+
+

आधा सस्तो मूल्यमा पनि किन बिकेन बरामद भएको मरिच ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १४:५८

१० असोज, काठमाडौं । अहिले काठमाडौंको बजारमा मरिच किलोको ११ सय रुपैयाँभन्दा बढीको मूल्यमा बिक्री भइरहेको छ । खुद्रा बजारमा त किलोको १४ सय रुपैयाँसम्म नै बिकीरहेको छ । तर, राजश्व अनुसनधान विभागले विभिन्न समयमा बरामद गरेको मरिच भने ब्यापारीले ६७८ रुपैयाँको मूल्यमा पनि किनेनन् ।

विभागले २० हजार किलो मरिच लिलामीमा बिक्री गर्न राखेको छ । तर, कसैले पनि न्युनतम् बोली लगाएका छैनन् । बजार मूल्यभन्दा आधा सस्तो मूल्यमा पनि लिलामी नहुनुले मरिच तस्करीमाथिको आशंकालाई झन बलियो बनाएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनाली मरिचको लिलामीमा कोही पनि सहभागी नहुनु आश्चर्यको विषय भएको बताउँछन् । उनी विभागले कायम गरेको मूल्यभन्दा निकै बढीको मूल्यमा मरिच बिक्री भइरहे पनि ७ सय रुपैयाँभन्दा कममा कोही पनि किन्न तयार नहुनुले आशंकाहरु भने जन्माएको बताउँछन् ।

यो वर्ष नेपालमा मरिचको आयात गत वर्षको भन्दा झडै ७ गुणाले बढेको छ । खपत नै हुन नसक्ने परिमाणमा आयात हुनुको मुख्य कारण हो, भारततर्फ भइरहेको तस्करी । तेस्रो मुलुकबाट हुने मरिच तस्करीलाई सरकारले नियन्त्रण गर्न नसक्दा आयात उच्चदरमा भइरहेको छ ।

भन्सार अधिकारीहरु नेपाल मरिच तस्करीको ‘ट्रान्जिट’ बनेको बताउँछन् । वैध आयात गरेर अवैध रुपमा भइरहेको निर्यातमा सरकारले आँखा चिम्लँदा नेपालबाट भारततर्फको मरिच तस्करी भयावह अवस्थामा पुगेको दाबी भन्सार अधिकारीहरुको छ ।

राजस्व अनुसन्धान विभागले यसबारे अनुसन्धान गरे पनि यसको जालो कहाँसम्म फैलिएको छ भन्ने अझै पत्ता लगाउन सकेको छैन ।

यसमा ठूला भारतीय ब्यापारीहरुको पनि संलग्नता रहेको अनुमान छ । तर, त्यसको नेक्सस अहिलेसम्म अनुसन्धानले भेटाउन सकेको छैन ।

नेपालमा मरिच सस्तो भएपछि त्यसको सीमापार तस्करी मौलाएको हो । भारतमा सरकारले किसानलाई सहयोग हुने गरी भन्सार दर उच्च गरेर मरिच आयातमा कडाइ गरेको छ ।

मरिच आयात उच्च हुनुमा भारततर्फको तस्करी मुख्य कारण हो भन्नेमा सरकारी अधिकारीलाई कुनै आशंका छैन । मरिचको कालोधन्दामा संलग्न केही व्यवसायी र तस्करहरु पनि समातिएका छन् ।

उनीहरुलाई नै आधार बनाएर सरकारले हाल मरिच तस्करहरुमाथि अनुसन्धान गरिरहेको छ ।

भियतनामबाट कोलकाता बन्दगाह हुँदै आयात हुने मरिच नेपालबाट भारतमा महंगोमा दरमा बिक्री हुने भएकाले भारततर्फ तस्करी हुने गरेको छ । मसलाका रुपमा प्रयोग गरिने मरिच नेपालभन्दा भारतमा झण्डै दोब्बर मूल्यमा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

सीमावर्ती क्षेत्रका व्यापारीहरुले वीरगञ्जबाट खरिद गरेर लगेको मरिच बुडगाई, टिहुकी र जयमंगलापुर नाका हुँदै भारततर्फ सिक्टा, बल्थरको र मैनाटाड बजारमा लगेर बेच्ने गरेका छन् ।
ब्यापारीहरुले यो वर्ष भियतनाममा मरिचको उत्पादन बढेका कारण मूल्य आधा सस्तिएको दावी गर्दै मरिच भित्र्याइरहेका छन् । तर, मरिच नेपालमा भन्दा भारततर्फ नै तस्करी भइहेकाले रोक्नुपर्ने अवस्था देखिएको सरकारी अधिकार स्वीकार्छन् ।

यसअघि सुपारी र सुकमेल तस्करी गर्ने गिरोह नै अहिले मरिचको कालोधन्दामा लागेको छ । मरिच मसलाका रुपमा प्रयोग हुने उपभोग्य वस्तु हो ।

नेपालमा भियतनाम, ब्राजिल, साउदी अरेबिया, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, अमेरिका लगायतका मुलुकबाट मरिच आयात हुन्छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनाली मरिच तस्करीबारे तीव्र रुपमा अनुसन्धान भइरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?