक युगमा त्यस्तो आशा राख्नु पनि हुँदैन । सरकारले मार्गनिर्देशन गरे पुग्छ ।
भ्रष्टाचार नियन्त्रण, सुरक्षा, भौतिक पूर्वाधार निर्माण, महामारीका बेलामा काम गरे पुग्छ । जनताको चेतनास्थर बढाउने काम गर्नुपर्दछ ।

सरकारलाई मात्रै दोष दिनुभएन । सरकार चुन्ने काम त जनताको हो नि । एक नम्बरको फटाहालाई भोट दिएपछि राम्रो सरकार त बन्दैन नि । भोट बेच्नु त भएन नि । राम्रो मान्छेलाई हराएर नराम्रोलाई जिताउनु भएन । घुस खाएर गर्नेलाई काम गर्‍यो भनिन्छ । फटाइँ गर्नेको पक्षमा लाग्छौं । दबंग, फटाहा प्रवृत्तिलाई प्रोत्साहन गर्नु भएन । यो देश तीनवटै मौसम भएको देश हो । भौगोलिक रुपमा वरदान नै छ ।

नेपालमा सबैभन्दा खराब मान्छे पढेलेखका छन् । सबैलाई भनेको होइन । तर, दश प्रतिशत जति पढेलेखेका मान्छे खराब छन् । बढी भ्रष्ट, टेबलमुनिबाट पैसा लिने वकीलहरू नै न्याय क्षेत्रमा भ्रष्टाचार छ भनीरहेका हुन्छन् । सबैभन्दा बढी उही बोलेर हिंड्छ । वकिलले कर पनि तिर्न नपर्ने । वकील भनेको त जे पनि गर्न पाउने लाइसेन्स जस्तो भयो ।

मलाई महाअभियोग लगाउने मान्छे धनीमानी, अकुत सम्पत्ति कमाएका वकीलहरू थिए । त्यसको यसको प्रत्यक्ष अनुभूति छ मलाई । म उनीहरूमैत्री भइन् । घुस खाने मान्छेलाई घुस्याहा भए पुगिहाल्यो । घुस्याहाले जहिले पनि गतिलो मान्छेको विरोध गर्छ ।

जस्तो भयो परिवेश उस्तै हुन्छ देश । भन्दा राम्रो सुनिँदैन, तर सर्वमान्य नेता नै भएन जस्तो पनि लाग्छ । जुनसुकै विचार वा पार्टीको किन नहोस् । तर, यसले देश हाँक्छ भन्ने विश्वास भएको नेताको पनि अभाव हो कि जस्तो लाग्छ । यसले मुलुकको भलो गर्छ, आमजनताका लागि भगवान नै जन्मियो भन्ने खालको नेता भएन ।

वीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताहरू हुनुहुन्थ्यो । तर अहिलेको पुस्ताले त सम्हाल्नै सकेन । यो देश मेरो हो, मैले गर्नुपर्छ भन्ने आत्मसात गर्नै सक्नु भएन ।

लेखपढ नगर्ने, अन्तराष्ट्रिय परिस्थिति नबुझ्ने भएपछि गर्न सक्ने कुरै भएन । एकपटक सूर्यबहादुर थापाले कांग्रेसका साँसदहरू राति जुन लुगामा सुत्छन्, अर्को दिन त्यही लुगा लगाएर हाउसमा आउँछन् भन्नुभएको थियो । मिहेनत भन्ने कुरा राजनीतिमा पनि चाहिन्छ भन्ने खोजेको हुँ । तर, अब नयाँ पुस्तामा आश गर्ने हो ।

विभिन्न छलफलमा विदेशीले बोलाउँछन् तर स्वदेशीले बोलाउँदैनन् । न्यायाधीशहरू मसँग बोल्न, भेट्न, सम्पर्क पनि डराउँछन् । मेरो घर आउन पनि डराउँछन् । यो कस्तो कल्चर हो ? किन हो ? तपाईहरू नै विश्लेषण गर्नुहोस्

जागिर खुल्यो भने नेताहरू आफ्ना नातागोता, छरछिमेक खोजेर हिंड्ने गर्छन् । कोही जग्गा दलाली गरिरहेका छन् । सबैभन्दा अचम्मको कुरा, खाने र कमाउने कुरामा सबै पार्टीको एकमत छ । सहमति छ । त्यसमा उहाँको साझेदारी हुन्छ । यो त जनतालाई थाहा छ नि ।

म पूरै जीवन कानूनमा बिताएको मान्छे । कानूनको पूर्ण पालना गर । कानूनलाई चुनौति नदेऊ भन्ने मेरो मान्यता हो । कानून सबैले पालना गर्ने हो भने यो देशले पाँच वर्षमै कायापलट हुन्छ ।

म विराटनगरमा हुर्किएकी मान्छे । त्यहाँ मारवाडीहरूको व्यापार गर्ने तरिका देखेकी छु । उनीहरूको आफ्नै कानून हुन्छ । भित्र एकजना मुन्सी बस्छन् । एउटा सेक्युरिटी गार्ड हुन्छ अर्को पसलमा काम गर्ने । जम्मा तीन जनाले पुरै पसल हाँकिरहेका हुन्छन् । सम्झनुस् देश पनि त्यस्तै हो । देशलाई पनि त्यति गरे पुगिहाल्छ । यो देश नै यति राम्रो छ । सबैले कानून पालना गर्ने, आवश्यक ठाउँमा सुरक्षा दिने हो भने दिनानुदिन काम त जनता आफैं गर्छन् । सिस्टम चलिहाल्छ नि ।

रोजगारीको व्यवस्था होस् । ठूलो होटल खोलेर त्यसको करमा रजाई गर्नुको सट्टा दुई तीन सय साना होटल खुलोस् ।

कार्यपालिका, स्थानीय निकाय, प्रशासनको राम्रो हुनुपर्दछ । आम जनताले न्याय पाउनु पर्दछ । त्यसो गर्ने हो भने देश पाँच वर्ष भित्र सुधि्रन्छ । रेल चलाउँछु, हवाई जहाज चलाउँछु भनिरहनुपर्दैन । सानो सानो काम गरेरै जनतालाई खुशी बनाउन सकिन्छ ।

अब म के गर्छु ? त्यो मनभित्रै छ

म के गर्छु, त्यो मनमा छ, तर अहिले भन्न चाहन्न । म राजनीतिमा जाने कुरा भएन । नोकरी पेशामा जाने उमेर पनि होइन । देशको प्रधानन्यायाधीश भएको मान्छेले केही रुपियाँका लागि कसैसँग झुक्न जाने कुरा पनि भएन । मैले गर्ने भनेको लेख्ने, पढ्ने हो ।

विभिन्न लेक्चर छलफलमा मलाई विदेशीले बोलाउँछन् । तर स्वदेशीले बोलाउँदैनन् । न्यायाधीशहरू मसँग बोल्न, भेट्न, सम्पर्क पनि डराउँछन् । मेरो घर आउन पनि डराउँछन् । यो कस्तो कल्चर हो ? किन हो ? तपाईहरू नै विश्लेषण गर्नुहोस् ।

जोशीभन्दा अगाडिका त झनै डराउँथे । म पनि सम्पर्क गर्दिनँ । मैले आफूलाई प्रधानन्यायाधीश थिएँ भन्ने पनि बिर्सन थालेकी छु । कामको खाँचो छैन । वकील थिएँ वकीलको धर्म निभाएँ । न्यायाधीश थिएँ न्यायाधीशको धर्म निभाएँ । म नागरिकको रुपमा छु ।

अहिले जुन किसिमको वातावरण छ, म त्यसको लागि लायक भइनँ । मलाई त्यसको मतलब पनि छैन । म आफ्नो लाइनमा छु ।

यहाँ मान्छेहरूको दोहोरो चरित्र छ । मिहिनेत नगरी महँगो घर गाडी चाहिएको छ । इमान्दार छु भनेर देखाउनु पनि परेको छ । समाजमा धाकधम्की देखाउनु पनि छ । समाजको खराब तत्वसँग संगत पनि छ उनीहरूको । विना परिश्रम कमाउने मानिसहरूको बोलबाल बढी छ । मलाई महाअभियोग लगाउँदा रातभरि पार्टी गर्ने मान्छेहरू पनि छन् ।

राम्रो काम गर्दा आर्शिवाद नदिने रहेछन् । शक्तिको आँखा चिम्लेर भक्तिगान गाउनु र्ने रहेछ । शक्तिले नबोकेको मान्छेसँग कोही पनि नजिक हुन नचाहने रहेछ । शक्तिको नजिक नभएको मान्छेलाई यहाँ पुछिँदैन । अर्को कुरा सबैलाई तत्काल लाभ चाहिने ।

शक्तिको नजिक हुन मान्छेहरू चाकरी गर्न जान्छन् । म चाकरी गर्दिनँ्र । हामी दुबैलाई यसको मतलब छैन । भात खानकै लागि त कसैको चाकरी गर्नुपर्दैन । आफ्नै मिहिनेतले पुग्छ ।

डा. गोविन्द केसीको आन्दोलनका बेला नयाँ बानेश्वरमा भनाई राखेको विषय पुरानो भइसकेको छ । मैले त्यो कुरा प्रधानमन्त्रीलाई भनेको पटक्कै होइन । तर, यो देश चाटुकार र चुक्लीवाजको रहेछ भन्ने लाग्यो । चाटुकारहरूले गलत कुरा पुर्‍याए । मैले भनेको पनि होइन । त्यसमा मैले सुधार्नु पर्ने केही छैन । कस्ता कस्ता उखान टुक्का हालेर भाषण गर्नुहुन्छ । त्यस्तो विद्धान नेताको विषयमा म के भन्न सक्छु र ? शैक्षिक प्रमाणपत्र हेर्दै हिँड्ने कुरा आएन ।

हाम्रो देशमा जो मान्छे निश्कलंकित छ, इमान्दार छ, निष्ठावान छ त्यो मान्छे सधैं कर्नरमै पर्छ । प्ाार्टीको मान्छे भनेपछि गल्ती पनि छोप्नु भन्ने अपेक्षा राख्ने रहेछ । अन्धभक्त होओस् भन्दा रहेछन् । हामीले सुविधा दिएका छौं हाम्रो विरोधमा बोल्ने भन्दा रहेछन् । तर, सुविधा त जनतासँग लिएको हो नि ।

महिलाको पक्षमा किन ?

तपाई मान्नुहोस् यो समाजमा महिला पीडित छन् । न्याय क्षेत्रमा पनि सहानुभूति राख भन्ने गरिन्छ । फैसला गर्दा आफूलाई आरोपीको स्थानमा राहेर हेर्नुस भनिन्छ । यो अन्तरराष्ट्रिय मान्यता पनि हो । हत्या गर्ने व्यक्ति मै हो भनेर सोच्नुस् । भित्रबाट कसरी गरी होली भनेर कल्पना गर्नुस् । उसको पृष्ठभूमि बुझ्नुस् भनिन्छ ।

महिलाको विषय बुझ्नका लागि महिला नै चाहिन्छ । जनजातिको कुरा छ भने जनजाति नै चाहिन्छ । गैरजनजातिले जनजातिको फिलिङ्स बुझ्न सक्दैन । जस्तो, मगरमा महिला पुरुषको सम्बन्ध कस्तो छ भन्ने कुरा त मगरलाई नै थाहा हुन्छ नि । यो कुरा क्यानेडियन जजहरुबाट सुनेको हुँ । त्यस्तै थारुको मुद्दामा थारु नै चाहिन्छ ।

आयकरका मुद्दामा आयकर सम्बन्धी विशेषज्ञ चाहिन्छ भने जस्तै ठाउँमा ठाउँमा जनजाति, दलित, महिला सबै हुनुपर्छ । आआफ्नो प्रतिशत अनुसार । अन्तराष्ट्रिय फोरममा ११ महिला न्यायाधीश छ भन्दा सबै गलल्ल हाँसेका थिए । अफि्रकन र बुर्का लगाउने देशमा पनि ६०-७० जना न्यायाधीश हुन्छन् । बंगालादेशमा ३ सय, ४ सय न्यायाधीश छन् ।

तर, हामी कहाँ छैन । त्यसैले मैले महिला न्यायाधीश चाहिन्छ भनेकी हुँ ।

कल्याण श्रेष्ठले अदालतलाई अन्तराष्ट्रिय स्तरको बनाए । अदालतमा संसारमै प्रतिष्ठा कमाएको न्यायाधीश हुनुपर्दछ । कल्याण श्रेष्ठका फैसला संसारभरि पढिन्छ । महिलासम्बन्धी मुद्दामा उनले राम्रो काम गरे । महिला समानताका सवालमा भारतको भन्दा हाम्रो फैसला राम्रो छ ।

अन्तराष्ट्रियस्तरमा परिचित न्यायाधीश भयो भने अदालतलाई अन्तराष्ट्रिय कुरामा अगाडि बढाउँछ । अन्तराष्ट्रियस्तरको बनाउन सक्ने न्यायाधीश ल्याउन पहल गरेकी हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment