Comments Add Comment

वामदेवको रहर, नेकपालाई कहर

२३ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको हरेक बैठकमा शीर्षनेताहरु वामदेव गौतमको किचकिचबाट आजित बनेका थिए । उनीहरु पार्टीको बैठक नसकिँदै बाहिर निस्किने बाहना खोज्थे ।

स्रोतका अनुसार पार्टीको हरेक बैठकको अन्त्यतिर ‘एकछिन एकछिन’ भन्दै वामदेवले आफू चुनाव लड्ने प्रसंग निकाल्थे । कहिले डोल्पा, कहिले दैलेख त कहिले बाँकेबाट चुनाव लड्छु भन्दै शीर्षनेताहरुलाई उनले ‘इरिटेड’ बनाइसकेका थिए ।

डोल्पाका धनबहादुर बुढालाई पर्यटन राज्यमन्त्री बनाइनुको मूल कारण वामदेव नै हुन् । केही समय मन्त्री हुन पाए वामदेवका लागि सांसद पद खाली गरिदिने बुढाले वाचा जो गरेका थिए । तर, मन्त्रीको सट्टा राज्यमन्त्री मात्र बनाएको भन्दै बुढाले राजीनामा दिन मानेनन् ।

डोल्पा नपाएपछि वामदेवले दैलेख र बाँके ताके । तर, त्यसमा पार्टीका नेताहरु सकारात्मक भएनन् । आफूनिकट नेताहरुले समेत उनलाई चुनाव नलड्न सल्लाह दिइरहेका थिए । पछिल्लोपटक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंमले पार्टी नेताहरु सामू भने, ‘अब वामदेवको च्याप्टर क्लोज भयो ।’

तर, सोमबार सचिवालय बैठकमा गौतमले पार्टी नेताहरुलाई सरप्राइज दिएका छन् । महासचिव विष्णु पौडेलले ‘काठमाडौं ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरको राजीनामा आएको’ सुनाए । अप्रत्याशित कुरा आएपछि नेताहरु आश्चर्यमा परेका थिए ।

पौडेलले राजीनामा पत्र बढेर सुनाए, जसमा ‘नेता गौतमका लागि आफू पद छाड्न तयार रहेको’ उल्लेख छ ।

‘च्याप्टर क्लोज भयो भनिएको थियो । तर, सचिवालयमा एकाएक रामवीरको राजीनामा पेश भएपछि हामी पनि तीन छक्क पर्‍यौं,’ एक नेताले भने ।

प्रचण्डको भूमिका के ?

नेकपाका अध्यक्ष प्रचण्ड र नेता वामदेव गौतमबीच सुमधुर सम्वन्ध छ । ०६९ मा केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ तोड्दा वामदेव गौतमले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । ओली सरकार ढालेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्दै गर्दा प्रचण्डले संसदमै वामदेवको नाम लिएर उनलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्ने बताएका थिए ।

पछिल्लोपटक एमाले र माओवादीबीच पार्टी एकताका क्रममा भएको ‘आलापालो प्रधानमन्त्री र अध्यक्ष बन्ने’ भद्र सहमतिको पनि वामदेवले बचाउ गर्दै आएका छन् । त्यसैले यो गुन तिर्न पनि वामदेवलाई संसदमा ल्याउने प्रचण्डको आतुरता छिपेको छैन ।

भोलि भद्र सहमति कार्यान्वयन भएन वा ओलीले आफ्नो साटो माधव नेपाल रोजे भने वामदेवलाई अघि सार्न सकिने प्रचण्डको सोच रहेको बुझिन्छ । एक नेता भन्छन्, ‘नेकपाभित्र प्रचण्डले खेलाउन सक्ने एक पात्र वामदेव हुन् ।’

कसरी गले रामवीर ?

रामवीर मानन्धर प्रधानमन्त्री केपी ओली निकट मानिन्थे । उनले ओलीलाई नै गुमराहमा राखेर पदबाट राजीनामा दिए । आखिर उनी कसरी सहमत भए त खाईपाई आएको पद त्याग्न ?

स्रोतका अनुसार प्रचण्ड र वामदेवले रामवीरलाई भविश्यमा पार्टीको केन्द्रीय सदस्य र मन्त्रीसमेत बनाउने लोभ देखाएका छन् । केही समयपछि राष्ट्रिय सभामा ल्याउने र प्रचण्डको कोटाबाट मन्त्री बनाउने आश्वासनपछि उनी गलेको बुझिएको छ ।

प्रचण्ड-वामदेवको यो कदमले प्रधानमन्त्री ओलीलाई भने झस्काएको छ । यो उनका लागि अप्रत्याशित कुरा थियो ।

तर, सहज छैन जित्न

बर्दिया-१ बाट चुनाव हारेका वामदेवले संसदमा आउन मरिहत्ते गरेपछि नेकपाका नेताहरुले राष्ट्रिय सभामा जान सुझाएका थिए ।

‘प्रचण्ड र माधव नेपाल लाइनमा हुँदाहुँदै तपाईं प्रधानमन्त्री हुने सम्भावना छैन, उपप्रधानमन्त्री बन्न राष्ट्रियसभा सदस्य भए पुगिहाल्छ,’ ती नेताहरुले उनलाई भन्ने गरेका थिए । तर, गौतम त्यसमा सहमत भएनन् र प्रत्यक्षमै चुनाव लड्ने हठ गरिरहे ।

अब उनी काठमाडौं-७ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ । तर, जित्न भने सहज नभएको स्वयम् नेकपाका नेताहरु बताउँछन् ।

स्थानीय नेवार समुदायको उम्मेदवार हुनु र कांग्रेसले राप्रपालाई समर्थन गर्नुले काठमाडौं ७ मा रामवीरको सहज जित भएको थियो । तर, अहिले परिस्थिति फेरिएको छ । नेकपा नेतृत्वको सरकारको लोकपि्रयता गिर्दो छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीले काठमाडौंवासी दिक्दार छन् । वामदेवको आफ्नै छवि पनि गतिलो छैन । अर्कोतर्फ उनलाई जिताउन पार्टी एक ढिक्का हुनेमै शंका छ ।

‘पार्टीले निर्णय गर्‍यो भने भोट माग्न खट्छु’ एक नेता भन्छन्, ‘तर, बिच्केको शहरी जनमत रिझाउन गाह्रो छ, वामदेवलाई त्यति सजिलो हुँदैन ।’

यदि यो चुनाव लडेर हारेको खण्डमा वामदेव मात्र नेकपाकै प्रतिष्ठामा धक्का लाग्ने छ । राजधानीवासीमा पार्टी अलोक प्रिय बन्न थालेको सन्देश जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment