Comments Add Comment

रक्सौललाई लाग्यो दशैं, वीरगञ्ज सुनसान

१४ असोज, वीरगञ्ज । दशैं नजिकिँदै गर्दा नेपालको व्यापारिक केन्द्र भनिने वीरगञ्जलाई सीमापारीको रक्सौल बजारले गिज्याइरहेको भान हुन्छ । वीरगञ्ज बजार ग्राहक नपाएर झोक्राइरहेको बेला रक्सौलमा भने दशैंको किनमेल गर्न नेपालीहरुको भीड लागेको छ ।

स्थानीय व्यापारीहरुका अनुसार रक्सौल बजारमा ८० प्रतिशत ग्राहक नेपाली हुन्छन् । चाडबाडको बेला त झन् त्यहाँ किनमेल गर्न जाने नेपालीहरुको घुइँचो नै लाग्छ । खुल्ला सिमानाले गर्दा रक्सौलमा सामान किनेर फर्किन कुनै रोकटोक छैन ।

रक्सौलको एउटा चर्चित कपडा शोरुम हो, ‘अमरदीप’ । शोरुम सञ्चालक बिमल रुँगटा आफ्नो पसलमा आउने अधिकांश ग्राहक नेपाली नै हुने स्वीकार्छन् । उनले आफ्नो पसलको ब्राण्डिङ पनि वीरगञ्ज, हेटौंडा र नारायणगढलाई केन्दि्रत गरेर गरिरहेका छन् ।

रक्सौलमा नेपाली ओइरिनुको प्रमुख कारण नेपाली बजारभन्दा सस्तो र छानी-छानी सामान किन्न पाउनु नै हो । सामानअनुसार केही समयदेखि हजारसम्मै मूल्य अन्तर हुने नेपाली ग्राहकहरु बताउँछन् ।

साथीहरुसँग नारायणगढबाट दशैंको किनमेल गर्न रक्सौल आएकी निर्मला थापाले दशैंका लागि कपडा र मरमसला किनेर लैजादा फाइदा हुने बताइन् । ‘यता सामान किन्दा बचेको पैसाले दशैंको दक्षिणा खर्च धान्छ’ उनी भन्छिन्, ‘उता त कर बढाएर किनिनसक्नु भइसक्यो ।’

अमलेखगञ्जबाट रक्सौल झरेका राम भोम्जन रक्सौल आफ्नो नियमित बजार भएको बताउँछन् । ‘महिना-दुई महिनामा एकपटक आएर पर्याप्त सामान लैजान्छु,’ उनी भन्छन् ।

भारतको बिहार राज्यको पूर्वी चम्पारणमा पर्ने व्यापारिक शहर नेपालीकै कारण गुलजार बनेको त्यहाँका व्यापारी सहर्ष स्वीकार्छन् । नेपालीहरु खासगरी लत्ताकपडा, भाँडाकुडा, जुत्ता चप्पल, इलेक्ट्रोनिक्स, किरानाका सामग्री खरिद गर्न त्यहाँ पुग्छन् ।

साँघुरा गल्लीहरुमा बसेको रक्सौल बजार जति व्यस्त छ, त्यत्तिकै अस्तव्यस्त पनि । रक्सौलसम्म जान वीरगञ्जबाट रिक्सा, टाँगा, अटो र टेम्पोहरु चल्छन् । सवारी व्यवस्थापन राम्रो छैन । सीमादेखि नै फैलिने जाम र भीडभाडले हिँडडुल गर्न गर्नै गाह्रो हुन्छ । सफाइमा पनि खासै ध्यान दिएको पाइँदैन ।

यो बजारबाट थोरै परिमाणमा घरायसी प्रयोजनका समान लिएर आउँदा भन्सारमा रोकावट गरिँदैन । दशैं, तिहार, छठ लगायत नेपालीका मुख्य चाडवाडमा रक्सौलको व्यापार झनै बढ्ने गरेको छ ।

सिमावर्ती क्षेत्रका मात्रै नभएर जितपुर, सिमरा, पथलैया, कलैया, निजगढ, हेटौंडा, चितवन लगायतका चुरे उत्तरका क्षेत्रबाट समेत नेपालीहरु समान खरिद गर्न रक्सौल पुग्छन् ।

यहाँ अधिकांश व्यापारीहरु नेपाली पनि मज्जाले बोल्छन् । पन्टोका घर भई रक्सौल बजारमा प्लाष्टिक र स्टिलका भाँडावर्तन बिक्री गर्दै आएका अनिलकुमार गुप्ता बजारमा नेपाली ग्राहकको बाक्लो उपस्थितिका कारण ब्यापार गजब चलिरहेको बताउँछन् ।

‘क्वालिटीको समान सस्तोमा पाइन्छ, त्यसैले पनि नेपालीहरुको आकर्षण यता भएको हुन सक्छ’ गुप्ताले भने, ‘वीरगञ्ज-रक्सौल नाकाको जाम घट्ने र भन्सार छलेर समान नेपाल नजाने हो भने अझै धेरै नेपाली आउँथे ।’

रक्सौलका पसलले नेपाली ग्राहकको क्रयशक्ति राम्रोसँग बुझेका छन् । त्यसैअनुसार उनीहरुले हरेक दर र गुणस्तरका सामानहरु राखेका छन् । नेपालीहरुलाई आकर्षण गर्न उनीहरुले पसलको नामसमेत नेपालसँग जोडेर राख्न पछि परेका छैनन् । ‘जय नेपाल साडी शो-रुम’ यसको एउटा उदाहरण हो । यो शो-रुममा कहिल्यै नेपालीको भीड कम हुन्न । यहाँ धेरै पसलले यस्तो अभ्यास गरेका छन् । यतिमात्रै होइन, कतिपय व्यापारीहरुले वीरगञ्जका एफएम रेडियोमार्फत पनि ब्यवसायको प्रचार-प्रसार गर्छन् ।

रक्सौलमा नेपाली रुपैयाँ पनि चलन चल्तीमा छ । कतिपयले ‘बट्टा’ समेत जोडेर पैसा लिन्छन् । बट्टा भनेको नेपाली रुपैयाँलाई भारुसँग साटेबापत लिइने कमिसन हो । कतिपयले बट्टा नलिएर नेपाली पैसा नै स्वीकार्छन् । ‘दशैंको समयमा बढी नेपालीहरु कपडा किन्न आउँछन्, त्यसपछि नियमित ग्राहहरु नै आउँछन्,’ अमरदीप कपडा पसलका सञ्चालक रुंगटा भन्छन् ।

रक्सौलका धेरै पसलमा फिक्स्ड प्राइस छ, जसले गर्दा मूल्यमा बार्गेनिङ गर्नुपर्दैन । तर, फिक्स्ड प्राइसका नाममा नेपालीहरुलाई ठग्ने पसलहरु पनि उत्तिकै छन् ।

भारतीय दैनिक जागरणका रक्सौलस्थित संवाददाता विजय कुमार गिरी (बाबा) सीमावर्ती बजारलाई लिएर नेपाल सरकार उदार हुनुपर्ने बताउँछन् । ‘प्लेनमा नेपाल जानेलाई २५ किलोसम्म समान बोकेर ल्याउन छुट छ । रक्सौल बजारबाट २/५ किलो समान लैजाँदा पनि वीरगञ्जमा भन्सार र प्रहरीले दुःख दिन्छ,’ उनले भने ।

तर, नेपालीहरुकै कारण रक्सौल फस्टाइरहँदा त्यसको प्रत्यक्ष असर वीरगञ्जलाई परेको छ । रक्सौलका व्यापारीहरुलाई हाई गर्ने फुर्सद हुँदैन तर, वीरगञ्जका व्यापार चकमन्न छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment