Comments Add Comment

संघीय सरकारले असहयोग गर्‍यो : मुख्यमन्त्री राउत

७ असोज, वीरगञ्ज । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले संघीय सरकारको असहयोगका कारण सोचेअनुसार काम गर्न नसकेको बताएका छन् ।

भर्खर जन्मेको बच्चालाई आमाबाबुले बढी स्याहार गर्नुपर्नेमा कसरी असफल बनाउने भन्नेमा लागेको उनको आरोप छ । ‘भर्खर जन्मेको बच्चालाई बढी स्याहार गर्नुपर्ने हो, प्रदेश सरकारलाई संघीय सकारले त नचाहेर जन्मेको बच्चालाई जस्तो व्यवहार गरिरहेको छ’ मुख्यमन्त्री राउतले भनेका छन् ।

संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले संघीय सरकारले कर्मचारी समेत नदिएको गुनासो गरे । ‘आम जनतालाई प्रदेश सरकार सञ्चालन बन्यो, गाडी घोडा अगाडी पछाडि देखिन्छ । तर, आवश्यकता अनुसार कर्मचारी दिएका छैनन्’ मुख्यमन्त्री राउतले भने, ‘दिएका पनि काठमाडौंमा थर्ड क्लास भनिएका कर्मचारी प्रदेशलाई पठाइएको छ । उनीहरुलाई कसरी काम गर्ने भन्ने बारेमा पनि जानकारी छैन ।’

प्रदेश सरकारले २९ अर्ब ७८ करोडको बजेट ल्याएपछि कर्मचारी अभावमा कार्यान्वयन हुन नसकेको उनले बताए ।

‘बजेट कार्यान्वयन गर्ने मेकानिजम चाहिन्छ, कार्यालय र कर्मचारी चाहिन्छ । त्यो दिएका छैनन्् । ५० प्रतिशत भन्दा कम कर्मचारी प्रदेशमा खटिएका छन्’ उनले भने ।

प्रधानमन्त्रीलाई भेटेर जिल्लाको संरचना प्रदेशलाई हस्तान्तरण गरिदिनुस् भन्दा सुनुवाई नभएको उनले बताए । ‘२५ सयदेखि ३ हजार कर्मचारी आवश्यक छ, सिंचाईको डीई, कृषि कार्यालयमा केही अधिकारी आएका छन्, कर्मचारी नआएसम्म कसरी बजेट परिचालन गर्ने त ?’ उनले भने, ‘प्रदेश सरकारको काम तलब भत्ता खाने, गाडीमा घुम्ने मात्रै हो भन्ने जस्तो भान जनमानसमा पार्ने र असफल बढाउने षडयन्त्र त भइरहेको छैन ?’

विभिन्न असहयोगका वावजुद प्रदेश सरकार आफ्नै सपना बोकेर अघि बढिरहेको उनले बताए । ‘प्रदेश सरकारको भिजन, सपना नभएको होइन, सपना लिएरै अगाडि बढेका छौं’ उनले भनेका छन्, ‘सडक, पुल मात्रै बनेर विकास हुँदैन, समाजको रुपान्तरण नभएसम्म पूर्वाधार विकासले अर्थ राख्दैन । समाज रुपान्तरणका लागि शिक्षा आवश्यक पर्छ । प्रदेश सरकार यसमा गम्भीर छ ।’

छोरीहरुको शिक्षामा जोड दिनकै लागि बेटी पढाऊ, बेटी बचाऊ अभियान ल्याएको बताउँदै उनले बालिका विमा कार्यक्रम समेतसँगै अघि बढाउने उदघोष गरे ।

‘हाम्रो समाजमा छोराका लागि घर जग्गा बेचेरै पढाउँछन्, तर छोरीलाई त्यसो गरिँदैन’ उनले भने, ‘सामुदायिक विद्यालयमा पढ्ने ९/१० मा पढ्ने, टाढा टाढाबाट विद्यालय आउने गरिब, दलित समुदायका ४ हजार छात्रालाई साइकल वितरण गर्ने तयारी भइसकेको छ । ५ वर्ष भन्दा कम उमेरका दलित, मुस्लिम, गरिब समुदायका ५ हजार बालिकाको विमा गर्ने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment