News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको दाबी गरेका छन्।
- प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ गराएकी थिइन्।
- मन्त्रिपरिषद्ले भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्त गरेको छ।
२५ कातिक, जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको दाबी गरेका छन् ।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले आफू वर्तमान संविधानअनुसार मुख्यमन्त्री बनेको जानकारी दिँदै मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको उनको दाबी छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभामा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको बताए ।
उनले मधेशका समस्या समाधान गर्न सबै राजनीतिक दलको सहयोग आवश्यक भएको बताए । मुख्यमन्त्री यादवले विध्वंसात्मक गतिविधि त्याग्न सम्बद्ध पक्षलाई अनुरोध गर्दै वस्तुनिष्ठ समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अनुरोध गरे ।
सोमबार मधेश प्रदेश प्रमुख रहेकी सुमित्रा सुवेदी भण्डारीले संविधान विपरीत महोत्तरीको बर्दिवासमा यादवलाई एकाबिहानै मुख्यमन्त्री नियुक्त गरेर होटलमै शपथ गराएकी थिइन् ।
भण्डारीको कदमको विरोध गर्दै सोमबार दिनभर मधेश प्रदेश मुकाम जनकपुर तनाग्रस्त बनेको थियो । प्रदेशसभाका असन्तुष्ट दलहरूले मुख्यमन्त्रीको कार्यालय समेत तोडफोड गरेका थिए ।
सोमबार नै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर धनुषाका सुरेन्द्र लाभ कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्त गरेको थियो । मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रतिक्रिया 4