Comments Add Comment

सुदूरपश्चिममा दशैं मान्न फर्किनेको लर्को, सीमामा दुःख दिए सिधै प्रहरीलाई फोन

२२ असोज, कैलाली । दशैं आएसँगै भारतमा रोजगारी गरेर फर्कने नेपालीहरुको सीमानाका गौरीफन्टामा लर्को देखिने गरेको छ ।

रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर र्फकने गरेका छन् । हरेक वर्ष घर फर्किँदा सीमानामा भारतीय प्रहरीले दुख दिनु सामान्यजस्तो भइसकेको छ ।

तर यस वर्ष समस्या नभएको फर्किनेहरु बताउँछन् । कैलालीको लम्कीचुहा नगरपालिकाबाट रोजगारीका लागि स-परिवार भारतको सुरत पुगेका कालुराम विक दशैं मनाउन घर फर्केका छन् । प्लाष्टिक कम्पनीमा काम गर्ने उनी त्यहाँ सपरिवार बस्दै आएका थिए । हरेक वर्ष दशैमा घर आउँदा भन्सार नाकामा दुख पाउदै आएका विक यसपटक भने कसैले कुनै दुख नदिएको सुनाउँछन् ।

विक जस्तै अछामका मनोज साउद पनि विगत १२ वर्षदेखि भारतमा नै रोजगारी गरिरहेका छन् । मुम्बईको कुनै सेठ (हार्डवेयर व्यापारी) कहाँ काम गर्ने उनले ४ वर्षअघि घरजम गरेर परिवारसहित उतै बस्दै आएका छन् ।

अघिल्ला वर्षहरुमा नेपाल फर्कदा सीमा नाकामा निकै सास्ती पाएको बताउँने साउद यसपालि भने सहज भएको बताउँछन् । कसैले कुनै किसिमको अनावश्यक दुख नदिएको उनी सुनाउँछन् । तर अटो रिक्सावालाले भने दुख दिएको उनले बताए । बाटो बाटोमा प्रहरीहरुले दुख दिन्छन् हामी सबै व्यवस्था मिलाउछु भन्दै आफूहरुसंग जवरजस्ती रकम माग्ने गरेको साउदले बताए ।

भारतमा रोजगारीका लागि जानेहरुको संख्या बढे पनि केही नेपालीहरुका कारण त्यहाँ राम्रै आम्दानी र काम गरिरहेका नेपालीहरुले भने दुख पाउने गरेको टीकापुरका मनिराम चौधरीले सुनाए । केही हप्ताअघि मात्रै भारतको गुजरात राज्यको भुजबाट पैसा चोरेर भागेका नेपालीहरुका कारण आफूले समेत दुख पाएको उनले बताए ।

त्यहाँको प्रहरीले दिनभरी चौकीमा राखेर सोधपुछ गरेको उनले बताए । दशै मान्न आउँदै गर्दा भने सीमानाकामा कुनै किसिमको समस्या नआएको बताउँदै चौधरीले नेपाल सरकारले नेपालमा नै रोजगारी दिने हो भने यही बसेर देशकै लागि केही काम गर्ने बताए ।

नेपालीहरुको महानपर्व दशैमा भारतबाट रोजगारी गरेर र्फकने कुनै पनि नेपालीले सीमानाका दुख नपाओस भन्नका लागि आफुहरु कटिबद्ध भएर लागि परेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । उनले कैलालीसंग सीमा जोडिएका गौरीफन्टा नाका र टीकापुरको खक्रौला नाकामा विशेष निगरानी बढाएको बताए । कुनै नेपालीले दुख पाएमा सीमानामा रहेको प्रहरी हेल्पडेक्समा सम्पर्क गर्न र आफूलाई समेत सिधा फोन गर्न सक्ने जानकारी दिए ।

दशै‌ंका बेला घर र्फकने नेपालीहरुले सीमानाका दुख नपाओस भन्नका लागि दुबै देशका सुरक्षा निकायहरु बीच छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । उनले भारतीय प्रहरीले कुनै पनि बहानामा नेपालीहरुलाई दुख नदिन आफूहरुले समेत सक्दो सहयोग गर्ने आश्वासन पाएको बताउँदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले कोही नेपालीले दुख पाएमा सीमामा प्रहरी हेल्पडेक्स समेतको व्यवस्था गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशका लगभग नौ वटै जिल्लाबाट कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन त भन्ने यकिन तथ्यांक भने छैन । यद्यपि करिब २५ लाख जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशबाट कामका लागि भारत जानेहरुको संख्या लगभग ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरुले लगाउने गरेका छन् ।

आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नुपर्ने, औषधीमुलो समेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।

प्रदेश सरकारले कामका लागि भारत जानेहरुको संख्यामा कमी ल्याउने प्रतिबद्धता जनाएपनि व्यवहारमा भने लागु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment