+
+

घण्टाघरदेखि घडीअर्वासम्मः वीरगञ्जका घुम्न लायक ७ स्थान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते १३:३९

२० असोज, वीरगञ्ज। त्यसो त पर्यटकीय शहर होइन वीरगञ्ज । तर, यसको मतबल यहाँ घुम्न/हेर्नलायक केही छैन भन्ने भन्ने पनि नठान्नुस् । भएका चिजहरुको उचित संरक्षण र प्रचारप्रसार नभएको भने सत्य हो ।

त्यसो भए, वीरगञ्ज पुगेर कहाँ घुम्ने ? के हेर्ने ? यो जानुभन्दा पहिले यसको ऐतिहासिक र सांस्कृतिक पक्ष बुझौं ।

भारतीय सीमासँग जोडिएको यो शहर आफैंमा एक विशिष्ट भूगोलभित्र छ । सन् १९८७ मा तत्कालीन राणा प्रधानमन्त्री वीरशम्शेरले वीरगञ्जलाई बस्तीका रुपमा विकास गरेको मानिन्छ । भोजपूरी संस्कृति यहाँको मुख्य पहिचान हो ।

भोजपुरीसहित यहाँ अवधी, बज्जिका, थारु, सतार लगायत भाषा यहाँ बोलिन्छन् । होली, छठ यहाँ मनाइने मौलिक चाड हुन् । थारु नाच, नेटुवा नाच यहाँ लोकपि्रय छन् । भोजपुरी संस्कृतिका विशेष भोजन, थारु समुदायमा प्रसिद्ध घोँगी, छठमा बनाइने ठेकुवा लगायत वीरगञ्जका बिशिष्ट परिकार हुन् ।

अहिले वीरगञ्जमा शहरी विकासको गति तीव्र छ । कतिपय मौलिक संस्कृति त्यसैको चपेटामा पनि परेका छन् । तर, आर्थिक उन्नतिको दिशामा अघि बढ्दै वीरगञ्जलाई केही पुराना संस्कतिले पनि अल्झाइरहेको  छ ।

अब चर्चा गरौं वीरगञ्जका केही सम्पदाहरुको जसले शहरलाई चिनाउँछ :

घण्टाघर

वीरगञ्ज आउने जोकोहीले घन्टाघरको आडमा उभिएर गजक्क पदै सेल्फी खिच्न छुटाउँदैनन् । छुटाउनु पनि किन ?

वीरगञ्ज शहरको केन्द्र भागमा छ यो घण्टाघर । २०३३ सालमा जापानी विद्यार्थीहरुको सहयोग र स्थानीयवासीको सक्रियतामा यो घण्टाघर बनेको हो । करिब ३ बर्ष लगाएर यसको निर्माण भएको थियो ।

तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताको सक्रियतामा घण्टाघरको निर्माण भएको हो । जापानको युगानो शहरका विद्यार्थीहरुले उठाएको रकम यसको निर्माणमा खर्च गरिएको थियो । जापानको प्रख्यात घडी उत्पादक कम्पनी सिकोले घण्टाघरका लागि घडी उपहार दिएको थियो ।

वीरगञ्जको परिवर्तनको साक्षी बन्दै आएको छ यो घन्टाघरको घडी । घडीमा कहिलेकाहीँ समस्या पनि आउँछ । तर, घण्टाघरले वीरगञ्जलाई चिनाउने धर्म भने निभाउन कहिल्यै चुकेको छैन । यतिबेला यसको व्यवस्थापन र संरक्षणको जिम्मा महानगरपालिकाको काँधमा छ ।

घण्टाघरको जीर्णेद्वारमा निजी क्षेत्रलाई आकर्षित गर्ने योजना रहेको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी बताउँछन् । सकभर दशैंअघि नै यसको मर्मत सुधार गरेर चिरिच्याट्ट पार्ने योजनामा छ, महानगर । बत्ति जोडेर पानीको फोहरासहित घण्टाघरलाई सजाउने योजना बनेको छ ।

घडीअर्वा पोखरी

वीरगञ्जको मुटुमा छ घडिअर्वा पोखरी । यहाँ आउनेहरुका लागि आकर्षणको केन्द्र हो यो । वरीपरि पर्खालले घेरिएको पोखरीको बीच भागमा सूर्यको मन्दिर छ । रथमा सवार सूर्यको प्रतीमा निकै कलात्मक छ ।

पर्यटकहरु बस्नका लागि ठाउँ-ठाउँमा कुर्सीहरु छन् । पोखरीमा बोटिङ गर्न पाइन्छ । केहि वर्ष अघिसम्म कलरफुल म्युजिकल फाउन्टेन सञ्चालनमा थियो । अहिले भने त्यो विग्रिएको छ । त्यसलाई बनाउन महानगरपालिकाले लगानी पनि गर्दैछ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको यो पोखरीलाई छठमा सजाएर झनै आकर्षक बनाउने गरिन्छ ।

घडिअर्वा पोखरीको नामाकरण ‘घडियाल’ अर्थात् गोहीको नामबाट अपभ्रंस भएर बनेको किम्बदन्ती छ । स्थानीय राधाप्रसाद साहका अनुसार यसको पूर्वपट्टकिो भागमा ‘गोह’ (छिपकली जस्तै छेपारो प्रजातिको जीव) थियो । पश्चिममा घडियाल बस्दै आएको थियो । घडियाल भएको ठाउँ विस्तारै घडिअर्वाको नामले परिचित हुन थाल्यो ।

पहिले वीरगञ्ज व्यापारिक क्षेत्र नहुँदा मानिसहरुको आवत-जावत गर्ने मार्गको रुपमा परिचित थियो । यात्राको समयमा यात्रु आएर पोखरी छेउमा आराधना गर्दै भाँडा वर्तन मागेपछि पाउने र प्रयोगपछि सफा गरेर पोखरीमा खसाएर फर्कने चलन थियो ।

केही वर्ष अघि यो एतिहासिक पोखरीलाई ‘ब्युटिफिकेसन’ गरियो । तत्कालीन राजा वीरेन्द्र बीरबिक्रम साहले ०५६ साल पुस १३ गते सौन्दर्यकरण गरिएको घडिअर्वा पोखरीको उद्घाटन गरेका थिए । दुई वर्षअघि महानगरपालिकाले पाँच वर्षका लागि पोखरी व्यवस्थापन ठेक्कामा लगाएको छ । ठेकेदार पप्पुकुमार कलवार पोखरीलाई अझै आकर्षक बनाउने तयारी भइरहेको बताउँछन् ।

‘म्युजिकल फाउन्टेन मर्मत गर्ने खालको मिस्त्री यहाँ रहेनछन्, बल्लबल्ल भारतबाट खोजेर ल्याएका छौं,’ उनले भने, ‘मिस्त्रीले आवश्यक सामान टिपेर लगिसकेका छन्, केहि दिनमै त्यसलाई सञ्चालनमा ल्याउँछौं ।’

२५ रुपैयाँ प्रवेश शुल्क तिरेर दैनिक सयौं मान्छेले घडिअर्वा पोखरीको अवलोकन गर्ने गरेका छन् । बिहान मर्निङ वाकमा निस्कनेलाई प्रवेश शुल्क लिने गरिएको छैन ।


बोटिङ गर्नेले थप १ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । साँझ र दिउँसो प्रेमिल जोडीहरु पोखरीमा वरपर झुम्मिन्छन् ।

महानगरपालिकाले पोखरीमा गंगा आरती चलाउने योजना बनाएको छ । त्यसले सौन्दर्य र आस्था बढ्ने आशा मेयर विजय सरावगीले व्यक्त गरे ।

शंकराचार्य गेट

वीरगञ्ज देशको मुख्य प्रवेशद्वार पनि हो । मितेरी पुल कटेपछि वीरगञ्ज आउनुअघि मुख्य सडकमा शंकराचार्य गेट छ । वीरगञ्जको पहिचान बोकेको स्वागतद्वारको रुपमा यसलाई लिइन्छ ।

वारी गुड्दा उड्ने धुलोले शंकराचार्य गेटको सौन्दर्य बिग्रिएको छ । गेटको संरक्षणसँगै यसलाई आकर्षक बनाउने काम महानगरपालिकाले गरिरहेको छ । मेयर सरावगी गेटमा दशैंअगाडि नै झण्डा राखेर चारैतिर बगैंचा निर्माण गर्ने बताउँछन् ।

सडकवत्तीहरु, डिजिटल सूचना बोर्डहरु राखेर साँच्चै वीरगञ्जको पहिचान दिने गरी विकास गर्ने योजना महानगरको छ । ‘गेटदेखि नै नयाँ शहरमा आए जस्तो अनुभूति होस्,’ मेयर सरावगी भन्छन् ।

महानगरले गेटको पश्चिमतर्फ पहिला फोहर फालेको स्थानमा माटो भरेर वृक्षारोपण गरी पार्क बनाउने योजना पनि अघि सारेको छ । करिव ५ करोडको लगानीमा यसको गुरुयोजना तयार गर्न सहकारी विकास मन्त्रालयमार्फत महानगरले काम गरिरहेको छ । भारतबाट आउने अधिकांश मालकबाहक सवारी सिर्सियास्थित आईसीपीबाट जाने हुँदा यता पहिलाको जस्तो जाम पनि छैन ।

गेटमा आवश्यकताअनुसार रंगरोगन गर्ने, स्वागतका शब्दहरु लेखेर आकर्षक बनाइने महानगरपालिका कार्यालयले जनाएको छ । भारतबाट आउने विदेशी नागरिकलाई नेपालले न्यानो स्वागत गरेको अनुभूति हुने गरी निर्माण गर्ने तयारी महानगरको छ ।

गहवामाई मन्दिर

वीरगञ्जको सबैभन्दा प्रसिद्ध मन्दिरका रुपमा परिचित छ, गहवामाई । यहाँ बर्षेनी हजारौं भक्तजनहरु दर्शनका लागि आउने गर्छन् ।

यो मन्दिरमा पूजा अर्चनाका लागि बारा, पर्सा, रौतहट, मकवानपुर सर्लाही लगायत भारतबाट पनि भक्तजनहरु आउने गर्दछन् । विषेशगरी दशैंको बेलामा दशर्नार्थीहरुको अत्यधीक भिड लाग्ने गर्दछ ।

स्थानीयका अनुसार हाल गहवामाईको मान्दिर रहेको ठाउँमा निकै ठूलो पिपलको रुख थियो । त्यस रुखमुनि एउटा सानो मन्दिर बनाई गहवामीको स्थापना गरियो ।

कालान्तरमा पिपलको रुख काटियो । सानो मन्दिरको ठाउँमा ठूलो मन्दिर बनाइयो । समय-समयमा परिसर मर्मत गर्दै हालको अवस्थामा छ ।

यो मन्दिर करिब ७ हजार वर्गफिटमा फैलिएको छ । मन्दिरमा तीनवटा ढोकाहरू छन् । मूल ढोका पश्चिमतर्फ छ । मन्दिरभित्र अनेकौ देवीदेवताका मूर्तिहरू छन् । तर, दुर्गा भवानी र सूर्यको निमित्त यो मन्दिरको प्रख्यात छ ।

प्रत्येक दशैंको घटस्थापनादेखि पूणिर्माको दिनसम्म यहाँ भक्तजनहरुको घुईंचो लागिरहन्छ । नवरात्री बेलामा बिहानैबाट भिड हुन्छ ।

नगुवा र मुरली पोखरी

वीरगञ्जमा थुप्रै ऐतिहासिक पोखरीहरु छन् । ती मध्येका दुई प्रमुख हुन् नगुवा र मुरली । यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने समभवना छ ।

विगतमा स्थानीय सरकार नहुँदा अतिक्रमणको मारमा परेका थिए यी पोखरी । वीरगञ्जका कतिपय पोखरीहरु पुरिएका छन् । तीनलाई भू-माफियाले आफ्नो नाममा पारिसकेका छन् ।


अहिलेसम्म पोखरीहरु संरक्षणमा कुनै ठोस योजना र नीति छैन । कतिपय स्थानीयले यस्ता पोखरीमा नुहाउने, भैंसी आहाल बसाउने, लुगा धुने लगायतका काम गर्छन् । सफाइमा ध्यान नदिँदा पोखरीको अस्तित्व नै संकटमा पर्ने स्थिति छ ।

महानगरले हालै मात्र यस्ता पोखरी वरपर निर्माण गरिएका संरचनाहरुलाई हटाएको छ । महानगर घुम्न आउने पर्यटकहरुलाई आर्कषित गर्ने गरी निर्माण गर्न गुरुयोजना बनाउने काम भइरहेको छ ।

यी पोखरीलाई लक्ष्यित गरेर प्रदेश नम्वर-२ को सरकारले डीपीआर बनाउने काम गरिरहेको मेयर विजय सरावगीले जानकारी दिए । यही वर्षभित्र नगुवा र मुरली पोखरीहरुलाई आकर्षक देखिने गरी सौन्दर्यकरण गरिने मेयर सरावगीले जानकारी दिए ।

भिष्वा डाँडा

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको वीरगजको अर्को स्थान हो, भिष्वा डाँडा । भिष्वा डाँडा तथा त्यहाँको गुम्बा र चैत्यबारे कमैलाई थाहा छ । तर, त्यसको उचित प्रचारप्रसार नहुँदा गुमनाम जस्तै छ ।

Photo: Birgunj Photo Project

हरियाली र मनमोहक यो डाँडा निकै रमणीय छ । तराईमा डाँडा भेटिनु नै नौलो कुरा हो । त्यसैले तराईका स्थानीयका लागि यो डाँडा विशेष हुन सक्छ ।

समथर फाँटको बीचमा टाकुरा जस्तै बसेको यो डाँडाले धेरैलाई लोभ्याउँछ । डाँडामाथि चारै दिशामा भगवान गौतम बुद्धका ठूला प्रतिमा छन् । सँगै बौद्ध गुम्बा छ, जहाँ वीरगञ्जको कोलाहलबाट निस्किएर त्यहाँ पुग्नेले शान्तिको सास फेर्न सक्छन् ।

यो डाँडामा बिहान बेलुका फ्रेस हुन पुग्नेहरु थुप्रै हुन्छन् । बौद्ध धर्माबलम्बीहरुका लागि यो डाँडा विशेष छ । यहाँ बुद्धको अस्थि धातु रहेको विश्वास गर्छन् उनीहरु । यहाँको चैत्यमा सम्राट अशोक एक दिन बाससमेत बसेको किम्बदन्ती  छ ।

अलौ बजार

वीरगञ्जको अर्को ऐतिहासिक ठाउँ हो, अलौ । यो ठाउँ राणा शासनकालको एक महत्वपूर्ण परिघटनासँग जोडिएको छ । यही ठाउँमा ‘अलौ पर्व’ भएको थियो ।

वि.सं. १९०४ मा राजा राजेन्द्र बनारस जाँदा जंगबहादुरले सत्ता कब्जाको रणनीतिसहित राजेन्द्रका छोरा सुरेन्द्रलाई राजा घोषित गरे । यसबाट क्रुद्ध भएका राजालाई भेट्न केही सैनिक बनारस नै पुगे ।

राजा राजेन्द्र फेरि सत्तामा फर्किन ती फौजसहित नेपालतर्फ आए । यसको सुराकी पाएका जंगबहादुरले युद्धको रणनीति लिए । त्यसअनुसार उनले राजेन्द्रका सैनिकसँग प्रतिवाद गर्न आफ्ना पक्षका सेना नेपालको सीमामै पठाए । वीरगञ्जको अलौमा दुई पक्षको जम्काभेट भयो । यसमा राजेन्द्रको फौज नराम्रोसँग पराजित भयो । राजा राजेन्द्रलाई नै कैदी बनाएर काठमाडौं ल्याइयो ।

यही लडाइँ भएको स्थान भएकाले अलौलाई ऐतिहासिक मानिन्छ । यो ठाउँ नजिकै एकीकृत भन्सार जाँच चौकी आईसीपी र सुख्खा बन्दरगाह स्थापना भएको छ । यहाँसम्म ६ लेनको सडक पनि बनेको छ ।

झण्डै १३ दशकपछि अलौ अब पुरानो साख फिर्ता ल्याउने क्रममा छ । किनभने अब आईसीपी अलौतर्फ बनेको छ  । यहाँ अब ब्यापारिक चलपहल बाक्लिन थालेको छ ।

राणकालसम्म पर्साको मुख्य व्यापारिक हब नै अलौ थियो । जब छपकैयाबाट वीरगञ्ज बजारले आफ्नो विस्तारको गति लियो, अलौ ओझेलमा पर्‍यो । तर, अब यो स्थान पनि वीरगञ्ज पुग्नेहरुले एकपटक हेर्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?