Comments Add Comment

मेस्सी र रोनाल्डो दुवैलाई तान्ने बेकह्यामको मास्टरप्लान

१० असोज, काठमाडौं । डेभिड बेकह्यामको योजना सुन्ने हो भने जो कोही फुटबलप्रेमीको मुख रसाउँछ । आफूले हालै स्थापना गरेको क्लब ‘इन्टर मियामी’ मा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई भित्र्याउने ‘मास्टरप्लान’ छ उनको ।

बेकह्यामको टिमले २०२० को नर्थ अमेरिकन लिगबाट डेब्यू गर्दैछ । बेकह्यामले सुरुदेखि नै विश्व फुटबलका ठूला हस्तीहरुलाई आफ्नो टिममा ल्याउन खोजिरहेका छन् । यद्यपि, उनले अहिलेसम्म टिमका लागि घरेलु रंगशाला फेला पार्न सकेका छैनन् ।

‘म अमेरिकाको सबैभन्दा ठूलो र उत्कृष्ट टिम बनाउन चाहन्छु र त्यसका लागि हामीले केही उत्कृष्ट खेलाडीहरुलाई आकषिर्त गर्नैपर्छ,’ बेकह्यामले एक अन्तर्वार्तामा भनेका छन् ।

बेकह्यामको सबैभन्दा ठूलो सपना मेस्सीलाई ल्याउने हो । मेस्सीलाई बार्सिलोनासँग करार अवधि पूरा हुनासाथ आफ्नो क्लबमा तान्ने उनको योजना छ । हाल ३१ वर्षका मेस्सी बार्सिलोनासँग करार अवधि सकिँदा ३३ वर्षका हुनेछन् । त्यसपछि पनि मेस्सीले ३-४ वर्षसम्म राम्रो फुटबल खेल्न सक्ने बेकह्यामको विश्वास छ । ‘उनलाई आकर्षित गर्न हामीसँग दुई वर्षको समय छ,’ बेकह्यामले भने ।

अब कल्पना गर्नुस् लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एउटै फुटबल टिमको हिस्सा भएमा के होला ? दुई वर्षपछि रोनाल्डो ३५ वर्ष पुग्नेछन्, उनीसँग युभेन्टससँगको करार अझै २ वर्ष बाँकी हुनेछ ।

समाचारअनुसार बेकह्याम आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडका थुप्रै खेलाडीहरु (वायन रुन्नी, नानी, एन्टोनियो भालेन्सीया र जाल्टन इब्राहिमोभिकलगायत) लाई कन्भिन्स गर्न प्रयासरत छन् जसमध्ये रोनाल्डो पनि एक हुन् ।

बेकह्यामले आँखा लगाएको अर्को ठूलो नाम हो राडामेल फाल्काओ । उनी अहिले मोनाकोसँग करारमा छन्, जसको अवधि २०२० मा सकिन्छ । उनले यसअघि नै आफ्नो करिअर अमेरिकामा अन्त्य गर्ने घोषणा गरिसकेका छन् ।

चर्चामा रहेका अर्का फुटबलर हुन् एन्टोनी ग्रिजम्यान । उनले खुलेरै बेकह्यामको क्लबमा जाने इच्छा व्यक्त गरेका छन् । ‘यदि बेकह्यामले मलाई उनको टिममा चाहन्छन् भने म पक्कै जानेछु । म आफ्नो करिअर एमएलएसबाट नै अन्त्य गर्न चाहन्छु,’ एन्टोनी ग्रिजम्यानले भने ।

ठूला खेलाडीहरु ताकिरहेका बेकह्यामले प्रशिक्षक चाहिँ कसलाई चयन गर्लान् ? यसमा पनि ठूलै नाम अगाडि आएको छ । रिपोर्टअनुसार फ्रान्सका जिनेदिन जिदानले यो टिम सम्हाल्न सक्नेछन् । अहिले जिदान र बेकह्यामबीच कुराकानी जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment