Comments Add Comment

धमलाको आक्रोश-‘वितरकले ‘अनुराग’माथि राजनीति गरे’

चलचित्र निर्माणमा होमिएका पत्रकार ऋषि धमलाले आफूहरुलाई वितरकले धोका दिएको बताएका छन् । उनले चलचित्र ‘अनुराग’ चलाउँछु भनेर वितरकले नचलाएको, हल कम दिएको भन्दै आक्रोश पोखेका छन् ।

उनले चलचित्र रिलिज सकिएपछि यो बिषयमा आफूले मुख खोल्ने पनि बताए । धमलाले भने-‘हाम्रो चलचित्रको डिमाण्ड देशभर छ । तर, हल कम भएर दर्शकले हेर्न पाउनु भएको छैन । वितरकले हाम्रो चलचित्र रिलिज हुँदा अरु चलचित्र रिलिज हुँदैन भन्नुभएको थियो । तर, ४-५ वटा चलचित्र रिलिज भए । चलचित्र क्षेत्रमा वितरकको राजनीतिक खुबै रहेछ । अब म यो विरुद्ध लड्छु ।’

धमलाले यसो भनिरहँदा चलचित्रकी नायिका एलिजा गौतमले पनि नयाँ ब्यानर र कलाकार भएकाले वितरकले आफूहरुलाई खराब तरिकाले चलचित्र क्षेत्रमा स्वागत गरेको बताइन् ।

तर, ऋषि र एलिजाको आक्रोश वितरकप्रति भैरहँदा चलचित्रका काठमाण्डौ वितरक गोपाल कायस्थ भने यो कुरा मान्न तयार छैनन् । उनले अनलाइनखबरसँग भने-‘मेरो पुष्पाञ्जली हलमा १० हजार ग्रस नभए चलचित्र हटाउन सकिन्छ । तर, मैले १६०० कारोबार हुँदा पनि चलाइरहेको छु ।’

उनले, वितरकले राजनीति नगरेको बताउँदै चलचित्र चलेको खण्डमा हलले चलचित्र चलाउने बताए । धमलाले भने वितरकले गर्ने राजनीति विरुद्ध आफू लड्ने भन्दै यो क्षेत्रमा आफू आएको चेतावनी दिएका छन् ।

सत्यराज चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment