Comments Add Comment

वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने स्पष्ट पारे ।

उनले आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि दावी गरे । पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै आफूले २० वर्षदेखि चुनाव जित्नु रहेको भन्दै मानन्धरले उपनिर्वाचनमा निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे । ‘म २०४९ सालमा पार्टीको तर्फबाट वडाध्यक्ष जितेको हुँ । ०७० सालमा सांसद भएको हुँ र अहिले ०७४ सालमा पनि सांसद भएको हुँ ।’

नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताए । प्रचण्ड र वामदेवले भनेपछि राजीनामा दिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘दुबै शीर्ष नेतालाई मैले कन्भिस गरेको हुँ । मेरो पार्टी हो नि !’

पार्टीको निर्णय अनुसार अगाडि बढ्ने भएकाले राजीनामा दिँदा कत्ति पनि दुखित नभएको भन्दै उनले पार्टीले चाहेको खण्डमा आफू मन्त्रीसम्म हुन सक्ने बताए । ‘राष्ट्रिय सभामा हुनु नहुनु पार्टीको निर्णय हो । पार्टीले निर्णय गर्छ भने दुई वर्षका लागि होइन ६ वर्षका लागि पनि हुन सक्छ । मन्त्री पनि हुन सक्छ’, उनले भने, ‘प्रधानमन्त्री त नहोला ।’

‘देश विकास गर्ने टिममा गौतमको आवश्यकता’

राजीनामाले जतासँगको सम्बन्ध नटुट्ने दावी गर्दै सांसद मानन्धरले जनताको अपेक्षाअनुसार विकास गर्नकै लागि नेता गौतमको आवश्यकता पार्टीले महसुस गरेको बताए ।

‘जनताको अपेक्षा भनेको विकास निर्माण हो । शान्ति र अमनचयनको कुरा छ’, उनले अगाडि भने, गत निर्वाचनमा वामदेवजीको सक्रियतामा झण्डै दुई तिहाइ प्राप्त भयो । र अहिले त्यो मान्छेको खोजी भयो ।’

जनताको आकांक्षाअनुसार निर्माण र विकास गर्ने टिममा गौतमको आवश्यकता परेकाले आफ्नो राजीनामा जनताप्रति सम्मान नै हुने उनले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतामा महत्वपूर्ण भूमीका खेलेका नेता गौतमको संसदमा उपस्थिति अनिवार्य भएको उनको भनाई छ । ‘पार्टी एकता गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति कम्तीमा पनि संसदमा भयो भने, सहज हुन्छ र विकास निर्माणका लागि सहजता हुन्छ भन्ने हो ।’

नेता गौतमको योगदान र क्षमताको कदर गर्नुपर्ने भन्दै उनले अनावश्यक नसोच्न र गौतमको योगदान र क्षमताको मुल्याङ्कन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment