Comments Add Comment

ह्युम पाइपले किचेर घाइते ४ मध्ये एक बालकको मृत्यु

२३ असोज, वीरगञ्ज । वीरगञ्ज महानगर ९ स्थित रातो बंगला परिसरमा हृयुम पाइपले किचेर घाइते चार बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ । अन्य दुईजनाको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

वीरगञ्ज–९, रानीघाट बस्ने बाल मुकुन्द राउतका ८ वर्षीय छोरा रोहितको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते अवस्थामा उद्धार गरिएका रोहितलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएको थियो ।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले जानकारी दिए ।

त्यसैगरी, दुर्घटनामा गम्भीर घाइते जिराभवानी गाउँपालिका १ घर भई वीरगञ्जको रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका दुवै छोरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

१० वर्षकी अनुष्काको एउटा खुट्टा भाँच्चिएको छ भने ७ वर्षीया अंकिताको टाउकोमा चोट लागेको छ । दुवै जनालाई वीरगञ्ज हेल्थ केयरमा उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पतालमा पठाइएको छ । बिएण्डबीमा उपचाररत बालबालिकाको अवस्था बुझ्न गएका सांसद् प्रदीप यादवले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

चौधरीद्वयको उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सांसद यादवले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनले वीरगञ्जमा उपचाररत घाईतेको उपचारका लागि २५ हजार र मृतक परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने घोषणा पनि गरेका छन् ।

एक्सरे गराउन समेत पैसा नभएको जानकारी पाएपछि आफूले ५० हजार आर्थिक सहयोग गरेको सांसद यादवले बताए । उनले ठेकेदार पक्षको लापरबाहीले दुर्घटना घटेको बताउँदै आफूले यस विषयमा गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउने जानकारी दिए ।

घाइते मध्ये ९ वर्षीया आयुषा यादवको वीरगञ्ज हेल्थ केयर अस्पतालमै उपचार भइरहेको छ । आयुषाको अनुहार, खुट्टामा चोट लागेको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था पनि गम्भीर नै छ ।

एडिबीको ऋण अनुदानमा वीरगञ्ज महानगरपालिकामा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजनाका लागि हृयुम पाइपहरु रातो बंगला परिसरमा थुपारेर राखिएको छ ।

सोमबार साँझ ह्युमपाईप नजिकै खेलिरहेका बालबालिकालाई अचानक हृयुम पाइप गुडेर किचेको डीएसपी सत्यनारायण थापाले जानकारी दिए । महानगरपालिकाको क्रेन लगेर उनीहरुको उद्दार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment