+

यु १९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

२०७५ असोज  १५ गते १५:२१ २०७५ असोज १५ गते १५:२१
यु १९ एसिया कप : नेपाल समूह चरणबाटै बाहिरियो

१५ असोज, काठमाडौं । १९ वर्षमुनिको एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा भारतसँग १ सय ७१ रनले हारेको नेपाल सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित भएको हो ।

समूह ए मा रहेको नेपालले अन्तिम खेल युएईसँग खेल्न बाँकी नै रहे पनि भारत र अफगानिस्तानले दुई दुई खेल जितेपछि नेपाल बाहिरिएको हो ।

सिनियर टिममा जस्तै नेपाली युवा टोलीमा पनि ब्याटिङ नै कमजोर देखियो ।

नेपालले दिएको १ सय ३२ रनको सामान्य चुनौती पछ्याउन अफगानिस्तानलाई पनि सहज भने भएन । अफगानिस्तानले ३७ ओभर ३ बलमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

अफगानिस्तानका लागि रहमान उल्लाह गुर्बाजले २६, अजमत उल्लाह ओमर्जाईले २३, आरिफ खानले अविजित २३ रन बनाए । ऐजाज अहमदले १६ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका सुर्य तामाङले ४ विकेट लिए ।

यअसघि बंगलादेशमा टस जितेर ब्याटिङ रोजेको नेपालले ३८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाएको थियो ।
नेपालका लागि रोहितकुमार पौडेल ४६, रसिद खानले २९, कप्तान आसिफ शेखले २० र रित गौतमले १० रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि अज्मतुल्लाह उमरजाइले चार विकेट लिए । ९ ओभर बलिङ गरेका उनले चार मेडन राख्दै मात्र १४ रन खर्चिए ।

राष्ट्रिय टोलीबाट खेलिसकेको सन्दीप लामिछाने जस्ता खेलाडीलाई समावेश नगरी केही नयाँ खेलाडीसहित बंगलादेश गएको टोली ब्याटिङमा निकै निरिह देखियो ।

पहिलो खेलमा भारतसँग ३७ ओभर खेल्दा पनि नेपालले १ सय ३३ रन मात्रै बनाउन सकेको थियो । अफगानिस्तानविरुद्ध पनि ३८ ओभर ४ बल खेल्दा पनि नेपालको रन भने १ सय ३१ मात्रै बन्यो । डट बल खेल्ने र सम्हालिएर जान नसक्ने समस्याले युवा टोलीलाई पनि पछ्यायो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय