+
+
Shares

उत्साहमा विषाद पसेको दशैं !

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८२ असोज २१ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन जी आन्दोलनपछि दशैंको रौनक हराएको छ र वर्षा, बाढी, पहिरोले मानवीय क्षति गरी माहोल बिग्रिएको छ।
  • इलाम लगायत देशभर बाढी–पहिरोमा परी ४३ जनाले ज्यान गुमाएको खबर आएको छ र सामाजिक सञ्जालमा भयावह दृश्यहरू फैलिएका छन्।
  • सरकारले प्राकृतिक प्रकोपमा अपनाएको सजगताले जेन–जीको गतिलाई आत्मसाथ गरेको महसुस भएको छ र नागरिकको अपेक्षा सरकारको गतिविधिमा निर्भर छ।

युजी (घरमा पालिएको लेब्रोडग) निराश थियो । दशैंको चहल पहलसँगै घरमा टीका थाप्न आउने आगन्तुक पाहुनासँग रमाउँदै उफ्रने उसको चाहनामा तुषारापात भएको थियो सायद, किनभने प्रतिकूल समय र मौसमका कारण दशैं पाहुना सीमित भएका थिए ।

जेन जी आन्दोलन पछिको पीडादायी संवेदनशील समयका कारण त्यसै पनि दशैंको रौनक हराएको थियो । झन टीका लगतैको वर्षा र बाढी, पहिरोले मानवीय क्षतिसँगै माहोल बिग्रिएपछि दशैंको रौनक हराउने नै भयो ।

टीकाको दिन अपरान्ह्र १२ बजेपछि चहलपहल सुरु हुने चरिकोटको सातदोबाटो चोक यो वर्ष सुनसान जस्तै भएको थियो । बजारका पसलहरू बन्द प्रायः थिए । निधारमा रातो टीका अनि कानमा जमरा सिउरिएर हात गाँस्दै हिड्ने जोडीहरू पनि यो वर्ष देखिएनन् ।

नातावाद, कृपावाद, भ्रष्टाचार अनि अहङ्कारी राजनीतिक प्रवृत्तिले थिलथिलो मनलाई बाल नरसंहार र ऐतिहासिक धरोहरको विनाशकारी वितण्डाले थला पारिदिएपछि हरेक नेपालीको दशैं उत्साह हुस्सुभित्र हराएको बस्ती जस्तै बनेको थियो । चरिकोटको सातदोबाटो चोक पनि त्यसैको मारमा उजाडिएको हो ।

टीका लगतै वर्षाको वितण्डा सुरु भयो । सातदोबाटो चोक सवारी साधन र मानिसले भरिभराउ बने । तर यो भीड दशैं उत्साहको थिएन । बाढी वितण्डाको साइडइफेक्ट थियो । अर्थात दोलखासहित सिन्धुली, रामेछाप तिरबाट काठमाडौँ गन्तव्य पहिल्याउदै आएर चरिकोटमा अलपत्र परेका सवारी साधन र यात्रुहरूको भीड थियो ।

त्यसो त दशैं माहौल बिथोलिएको धेरै वर्ष बितिसकेको छ । कहिले विनाशकारी भूकम्पले बिथोलिदियो, कहिले कोरोना महामारीले बिथोलिदियो, कहिले आर्थिक सङ्कट र कहिले राजनीतिक आपराधिकरणले बिथोलिदियो । अनि यो वर्ष विगतका तिनै पीडादायी विकृत रापले तताएको जेन जी आन्दोलनको बितण्डाले बिथोलिदियो ।

जेन– जी आन्दोलनमा ज्यान गुमाएका युवा तथा बालबालिकाको परिवारले दशैं कसरी आउन सक्थ्यो र ! असल– खराब जेसुकै हुन्, घर हरेकको आश्रयस्थल हो । आश्रयस्थल गुमाएका ती नेता र व्यवसायीहरूको आगनमा दशैं कसरी आउन सक्थ्यो र ! केही नगुमे पनि ऐतिहासिक धरोहर सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत लगायतका भौतिक संरचना नष्ट भएको पीडामा पिल्सिएका आम नेपालीको उत्साहमा दशैं कसरी आउन सक्थ्यो र !

त्यसैले यो पटक धेरै नेपालीको मन, मष्तिस्कमा दशैं आउँदै आएन । आफ्ना अग्रजको हातबाट टीका थापिए होलान्, मठमन्दिर पुगेर पुजाआराधना गरे होलान्, केही थान नयाँ कपडा र केही धार्नी मासुको जोहो भए होलान तर, अहँ यो पटक कसैको घरमा पनि उत्साहको दशैं आएन ।

दशैंकै सेरोफेरोमा इलाम लगायत देशभर आएको बाढी– पहिरोमा परी ४३ जनाले ज्यान गुमाएको अप्रिय खबर र सामाजिक सञ्जालमा छरपष्ट बाढी– पहिरोको भयावह दृश्यले अलिअलि रमाएका मनहरू पनि त्रसित, निराश र थकित बन्न पुग्यो ।

र त, युजी निराश भयो । किनभने ऊ पनि प्राणी नै त हो । खाली बोल्न जान्दैन, भावना त छ नि ऊभित्र पनि ।
…………………….

बाल्यकालको दशैं सम्झिए । नयाँ कपडा र अग्रजको घर-घरमा पुगेर टीका थाप्दा प्राप्त भएको नयाँ नोटले महिनौसम्म उत्साहको पुलिन्दा चुलिएको हुन्थ्यो । पाँच, दश र बीसका धारिला नोट महिनौँ खल्तीमा कटकटाइरहेका हुन्थ्ये । मिठाइ र हलुवा-स्वारी, जेरी, रसबरी किनेर खाइन्थ्यो ।

दशैं उत्साह पनि कतिसम्म भने नयाँ कपडा भनेको दिन तयार हुँदैनथ्यो । टीका थाप्ने बिहान टेलर मास्टर (हामी मामा भन्थ्यौँ) को घरमा धर्ना कसेर लिनुपर्ने । त्यतैबाट नयाँ लुगा लगाई चरिकोट पुरानो बजारको घर-घरमा टीका थाप्न दौडन्थ्यौँ।

दशैं दौडमा हामी धेरै परसम्मको कुरा सोच्न सक्दैन थियौँ । अग्रज अभिभावकको घरमा पुग्दा नयाँ नोटका दक्षिणासँगै, सत्कार र मायाको अनुभूती भने प्रशस्तै हुने गर्थ्यो।

अहिलेका पछिल्ला जेन जी पुस्ताको जस्तै उमेर थियो त्यतिबेला हाम्रो ।

मलाई तुलना गर्न मन लाग्यो आफ्ना उमेर समय र अहिलेका जेन जीको जीवनशैली बीच । आकाश जमिनको फरक थियो । हामी टुकीमा अक्षर पहिल्याउँदै हुर्कियौँ ।मोबाइल, ट्याब, ल्पापटपहरू चलाउँदै, त्यसमा अनेक कुरा सिक्दै हुर्किएको छ अहिलेको पुस्ता । हाम्रो धेय आफ्नो खुशीसँग सरोकार राख्ने मात्र थियो र हाम्रो परिवेश आफ्नो परिवारसम्म मात्र सिमित थियो । अहिले विश्वका हरेक कुराको जानकारी राखेर त्यसमा आफ्नो धारणा बनाउने, तर्क गर्ने क्षमता छ जेन जीमा ।
अनि म झस्किएँ !

अहिलेको राजनीतिक नेतृत्व त टुकीमा अक्षर पहिल्याउँदै हुर्किएको पुस्तासम्म पनि आउन सकेको छैन । दियालो बालेर कालोपाटीमा खरीले कोर्दै अक्षर चिनेकाहरू नै राजनीतिक नेतृत्वमा छन् । यिनले जेन जीको ज्ञानको हेक्का राख्न सकेनन् । मोबाइलको स्क्रिनमा विश्व ज्ञान बोकेर हिँडेका जेन– जी उमेर समूहका अभियन्ताहरूको भावना बुझ्न सकेनन् । त्यसैले उनीहरूलाई अपत्यारिलो विद्रोह तर्फ धकेलिदिए । परिणाम, दशैंको मुखमा सबै नेपालीको उत्साहमा विषाद पसिदियो ।

त्यसो त जेन जी विद्रोहपछि सरकारको नेतृत्वमा पुगेकाहरू जेन जी उमेर समूह वा जेन जी अभियानमा जोडिएकाहरू छैनन् । तर पनि उनीहरूको कार्यशैली जेन जीको गतिसँग अघि बढ्छ भन्ने अपेक्षा गरिएको छ ।

दशैंको माहौलमा प्राकृतिक प्रकोपको बितण्डामा सरकारले अपनाएको सजगताले भने जेन– जीको गतिलाई आत्मसाथ गरेको महसुस भएको छ । यो गति नागरिकको दैनिक जीवनसँग जोडिएको हरेक विषयमा केन्द्रित भएर अघि बढ्न सक्यो भने दशैंको पीडामा मल्हम लाग्न सक्छ ।

जेन– जी विद्रोह पछिको राजनीतिक परिर्वतनको लयमा धिमा गतिमा अघि बढेको दशैं उत्साह वर्षातको भेलले बगाइदिएपछि नागरिकको अपेक्षा पूर्णत सरकारको गतिविधिमा निर्भर रहेको छ । युवाको सर्मपण र इलामको पीडा यो वर्षको दशैंमा सधैंको लागि खड्को बनेको छ । सर्मपण र पीडाको जगमा नयाँ नेपालको उदय हुनुपर्छ । जहाँ अग्रजको अनुभव र जेन– जीको परिकल्पनाबीच फ्युजनको नयाँ मार्गचित्र कोरिएको होस् !

लेखक
चिरञ्जीवी मास्के

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?