Comments Add Comment

दशैंमा किन चङ्गा उडाइन्छ ? यस्ताे छ कारण

वायुमण्डलमा शरद ऋतुको हावा वहन थालेको छ  । वातावरणमा उल्लास छाउँदैछ  । आकाश सफा र निलो छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् ।

दशैं पर्वको धेरै रमाइलो र आकर्षक पक्षहरु छन् । अझै केटाकेटीहरुलाई त झनै दशैंको महत्व धेरै हुन्छ । दशैं आएपछि साना केटाकेटीहरु धेरै खुसी हुन्छन् ।

सामान्यतया दशैं सुरुभएसँगै मानिसहरुले आफ्नो घरआँगन, बाटोघाटो सरसफाइ गरेर चिटिक्क बनाउँछन् । घरघरमा खसीबोका, राँगा, कुखुरा काटिन्छ र सबैको भान्छामा मिठो मसिनो पाक्छ ।

चङ्गा उडाउने चलन

केटाकेटीहरु नयाँ लुगा लगाएर पिङमा झुम्मिन्छन् र विभिन्न आकारका रङ्गीचङ्गी चङ्गा उडाउन व्यस्त हुन्छन् । हुन त काठमाडौं उपत्यका बाहिरका शहर र गाँउहरुमा पनि दशैंमा चङ्गा नउडाइने होइन तर विशेषगरि काठमाडौं उपत्यकामा यो प्रचलन बढि रहेको छ ।

दशैंमा चङ्गा उडाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने एकिन तथ्य नै त छैन तर, बुढापाकाका अनुसार दशैंमा चङ्गा उडाउने प्रचलन धेरे पुरानो हो ।

दशैंमा चङ्गा उडाउने प्रचलनको कारणबारे खोतल्दै जाँदा यो धार्मिक आस्थासँग जोडिएको पाइन्छ । वषर्ा र सहकालका देवता इन्द्रसमक्ष खेतीबालीको लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश पुर्याउन चङ्गा उडाउने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

दशैंमा चङ्गा उडाइनुको अर्को प्रमुख कारण भनेको मौसम पनि हो । शरद ऋतुमा पर्ने दशैं आसपासको समयमा आकाश खुल्ला र सफा हुन्छ ।

चङ्गा उडाउनको लागि मन्द हावाको बहाव उपयुक्त हुन्छ । दशैंताका झरि पर्ने वा हुस्सु लाग्ने गर्दैन त्यसैले चङ्गा उडाउन उपयुक्त हुन्छ । यतिखेर चैतबैशाखमा जस्तो हावाको बहाव पनि धेरै हुँदैन र चङ्गा सन्तुलित हुन्छ ।

त्यस्तै दशैंमा स्कूल कलेजहरु धेरै दिन बिदा हुनाले पनि केटाकेटीहरुलाई पढाईलेखाईको चाप हुँदैन । फुर्सदमा रङ्गीबिरङ्गी चङ्गा उडाउन पाँउदा उनीहरुको खुसीको सीमा नै हुँदैन ।

चङ्गा उडाउने खेलले धेरै कुरा सिकाउँछ

दशैंको समयमा काठमाडौंका प्राय घरहरुका कौसीहरुबाट माथि माथि आकाशसम्म पुग्ने गरि चङ्गाहरु उडाइरहेको देख्न सकिन्छ । दशैंको मनमोहक मौसममा रङ्गी बिरङ्गी चङ्गा उडेको देख्दा कसको मन नरमाउला र ?

दशैं लागेसँगै टोलटोलमा समूहसमूहबीच चङ्गाचेट प्रतियोगिता पनि हुने गरेको पाइन्छ । प्रतियोगीमध्ये जसको चङ्गाले अरुको चङ्गालाई चेट बनाएर अन्तिमसम्म उडिरहन सफल हुन्छ उ नै विजयी हुने गर्छ ।

तर, चङ्गा उडाउनुलाई एक खेलको रुपमा मात्रै लिनुहुन्न । यो त एक जीवन जिउने कला पनि हो । चङ्गा उडाउने खेलले हामीलाई धेरै कुराहरु सिकाउँछ

चङ्गा उडाउने खेलले हामीलाई मानसिक रुपमा बलियो बनाउँछ र हामीमा महत्वाकांक्षा जगाउँछ । मानिसहरुलाई आकाश छुने लक्ष्य लिन सिकाउँछ र चङ्गाजस्तै उड्ने इच्छा जगाउँछ ।

त्यस्तै, चङ्गा उँडाउदा आफ्नो चङ्गालाई बँचाएर अर्काको चङ्गालाई चेट बनाउनको लागि प्रयास गरिरहनुपर्छ । उसले मानिसलाई अन्तिम समयसम्म हार नमानीकन आफ्नो काममा मात्रै आफ्नो ध्यान केन्दि्रत गर्न सिकाउँछ ।

चङ्गा उडाउने खेल हावाको गतिमा भर पर्छ । चङ्गा राम्रोसँग उडाउनको लागि हावाको गतिसँग सन्तुलन मिलाउन धेरै गाह्रो हुन्छ । हावाले अतिकति दिशा बदल्यो वा हावाको बेग बढ्यो भने हाम्रो चङ्गा भुँईमा खस्न सक्छ ।

मसिनो धागोमा बाँधिएको ठूलो चङ्गालाई हावाको गतिसँगै सन्तुलित बनाएर आकाशमा माथि माथि उडाँउन साँच्चै नै कठिन हुन्छ र यसले मानिसलाई जिन्दगीको चुनौतीसँग परिचित गराउँछ ।

चङ्गा उडाउँदा होला है दुर्घटना

चङ्गा उडाउन विशेषगरि बच्चाहरुले धेरै मन पराउँछन् । दशैंमा स्कूल बिदा पनि हुने र साथीभाइसँग बसेर चङ्गा उडाउन रमाइलो पनि हुने भएकाले उनीहरु आफ्ना आमाबुबासँग चङ्गा, धागो, लट्टाई किनिदिन माग गर्छन् । तर, दशैंमा चङ्गा उडाउदा धेरै केटाकेटीहरु दुर्घटनामा पर्ने गरेका छन् त्यसैले चङ्गा उडाउँदा सावधानी अपनाउनु पर्छ ।

चङ्गा उडाँउदा यी कुरामा ध्यान दिनुहोस्

१. चङ्गा उडाउन सोखिनहरुले चङ्गा, लट्टाइ र धागो किन्दा ध्यान दिनुपर्छ । बजारमा पाइने धागोहरुलाई बलियो र नचुँड्ने बनाउन मैदाको पिठो, गुँद, पिसेको सिसा मुछेर प्रयोग गरिएको हुन सक्छ ।

यस्तो धागोले हात वा घाँटीमा चोट लाग्न सक्ने सम्भावना हुन्छ । त्यसैले यस्तो सीसा प्रयोग भएको धागो बच्चालाई नकिनिदिनुहोस् ।

२. चङ्गा उडाउने क्रममा कैयौंपटक हातमा चोट लाग्न सक्छ त्यसैले लट्टाइ समात्ने र चङ्गा उडाउने मानिसको बीचमा सहि तालमेल हुन आवश्यक छ ।

३. कहिल्यै पनि बार वा रेलिङ नभएको खुल्ला छतमा बसेर चङ्गा नउडाउनुहोस् किनभने चङ्गा उडाउँदा ध्यान चङ्गातिरै हुन्छ र उत्साहित भएर माथि आकाशतिर हेरेर अगाडी पछाडी गर्लै चङ्गा उडाउने क्रममा छतबाट खस्ने वा लड्ने सम्भावना धेरै हुन्छ ।

४. त्यस्तै केटाकेटीहरुमा चेट भएर खसेको चङ्गा लुट्नको लागि दौडादौड हुन्छ । यस्तोमा उनीहरु लड्ने वा एकआपसमा झगडा हुन सक्छ । त्यस्तै चङ्गाचेट खेल्दा पनि बच्चाहरुमा झगडा हुन सक्छ । यस्तोमा पनि आमाबुबाले ध्यान दिनुपर्छ ।

५. कैयौ पटक चङ्गा उडाउँदा बिजुलीको तारमा गएर अडि्कन्छ । यसलाई निकाल्न बच्चाहरु खम्बामा चढ्न सक्छन वा धातुका लठ्ठीहरुको मद्धतले चङ्गा निकाल्ने प्रयास गर्न सक्छन् । यस्तोमा उनीहरुलाई करेन्ट लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment