Comments Add Comment

प्रधानमन्त्रीले भने– ५ वर्षसम्म यही सरकार

१९ असोज, काठमाडौं । वर्तमान सरकारले ५ वर्षसम्म निरन्तरता पाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको भनाइलाई आजका सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । नेकपाको विवाद र सरकारको निरन्तरताबारे अनेक प्रश्न उठिरहेका बेला राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा त्यसको एकमुष्ठ जवाफ दिँदै यस्तो बताएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदीय समितिमा गरेको हस्तक्षेपलाई पनि आजका पत्रपत्रिकाहरुले जोडतोडका साथ उठाएका छन् । पत्रपत्रिकाहरुले लेखेका छन्– संसद्को विकास तथा प्रविधि समितिले गर्न लागेको निर्णय रोकेर मन्त्रीले संसदीय समितिमाथि नै हस्तक्षेप गरेका छन् ।

यसका अतिरिक्त डलरको  भाउ थप वृद्धि भएको, र्आइजीपी हटाउने खेल शुरु भएको, रुद्राक्षको दानैपिच्छे मेसिन जडान गरिएको, सरकारले २ महिनामा पौडे ३ करोड बाँडेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

त्रिशूली नदीको बीचबाट मजदुरले बालुवा झिक्दै गरेको तस्वीर छापेको कान्तिपुरले ५ वर्षसम्म यही सरकारले काम गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबीलाई लेखेको छ । समाचार अनुसार ओलीले ५ वर्षपछि हुने चुनावबाट नेकपा झन् बलियो भएर आउने दाबी गरेका छन् ।

सञ्चारमन्त्रीले संसदको विकास समितिमा गरेको हप्कीदप्कीलाई पनि कान्तिपुरले महत्त्वका साथ पहिलो पृष्ठमा लेखेको छ । कान्तिपुर लेख्छ– विकास समिति बैठकमा मन्त्री बास्कोटाले सभापति, सांसद् र सञ्चारकर्मीसमेतलाई हप्काउँदै समितिको निर्णय नै बदल्न लगाएका छन् ।

अन्नपूर्णमा रुद्राक्षको दानैपिच्छे मेसिन जडान गरिएको तस्वीरसहितको रोचक जानकारी छापिएको छ । अन्नपूर्णका अनुसार रुद्राक्षको स्वरुप विगार्न संखुवासभाकाे चैनपुरमा काँचा दानामा क्लिप लगाइएको हो । चिनियाँहरूले गोला, अन्डा र थेप्चो आकारमा फल्ने रुद्राक्षलाई चिचिलामै क्लिप लगाएर अप्राकृतिक स्वरुप लिइरहेका छन् ।

मन्त्रीले संसदीय समितिको निर्णय उल्ट्याएको र प्रधानमन्त्रीले यही सरकारले ५ वर्षसम्म निरन्तरता पाउँछ भनेर व्यक्त गरेको भनाइलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

डलरको भाउ बढेको, नेपाल प्रहरीको आईजीपी हटाउन चलखेल शुरु भएको, मिडियाविरुद्ध सञ्चारमन्त्री खनिएकोलगायत समाचार नागरिकको पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिकामा भने अलि फरक प्रकृतिका समाचार छन् । ‘हिन्दू नारा दोहोर्याउँदै शशांक’ शीर्षक दिएर उसले मुख्य समाचार लेखेको छ ।

‘कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा प्रश्न उठाउने बेला आएको बताएका छन्’, नयाँ पत्रिका लेख्छ, ‘कांग्रेसकै तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला ऐतिहासिक संविधानसभाले जारी गरेको संविधानको प्रस्तावनाले भने नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश मानेको छ ।’

समाचार अनुसार शशांकले विगतमा आफूले समय आएपछि हिन्दूराष्ट्रको प्रश्न उठाउनुपर्छ भनेको स्मरण गर्दै त्यो समय अहिले आएको बताएका छन् ।

सरकारले दुई महिनामा पौने ३ करोड बाँडेकोलाई पनि नयाँ पत्रिकाले आज लेखेको छ । समाचार अनुसार आर्थिक सहायता माग्दै गृहमा थप ५ हजार निवेदन परेका छन् ।

राजधानीले विद्यालय भर्ना भएका बालबालिकाहरुले अभिभावक नेता नै नचिन्ने लेखेको छ भने गोरखापत्रमा नेकपाको तल्ला तहमा पनि एकीकरण प्रक्रिया अघि बढेको समाचार छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment