Comments Add Comment

कर्णमा निर्भर हिमालयन शेर्पाको ‘टप सिक्स मिसन’

१५ असोज, काठमाडौं । चार वर्षपछि आयोजना भएको ‘शहीद स्मारक ए डिभिजन लिग’ लाई लिएर उत्साहित छ हिमालयन शेर्पा क्लब । घरेलु फुटबलका स्टार कर्ण लिम्बुलाई भित्र्याएसँगै टिमको महत्वाकांक्षा पनि बढेको छ ।

हिमालयन शेर्पा घरेलु लिगमा तहल्का पिट्ने क्लब होइन तर, साह्रै गएगुज्रेको पनि मानिँदैन । समग्रमा यो मध्यम स्तरको क्लब हो ।

१३ वर्षअघि स्थापना भएको क्लबले अहिलेसम्म लिग फुटबलमा ठूलो सफलता हासिल गर्न सकेको छैन ।

ए डिभिजन लिगका लागि क्लबले केही दिनदेखि अभ्यास सुरु गरेको छ । तर, अरु क्लबलाई जस्तै यसलाई पनि मैदानको दुःख छ । हात्तिगौडामा मैदान भाडामा लिए पनि त्यो अभ्यासका लागि उपयुक्त नहुँदा त्यहाँ खेलाडीहरु फिजिकल फिट्नेसका लागि मात्रै गर्न जाने गरेका छन् ।

मैदान अभावमा पर्याप्त अभ्यास गर्न नसकेको प्रशिक्षक सुवास लिम्बु स्वीकार्छन् । ‘मैदान गतिलो खालको छैन । थोरै एरिया मात्रै छ । खेल्न मिल्दैन’ उनले थपे, ‘यसैले अहिले हामी फिटनेसमा केन्द्रित छौं ।’

कर्णमाथि भर

झापा ११ का चर्चित स्ट्राइकर कर्ण लिम्बुलाई लिगका लागि हिमालयन शेर्पाले भित्र्यायो । उनीबाट धेरै आशा राखिएको छ ।

घरेलु नकआउट प्रतियोगिताहरमा झापा ११ लाई थुप्रै उपाधि दिलाएका कर्ण ए डिभिजनमा पनि सफल छन् । २०७० सालको ए डिभिजन लिगमा मछिन्द्रबाट खेल्दै उनी सर्वाधिक गोलकर्ता बनेका थिए ।

लिम्बु भन्छन्, ‘क्लबले ममाथि राखेको विश्वासलाई तोड्नु हुँदैन । क्लबलाई माथि उठाउन र राम्रो नतिजा दिलाउन मेहेनत गरिरहेको छु ।’ यद्यपि मैदानको अभावले अभ्यासमा बाधा पुगेको उनी बताउँछन् ।

औसत टिम

एभरेज टिमका रुपमा लिइने हिमालयन शेर्पा पहिलेको तुलनामा यसपाली केही बलियो बनेको छ ।

गोलकिपरमा किशोर गिरीले सम्हाल्ने छन् । उनी नेपाली घरेलु फुटबलमा निकै अनुभवी खेलाडी हुन् । त्यस्तै डिफेन्स लाइनमा मानबहादुर तामाङ, रवि थापा, लक्ष्मण जिसी जस्ता खेलाडी छन् ।

मिडफिल्डमा निरज बस्नेत, विश्वास श्रेष्ठ, दुई विदेशी खेलाडी ड्याड्डी र प्याट्रिक लगायत रहनेछन् । दुई विदेशी खेलाडीमा क्लबले निकै भर गरेको छ ।

प्लेइङ सेटलाई हेर्ने हो भने सबैभन्दा बलियो पक्ष फरवार्ड लाइनलाई मान्न सकिन्छ । किनभने फरवार्डमा कर्ण लिम्बु, सञ्जय धिमाल, र अमर डंगोल छन् ।

प्रशिक्षक सुबास लिम्बु भन्छन्, ‘अहिले हाम्रो एभरेज टिम छ । ब्यक्तिगत रुपमा हेर्ने सबै राम्रा छन् । हामीले यू-१८ का भाइहरुलाई पनि ल्याएका छौं । सन्तुलित टिम छ ।’

लिगै जित्ने महत्वाकांक्षा नभए पनि टप सिक्समा पुग्ने लक्ष्य राखेको उनले बताए ।

न उकालो, न ओरालो

६० को दशकमा नेपालमा फुटबलको लोकप्रियता चुलिँदो थियो । धेरै फुटबल क्लब पनि जन्मिसकेका थिए । फुटबल क्रेजबाट शेर्पा समुदायका युवाहरू पनि अछुतो रहन सकेनन् । त्यसैले २०६२ सालमा कर्माछिरिङ शेर्पा (हाल एन्फाका अध्यक्ष) को नेतृत्वमा विधिगत रुपमा क्लब दर्ता भयो ।

क्लब आर्थिकरुपमा कंगाल छ । अहिलेसम्म स्थायी सम्पत्ति केही छैन । प्रायोजकहरुको सहयोगबाटै क्लब धानिएको छ ।

यसलेे ए डिभिजन खेल्न लागेको यो चौथो पटक हो । यसअघि ३ पटक शहिद स्मारक ए डिभिजन लिग फुटबल खेले पनि खासै फड्को मार्न सकेको छैन । मोफसलका प्रतियोगिताहरूमा समेत क्लबले कुनै चामत्कारिक प्रदर्शन गर्न सकेको छैन । यद्यपि खस्केको पनि छैन ।

यस्तो छ टिम

गोलकिपर : किशोर गिरी, छिरिङ लामा

डिफेन्डर : मानबहादुर तामाङ, रवि थापा, दिवस उराउ, लक्ष्मण जिसी, रञ्जय चौधरी, आशिक थापामगर, आशिष गुरुङ, पूर्ण गुरुङ

मिड्फिल्डर : सञ्जु श्रेष्ठ, निरज बस्नेत, विबेक पौडेल, क्षितिज खड्का, विश्वास श्रेष्ठ, सरोज थापा, भिशान गुरुङ, ड्याड्डी (क्यामरुन), प्याट्रिक (क्यामरुन), त्रिदेव गुरुङ

फरवार्ड : कर्ण लिम्बु, सञ्जय धिमाल, विजय श्रेष्ठ, राज पौडेल, अमर डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment