Comments Add Comment

सिक्टामा सरकारको डिजाइन र कालिकाको काम दुबै त्रुटीपूर्ण

२६ असोज, काठमाडौं । प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण नै राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाइँको मूल नहरमा भत्किएको निश्कर्ष निकालिएको छ ।

इन्जिनियरिङ र ठेक्का व्यवस्थापनका दुबै पाटोमा सिक्टा सिचाई आयोजना र ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सन चुकोको निश्कर्ष सरकारद्वारा गठित अध्ययन समितिको निश्कर्ष छ । नहर परीक्षणकै क्रममा भत्किएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अध्ययनका लागि समिति गठन गरेको थियो ।

सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा ५ सदस्यीय समितिले शुक्रबार ऊर्जामन्त्री वर्षमान पुन अनन्तलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

समितिका एक सदस्यका अनुसार माटोको अवस्था अनुसार आधुनिक तवरले परीक्षण गर्न र त्यसैअनुसार नहर निर्माणका लागि योजना बनाउन नसकिँदा नहर भत्किने अवस्था आएको प्रतिवेदनको निश्कर्ष छ ।

ठेकेदार कम्पनीले पनि निर्माण्का क्रममा विभिन्न ठाउँमा त्रुटी गरेकाले नहरमा समस्या आएको प्रतिवेदनको निश्कर्ष छ । ठेकेदारले हेलचक्र्याइँ गर्दा र सरकारी तवरबाट पर्याप्त अध्ययन र तयारी विनै नहर बनाउँदा नै अहिले को अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।

गत साउन ७ गते परीक्षणका गर्ने क्रममा नहरका केही भाग भत्किएका थिए । यसअघि २०७३ असारमा पनि यस्तै घटना भएको थियो ।

सिक्टाको मुख्य नहर ३५ किलोमिटर लामो छ । यो आयोजनाको ठेक्का पूर्वमन्त्री तथा नेता विक्रम पाण्डेको कम्पनी कालिकाले पाएको छ । कालिकाले त्रुटीपूर्ण काम गरेकाले पनि नहर भत्किएको समितिले प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदन बुझ्दै उर्जामन्त्री

नहर निर्माणको काम आधाभन्दा बढी सकिएको छ । मूल नहर बनिसकेको छ भने सहायक नहरहरु बनाउन बाँकी नै छ ।

अध्ययन समितिले यो क्षेत्रको माटो घुलनशील रहेको र त्यसअनुसार नै नहरको प्राविधिक डिजाइन र निर्माण हुनुपर्नेमा त्यसो नभएको निश्कर्ष निकालेको छ ।

अन्य सिँचाई आयोजनामा जस्तै सामान्य तवरको अध्ययन र डिजाइन गरिँदा बिशिष्टिकृत माटोमा हेलचक्र्याइँपूर्ण निर्माणको कामले समस्या निम्तिएको समितिको निचोड छ ।

महालेखा नियन्त्रकको प्रतिवेदनले पनि पूर्वा तयारी नपुगेका लगायतका यस्तै विषयहरु औंल्याएको थियो ।

आयोजनाको मुख्य नहरमा ठाउँठाउँमा बेड फुटेको छ । सर्भिस रोड भत्किएको छ । नहरको स्लोप फुटेको छ । महालेखाले पनि आयोजनाले निर्माण कार्यको गुणस्तरमा पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको थियो ।

अध्ययन समितिको प्रतिवेदनमा पनि हालसम्म भएका कजमेरी र त्यसलाई सच्याउन गर्नुपर्ने कामबारे सुझावहरु समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment