Comments Add Comment

स्थानीय तहलाई अर्थमन्त्रीको आग्रहः कर बढाउन हतार नगरौं

५ असोज, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे । स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले भने, ‘कर बढाउन हतार नगरौं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं अनिमात्र आगामी वर्षदेखी कर बढाउँला ।’

कर लगाउँदैमा बिरोध नगर्नसमेत आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘सडक बनाउनु पर्‍यो, ढल बनाउनु पर्‍यो, पानी, वत्ति लगायतका सुविधा दिनुपर्‍यो । सुरक्षा दिनुपर्‍यो, यसो गर्दा सम्पत्तिको मूल्य सयौं गुणा बढ्छ, बढेको मूल्यको १ प्रतिशत सरकारले माग्छ भने त्यो जायज नै हो, त्यसको विरोध नगरौं ।’

विकासोन्मुख पालिकाहरुमा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको उनले सुनाए । कर सरलीकरण गर्न, करदातालाई उत्साहित बनाउन चाँडै अभियान थाल्ने उनको भनाइ छ । उनले सरकारले कर लिने ठाउँमा एक रुपैयाँ पनि नछोड्ने र लिन नपर्ने ठाउँमा एक रुपैयाँ पनि नलिने स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले उज्यालोमा कर तिर्न आग्रह गरे । कुलमान घिसिङको नेतृत्वमा नेपालमा उज्यालो आएकाले अब अँध्यारोमा कर तिर्ने बानी सुधार्न आग्रह गरे । उनले भने, ‘उज्यालो भएपछि उज्यालोमै कर तिर्नुपर्‍यो, अँध्यारोमा कारोबार गर्नु भएन । अँध्यारोमा टेबल मुनि छामछाम छुमछुम पार्नु भएन, यसो भयो भनेमात्रै सबैतिर उज्यालो छाउँछ, विकास र समृद्धि आउँछ ।

अर्थमन्त्री डा. खतिवडाले सरकार निजी क्षेत्रको प्रतिष्पर्धी हो भन्ने नठान्न आग्रह गरे । नीजि क्षेत्रलाई सरकारले सहजीकरण गरेर अगाडि बढाउने बताउँदै उनले भने, ‘निजी क्षेत्रले सरकारलाई प्रतिष्पर्धी ठान्नु भएन, निजी क्षेत्र नआउञ्जेल सरकारले लगानी गरेर थालनी गर्ने हो । निजी क्षेत्र आउने वित्तिकै सरकारले हात झिक्छ । सरकारले बाटो देखाइदिने सहजीकरण गरिदिने हो ।’

कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेढिङका समस्या भन्दा पनि विद्युत खपत बढाउने चुनौती मुख्य भएको बताए । विद्युत आपूर्तिमा आएको प्राविधिक समस्याका कारण वत्ति गएपनि लोडसेडिङ नभएको भन्दै उनले यो समस्या पनि केहि समयपछि समाधान हुने बताए । त्यसका लागि फिडर परिवर्तन, सब स्टेसन निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment