Comments Add Comment

दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्रै

११ असोज, गोरखा । सम्झौता भएको दश महिनामा भूकम्प स्मृति पार्क निर्माणको काम २० प्रतिशत मात्र सम्पन्न भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा बारपाकमा स्मृति पार्क बन्न लागेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन)ले निर्माण गर्न लागेको उक्त पार्कको हालसम्म तारवार लगाउने, सडक बनाउने र रिटनिङ्ग वाल लगाउने काम भएको शहरी आवास तथा भवन डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

साडे दुर्इ वर्षमा सक्ने गरी २०७४ मंसिर १४ गते होम निर्माण स्वच्छन्द जेवी सँग पार्क निर्माणको ठेक्का सम्झौता भएको थियो । तर हाल सम्म पार्कको संरचना निर्माणको काम सुरु हुन सकेको छैन ।

वर्षातका कारण संरचना निर्माणको काम शुरु हुन नसकेको डिभिजन प्रमुख सुनिता श्रेष्ठ बताउछिन् । ‘वर्षाले सामान लान सकेका छैनौ,’ उनले भनिन्, ‘अलिअलि सामान त उतै छ तर पानी परेकाले काम सुरु हुन नसकेको हो ।’

वर्षात रोकिएकाले अव केही दिनमै संरचना निर्माणको काम सुरु हुने उनले बताइन् । पार्क निर्माण अन्तरगत पहिलो प्याकेजका लागी एक करोड ५४ लाख रकम निकासा भएको थियो ।

पहिलो प्याकेज अन्तरगत गेट बनाउने, तारवार लगाउने र रिटनिङ्ग वालसँगै सडक ग्राभेल गर्ने काम रहेको छ । जसमध्य तारवारको काम सम्पन्न भएको र रिटनिङ्ग वालको काम भइरहेको कार्यालयले जनाएको छ ।

यसवर्ष भने उक्त योजनाका लागि कुनै वजेट नआएको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ । ‘यसवर्ष पार्कको कार्यक्रम नै छुटाएर पठाएछन्, हामीले पत्राचार गरेका छौ, संशोधनको लागी पठाएको छ भन्ने सुनेको छु, केही समयमा कार्यक्रम समावेश भएर आउला,’ उनले भनिन् ।

दुइ सय ३२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको पार्कमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ज्यान गुमाएकाहरुको सम्झनामा छुट्टाछुट्टै १४ वटा स्तम्भ निर्माण गरिने छ भने स्तम्भमा जिल्लाहरुको नाम पनि लेखिनेछ ।

हरेक स्तम्भमा ति जिल्लाहरुमा भएको क्षति बारे जानकारी पनि राखिने श्रेष्ठले जानकारी दिइन् । पिलरको माथि ग्लोव बनाएर भूकम्प गएको मिति र समय उल्लेख गरिने उनले बताइन् । सँगै शौचालय, वगैचा र क्यान्टिन पनि निर्माण हुने बताइएको छ ।

स्मृति पार्क निर्माण भएसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment