Comments Add Comment

अन्तिम मिनेटको गोलसँगै आर्मी हारबाट जोगियो

काठमाडौं । अन्तिम मिनेटमा सन्तोष तामाङको फ्रि किक गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी हारबाट जोगिएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले २-२ गोलको बराबरी खेलेका हुन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले अन्तिममा धेरै समय बल होल्ड गर्दा आर्मीले डिबक्सभित्रैबाट फ्रि किक पाएको थियो, जसमा सन्तोषले उत्कृष्ट गोल गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले १२ औं मिनेटमा नै अग्रता लिएको थियो । उसका रोजित पुडासैनीले गोल गरेका थिए । ३८ औं मिनेटमा आर्मीका सन्तोषले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।

दोस्रो हाफमा आर्मीको प्रदर्शन केही सुधारियो तर, ६४ औं मिनेटमा राजेश परियारले उत्कृष्ट गोल गरे ।

खेलमा र्फकने आर्मीको एकपछि अर्को प्रयासलाई एनआरटीका गोलरक्षक प्रजापतिले असफल पारेका थिए । तर, इन्जुरी टाइम सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा प्रजापतिले समय भन्दा धेरै बल होल्ड गर्दा रेफ्रीले इन्डाइरेक्ट फ्रिकिक दिए, जुन एनआरटीका लागि निकै घातक बन्न पुग्यो ।

सन्तोषको प्रहार पोष्ट बारमा लागेर गोलमा परिणात भयो र आर्मीका हारबाट जोगियो ।

तस्वीरः चन्द्र आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment