Comments Add Comment

दशैं कथा : हिन्दूस्तानी केटोले सिकाएको चंगा मन्त्र

काठमाडौंको एक बस्तीमा एउटा मरन्च्याँसे फुच्चे बस्छ । दशैँ लाग्नुभन्दा केही दिन अगाडिदेखि नै निलो आकाशमा एकनास उडिराखेको आफ्नो रातो चङ्गामा उसका आँखा गढेका छन् ।

चर्को घामको उसलाई कुनै परवाह छैन । अनुहार पसिनाले निथ्रुक्क भइसक्यो, तर उसलाई कुनै फरक परेको छैन । घण्टौँदेखि लट्टाई घुमाइरहेका उसका हात अनवरत गतिमान छन् ।

त्यति नै बेला आकाशमा एउटा ‘बापाचे’ (दुई रङ्गको चङ्गा) देखिन्छ । हेर्दै थाहा हुन्छ यो बापाचे ‘फाइट’ खेल्न तम्सिएको छ । केटो बापाचेलाई घुरेर हेर्छ, अनि फेरि आफ्नै हातमा ध्यान दिन्छ । नयाँ प्रतिस्पर्धीको आगमनले उसमा पनि उत्साह जागेको स्पष्ट देखिन्छ ।

पहेँलो र कालो बापाचे अनि केटोको रातो चङ्गा आकाशमा लड्न सुरु गर्छन् । युद्धका सिपाहीभन्दा कम देखिदैनन् उनीहरू । दुबै तयार छन्, कि मार्न, कि मर्न । केही मिनेटपछि, बापाचे कमजोर हुन जान्छ । विस्तारै भुईँमा पछारिन्छ । अनि रातो चङ्गावाला जोडले कराउँछ, ‘चेट !

प्रायः हरेक वर्षका दशैँमा मैले यो क्षण सम्झिएको हुन्छु, किनकी त्यो रातो चङ्गावाला म आफैँ थिएँ ।

केही वर्ष अगाडिसम्म पनि दशैँ आउन नपाउँदै काठमाडौँको आकाश बिछट्टसँग रङ्गीन हुन्थ्यो । राता, निला, पहेँला, हरिया, सेता, काला चङ्गाका अतिरिक्त बापाचेहरूका फाइटले ढाक्थ्यो काठमाडौंको आकाशलाई ।

आज म हाम्रा पालाको दशैँ सम्झिरहेको छु । करिब ६ दशक अगाडिको दशैँ । त्यतिबेला नेपालमा टेलिभिजन भित्रिसकेको थिएन ।

काठमाडौँमा औँलामा गन्न सकिने सिनेमा हलहरू त थिए, तर तिनमा सबैको पहुँच थिएन । दशैँका बेला हुने छुट्टीमा समय कटाउने एक मात्र मनोरञ्जनको सामग्री भनेको चङ्गा मात्रै थियो । चङ्गा उडाउने कुरा मात्र थिएन, हामी चङ्गा दौडाउथ्यौँ, चङ्गा लडाउँथ्यौँ ।

व्यक्तिगत कुरा गर्ने हो भने म त चङ्गाको प्रेममा पागलजस्तै भएको थिएँ । आफ्नो चङ्गाले अरूलाई चेट गराउँदा घरै थर्कने गरी हाँस्ने र आफ्नो चेट हुँदा भित्रैदेखि रुने गर्थेँ । चङ्गै उडाउनका लागि आमाको पिटाइ कति खाइयो, त्यसको त हिसाबै राखिएन ।

दशैँको रौनक सकिएपछि पनि वर्षभरि नै हामी चङ्गा चेटका क्षणहरू सम्झिरहन्थ्यौं । अर्को दशैं कहिले आउलाजस्तो हुन्थ्यो ।

हाम्रो चङ्गा उत्साहको केन्द्रमा असन बजार हुन्थ्यो, किनकी त्यहाँ चङ्गा पसलहरू प्रशस्त थिए । पसलभरी झुन्ड्याइएका लट्टाई र रङ्िगचङ्गी चङ्गाहरूले सिङ्गो असन झलझली बलेको हुन्थ्यो । प्रायः चङ्गाहरू कलकत्ता र पटनाबाट आउथेँ भने धागो बरेली -भारत) बाट । स्थानीय डकर्मीले लट्टाई बनाउथेँ ।

त्यस बेला पाइने धागाहरू अचेलका जस्ता सीसाको धार लगाइएका हुँदैनथे । तर तिनमा मैन लगाइएका हुन्थे ताकि पछि ‘माजा’ लगाउन सकियोस् । चङ्गा उडाउन सुरु गर्नु अगाडि माजा लगाउनु अनिवार्य नै हुन्थ्यो । घिउकुमारीमा हुने च्यापच्यापिलो पदार्थ, आलस, एरोरुट पाउडर अनि सिसाको धुलो उमालेर माजा बनाइन्थ्यो । सीसाको धुलोका लागि बिजुलीको चिम फुटाइन्थ्यो । माजा लगाएपछि धागो धारिलो हुन्थ्यो ।

मान्छेअनुसार माजाको ‘रेसिपी’ फरकफरक हुन्थ्यो । त्यसैले धेरै चङ्गा चेट गराउने केटाहरू आफ्नो रेसिपीलाई रहस्यमै राख्थे ।

करिब १३ वर्षको हुँदा म पनि आफ्नो टोलका केटाहरूका अगाडि धाक दिन सक्नै हैसियतको चङ्गा फाइटर भइसकेको थिएँ । दिनमा एक-दुईटा चङ्गाको क्षतिमा सातआठ ओटा चङ्गालाई चेट गराउन सक्थेँ । साथीभाइ मलाई साँच्चै नै बहादुर सम्झन्थे । हुन त कहिलेकाहीँ नतिजा निराशाजनक पनि हुन्थ्यो ।

म किशोरवयमै हुँदाको कुरा हो । हाम्रो टोललाई नै छक्क पार्ने गरी एउटा नयाँ चङ्गावाला आयो । हरेक दिन उसले दर्जनभन्दा बढी चङ्गा चेट गराउन थाल्यो । हाम्रो आकाशमा पराईको आतङ्क सुरु भो । उसले हामी कसैलाई पनि छाडेन ।

उसले जुन शैलीबाट आक्रमण गर्थ्यो, त्यो देख्दा म र मेरा साथीहरू अचम्ममा पर्थ्यो । हामीले जानेको कुरा के थियो भने अर्को चङ्गा चेट गराउनु छ भने आफ्नो चङ्गा त्योभन्दा माथि पुर्‍याउनुपर्छ । अनि विस्तारै अर्को चङ्गालाई हान्न थाल्नुपर्छ । तर नयाँ केटाको तरिका ठ्याक्कै उल्टो थियो । उसले तलबाट आक्रमण गर्थ्यो । अनि कतिबेला आफ्नो चङ्गा एक्कैचोटि माथि पुर्‍याउँथ्यो । हामी उसका विरुद्ध लड्न तयार भएकै हुँदैनथ्यौँ । हाम्रा चङ्गा उसका लागि सहज शिकार हुन्थे ।

दुई दिनसम्म हामीले उसको सामना गर्ने नयाँ रणनीति बनाउन खोज्यौं । तर हाम्रो केही सीप चलेन । आखिर पराई केटो हिरो भएर निस्कियो । सबैले उसकै कुरा गर्न थाले ।

केही दिनपछि गाइँगुइँ सुनियो कि केटो भारतको रहेछ । यहाँ उसका आफन्तलाई भेट्न आएको रहेछ ।

भारतीय केटोसँग शत्रुताको भाव यथावत् थियो । आफ्नो क्षमताप्रति म निराश थिएँ । त्यति हुँदाहुँदै पनि मलाई एकपटक त्यस केटालाई भेट्न मन लाग्यो । उसको आफन्तको घर हाम्रो घरबाट एकदुई मिनेटको दूरीमा थियो ।

गएँ । केटो मेरै उमेरको रहेछ । हेर्दा हामीजस्तै । तर मैले हामीबीचको फरक जब पत्ता लगाएँ, मलाई एकदम अचम्म लाग्यो । केटो त खाली हातले, बिनालट्टाई चङ्गा उडाउने पो रहेछ ।

काठमाडौँमा कसैले पनि खालि हात चङ्गा उडाएको मलाई थाहा थिएन । उसले चङ्गा उडाउँदा आफ्ना पछाडि अर्को एक जना साथीले लट्टाईमा धागो राख्ने रहेछ भने उसले आफ्ना दुबै हातले चङ्गालाई नियन्त्रणमा राख्ने रहेछ । मैले हेर्दाहेर्दै केटोले दुईटा चङ्गा चेट गरायो ।

ऊसँग कुरा गरुन्जेल म सचेत थिएँ । मलाई उसको अगाडि तल परेर कुरा गर्नु थिएन । तैपनि मेरो मुखबाट फुस्कियो, ‘ओहो, कस्तो गज्जब है Û दस मिनेटमै दुईटा चङ्गा चेट । यस्तो स्टाइलमा यहाँ चङ्गा चेट गराउने त तिमी मात्र हौ ।’

मेरो कुरा सुनेपछि केटो फिस्स हाँस्यो । त्यसपछि ऊ बोल्यो, ‘हो र ? तर यो त केही होइन । हामी त उता यसै गरी उडाउँछौँ ।’

खासमा त मलाई उसको ट्रिक जान्नु थियो । त्यसैले मैले भनेँ, ‘तिमीले उडाएको त मलाई साँच्चै अचम्म लाग्यो ।’

‘होइन, खासै केही होइन’ भन्दै उसले कुरा खोल्न थाल्यो । तलबाट आक्रमण गर्दाको फाइदा, अनि त्यस क्रममा अपनाउनुपर्ने सावधानीबारे उसले मलाई पढायो ।

‘त्यसो भए, अर्को चङ्गावालाले चाहिँ के गर्दा यस्तो चङ्गा चेट गराउन सक्छ त ?’ मैले फेरि सोधेँ ।

उसले फेरि भन्यो, ‘खासै ठुलो कुरा होइन । उसले चङ्गालाई छिटछिटो माथिबाट तलतिर झार्नुपर्छ । दुइटै चङ्गा एउटै उचाइमा नपुगेसम्म त्यसो गर्नुपर्छ ।’

मलाई उसको कुरा सही लाग्यो, ठुलै कुरा थाहा पाएको ठानेर गजक्क परेँ ।

भोलिपल्ट म ऊसँग भिड्नेवाला थिएँ । उसैले सिकाएको पाठ प्रयोग गरेर उसकै चङ्गालाई चेट गर्न चाहन्थेँ ।

……

भोलिको विहान । म लट्टाई लिएर निस्किएँ । आकाशमा उसको चङ्गा देखिहालेँ । मैले उसले सिकाएका हरेक बुँदालाई ध्यान दिएँ । वाह, साँच्चै नै यसले काम गर्‍यो । उसको चङ्गा भुइँमा झर्न केही मिनेट पनि लागेन । सुरुमा त म आफैंलाई विश्वास लागेन । त्यस दिन मैले थप तीन ओटा चङ्गा चेट गराएँ । आफ्नो एउटा चेट भयो ।

आखिर जे भए पनि अब त्यो नयाँ केटो हामीले सोचेजस्तो हराउनै नसकिने रहेन ।

त्यसपछि त टोलका केटाहरूका अगाडि मेरो पनि शान बढ्यो । म छाती फुलाएर हिँड्ने भएँ । इष्र्याले जलेका अरू मलाई आँखा तर्न थाले ।

त्यसपछिको दुई दिन हाम्रो टोली त्यो केटासँग भिड्यो । त्यतिन्जेल हामीलाई अरू कुरा मतलब भएन । उसको बाहेक अरू चङ्गाको पनि वास्ता भएन । ऊ र हामीबीच एक किसिमको अघोषित सम्झौता भयो, आफ्ना चङ्गाहरूलाई आकाशमा जुधाउनका लागि हामी साथी बन्यौं ।

युद्धको पाँचौ दिन पनि म भिड्नका लागि तयार थिएँ । लट्टाई लिएर निस्कँदा आकाशमा उसको चङ्गा देखिएन । लाग्यो कुनै षड्यन्त्र भएछ । म दिनभर उसलाई कुरेर बसेँ । तर ऊ आएन ।

भोलिपल्ट थाहा भो कि ऊ त घर फर्किसकेछ । त्यसपछिका मेरो किशोर उमेरका हरेक दशैँमा उसलाई सम्झिन थालेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment