+
+
Shares

प्रधानमन्त्री बालेनलाई पनि भेट्ने भारतीय विदेश सचिवको तयारी

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते ८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आएर परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट्दै छन्।
  • मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि आजै वा भोलि शिष्टाचार भेट गर्ने तयारी छ।
  • नेपाल र भारतले बालेनको मंसिर दोस्रो साताको भारत भ्रमण तयारी गरिरहेका छन्, र औपचारिक मिति मिश्रीको भ्रमणपछि सार्वजनिक हुने स्रोतले जनाएको छ।

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा आज काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्ने भएका छन् ।

नेपाल र भारत दुवै पक्षबाट उनको भेटघाटको औपचारिक तालिका सार्वजनिक नभए पनि उनले आजैदेखि भेटघाट थाल्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

आज बिहान करिब नौ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनले आज नै परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

उनले सम्भवतः प्रधानमन्त्री बालेन शाहसँग पनि आजै शिष्टाचार भेटघाट गर्नेछन् ।

‘प्रधानमन्त्री ज्यूसँग आज नै भेट्ने भनेर तालिकामा राखिएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो । कार्यव्यस्तता अनुसार आज नभए भोलि हुनसक्छ ।’

भारतीय विदेश सचिव मिश्रीले सरकारको नेतृत्वकर्ता दल रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साललगायतसँग पनि शिष्टाचार भेट गर्ने तयारी गरेको स्रोतले बतायो ।

काठमाडौंमा भेटघाट सकेर भारतीय विदेश सचिव मिश्री भोलि कात्तिक १९ गते अपराह्न स्वदेश फर्किने छन् ।

‘बालेनको भारत भ्रमण छिट्टै’

केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन् ।

यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् ।

छिट्टै भनिएको मिति विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुने स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?