Comments Add Comment

असफल चलचित्रका सिक्वेलको गफ

चलचित्र ‘फाटेको जुत्ता २’, निर्माता अर्जुन कुमारले प्रेसमिट नै आयोजना गरेर भने अनुसार बनेको भए, गतबर्षको अन्तिम दिनमा नै रिलिज हुने थियो । तर, ‘फाटेको जुत्ता’ले औषत व्यापार गरिरहदा हिट भयो भनेर पत्रकार सम्मेलन आयोजना गरेर यसको सिक्वेल घोषणा गरेका अर्जुन कुमारले यसपछि चलचित्र बनाउने तयारी गरेका नै छैनन् । आखिर, उनको त्यो हतारको घोषणाको अर्थ के थियो होला ?

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ हलमा चलिरहेको समयमा केक काट्ने नाटक पनि चलिरहेको थियो । सोही समयमा निर्देशक विशाल भण्डारीलाई यसका निर्माताले ‘कोहलपुर एक्सप्रेस २’ उपहार दिएको खबर यसको निर्माणपक्षले नै फैलाएको थियो । चलचित्र असफल भैरहेको समयमा यसको सिक्वेल उपहार, कुरा वुझ्न त्यती सोच्न नै पर्दैन ।

नायिका ऋषा शर्माले पनि हरर भनेर प्रचार गरेको तर दर्शक हसाएको चलचित्र ‘सुनकेशरी’को सिक्वेल बनाउने घोषणा गरिन् । यो चलचित्रको सिक्वेलको घोषणा पनि हतारमा नै गरिएको थियो । विना तयारी हतारमा उनले घोषणा गर्नुको अर्थ, वुझ्न गाह्रो छैन ।

सिक्वेल ती चलचित्रको बनाइन्छ, जसले बक्स अफिसमा कमालको व्यापार गरेका हुन् । दर्शकको मनमा बसेका चलचित्रको सिक्वेल बनाउदा तीनले कमाई पनि राम्रो गर्छन् । उदाहरणका लागि ‘छक्का पन्जा, नाई नभन्नु ल’ लगायतका चलचित्रको उदाहरण हेर्न सकिन्छ ।

चलचित्र ‘भैरे’ले नेपालबाट मात्र ५० लाख भन्दा बढी घाटा व्यहोरेको खुलासा त यसका वितरक सुनिल मानन्धरले गरिसकेका छन् । यो चलचित्रले ५० लाख भन्दा बढी घाटा व्यहोर्दा पनि निर्माता र निर्देशकले सक्सेस पार्टीको आयोजना गरेका थिए । सक्सेस पार्टीमा यो चलचित्रको सिक्वेल बनाउने घोषणा पनि गरिएको थियो । आखिर, असफल चलचित्रको सिक्वेलको घोषणा किन गरिएको होला ?

चलचित्र ‘मुखौटा’को कुरा धेरै भैसकेको छ । यो चलचित्र बक्स अफिसमा ध्वस्त भैरहदा यसका निर्माताले प्रेस विज्ञप्ती नै निकालेर ‘मुखौटा २’ सुरु गर्ने बताए । दर्शकको गाली खाएर निर्मातालाई खपिनसक्नु भएको समयमा उनले मिडिया र दर्शकको ध्यान मोड्न यसको सिक्वेलको घोषणा गरेका थिए । यो चलचित्रको सिक्वेल बन्छ भन्ने कुरा कसैले पनि पत्याएनन् ।

यी बाहेक थुप्रै उदाहरण छन्, जहा फ्लप चलचित्रका निर्माताले त्यसको सिक्वेल बनाउने भनेर दर्शक हसाएका छन् । सिक्वेल किन बनाउने, किन बनाइन्छ भन्ने नवुझेरै असफल चलचित्रको ध्यान मोड्न गरिने यस्ता वेतुकका घोषणाको कुनै तुक छ र ? तर पनि यो चलचित्र क्षेत्र हो, कि पर्दामा कि पर्दा बाहिर दर्शक हसाउने काम भइनै रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment