Comments Add Comment

२ अर्ब लागतमा बन्ने राष्ट्र बैंक भवनकाे शिलान्यास

५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालय थापाथलीमा निर्माण हुन लागेको अत्याधुनिक भवनको शिलन्यास गरिएको छ । शुक्रबार आयोजित विशेष समारोहबीच राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उक्त भवनको शिलान्यास गरेका हुन् ।

२०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त राष्ट्र बैंकको उक्त भवन भत्काई नयाँ निर्माण गर्न पुरातत्व विभागले ०७२ वैशाख २९ गते अनुमति दिएको थियो । नयाँ बन्ने भवन पुरातत्व विभागको अनुमति अनुसार पुरानो भवनले चर्चेकै क्षेत्रफलमा पुरानै स्वरुपमा अत्याधुनिक सामाग्रीहरु प्रयोग गरी डिजाइन गरिएको बताइएको छ ।

राष्ट्र बैंकको थापाथलीमा रहेको ४२ रोपनी ३ आना २ पैसा क्षेत्रफल रहेको जग्गामा मुख्य बैंकिङ कार्यालय, क्यान्टिन–हेल्थक्लब र सुरक्षा ब्लक गरी ३ वटा ब्लकको माष्टर प्लान तयार गरिएको छ ।

लागत करिब २ अर्ब

उक्त भवन निर्माणका लागि राष्ट्र बैंकले २ अर्ब ५५ करोड २० लाख ३१ हजार ७ सय रुपैयाँ ७३ पैसा अनुमानित लागत स्वीकृत गरेको थियो । भवन निर्माणका लागि राष्ट्र बैंकले गत वैशाख १४ मा बोलपत्र सूचना आह्वान गरेकोमा १४ वटा प्रस्ताव दर्ता भएका थिए ।

१४ वोलपत्र दाताको प्रस्तावमध्ये प्राविधिक प्रस्तावमा सफल भएका १० वटा बोलपत्रको आर्थिक प्रस्ताव साउन १३ मा खोलिएको थियो । जसमा सबैभन्दा थोरै बीलील–कन्टेक जेभीले १ अर्ब ८७ करोड १० लाख ४० हजार १ सय ५१ रुपैयाँ ४५ पैसा न्यूनतम लागत कबुल गरेको थियो । सबैभन्दा कम कबुल गर्ने उक्त कम्पनीलाई नै राष्ट्र बैंकले भवन निर्माणको जिम्मा दिएको छ ।

३० महिनाभित्र निर्माण सम्पन्न हुने गरी भवन निर्माणको जिम्मा दिइएको राष्ट्र बैंकले जनाएको छ ।

डेढ वर्षमै निर्माण सम्पन्न गर्न गभर्नरको आग्रह

निर्माण सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीसँग ३० महिनाको सम्झौता गरिए पनि गभर्नर नेपालले भने १८ महिनामा नै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् । आफ्नो कार्यकाल सकिन लागेको संकेत गर्दै गभर्नर नेपालले १८ महिनामा नै निर्माण सम्पन्न गर्न आग्रह गरेका हुन् ।

‘३० महिनामा निर्माण सम्पन्न गर्छु भन्नु भएको छ, १८ महिनामा नै सकिदिनोस्’ शिलन्यास समारोहमा बोल्दै गभर्नर नेपालले भने, ‘१८ महिनामा नै निर्माण सम्पन्न भए म पनि यही हुनेछु ।’

भवन निर्माणका लागि भारतीय तथा चिनियाँ पक्षबाट राम्रो प्रस्ताव आए पनि कानुनी झण्झट र समय धेरै लाग्ने भएकाले स्वदेशी कम्पनीलाई नै दिने निर्णय गरिएको बताए । उनले भने, ‘चिनियाँ पक्षले १९ महिनामा नै सक्ने प्रस्ताव ल्याएको थियो तर पनि हामीले स्वदेशी कम्पनलाई नै दियौं ।’

१९ महिनमा चिनियाँ कम्पनीले सक्ने भनेको काम १८ महिनामा नै सकेर रेकर्ड बनाइदिन ठेकेदार समक्ष गभर्नर नेपालले आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment