Comments Add Comment

दशैंका यात्रु बिचौलियाबाट लुटिँदै, प्रहरी भन्छ- समस्या छैन !

४ कात्तिक, काठमाडौं । दशैंको टीका सकिएको भोलिपल्ट शनिबार बिहानै हातमा दुईवटा झोला बोकेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर बजारमा उभिएका एक युवा भेटिए । ती युवा काठमाडौको गाडी कुरिरहेका रहेछन् ।

‘मिनी बसको टिकट काटेको छु, खै ५ बजे नै आउँछ भनेको थियो, अहिलेसम्म आएको छैन’- उनले सुनाए । बिहान पाँच बजे नै गाडी आउँछ भनेपछि ४ बजेर ३० मिनेट जाँदा बसपार्कमा पुगेका ती युवाले गाडीको पर्खाइमा डेढ घण्टा बिताए ।

भनेको समयमा गाडी त आएन । तर, टिकट काउण्टरमा अर्का एक युवा आए । उनी सोही काउण्टरको टिकट काट्ने मान्छे रहेछन् । ‘तपाईहरुको टिकट भयो ?’ छेउमा उभिएका सबैलाई हेर्दै उनले सोधे ।

काउण्टरवालातिर हेर्दै अघिका युवाले टिकट दिँदै भने- ‘हजुर दाइ, अस्ति ३ दिन अगाडि नै टिकट काटेको, गाडीचाहिँ कतिबेला आइपुग्छ ?’

उनको प्रश्नको उत्तर दिन भन्दा पहिले काउण्टरवालाले टिकट हेरे र भने- ‘१२ सय तिर्नु भएको रहेछ, यसले पुग्दैन, १ सय थप्नुपर्‍यो ।’

काउण्टरवालाको जवाफपछि ती यात्रु झोक्किए । ‘मैले अस्ति पैसा तिरिसकेको हुँ । फेरि किन थप्ने ?’

‘अस्ति टिकट काटेको पनि फेरि पैसा थप्नुपर्छ !’ काउण्टरवालाले अस्ति मिनिबसका लागि १ हजार २ सयमा टिकट काटेको तर आज मिनिबसको सट्टा ठूलो माइक्रो (जम्बो हायस) जाने भएकाले थप १ सय दिनु पर्छ भनेर सम्झाएपछि उनी एक सय रुपैयाँ थप्न राजी भए । उनले सय रुपैयाँको नोट दिँदै भने- ‘गाडी पर्खेको २ घण्टा हुन लाग्यो, कतिबेला आउँछ त ?’

काउण्टरवाला बोलेनन् । गोजीबाट मोबाइल निकालेर उनले १३ जना मान्छे भइसकेकाले र गाडी पठाउन आग्रह गरे । र, फोन राखेर भने- ‘ल गाडी इटहरीबाट हिँडिसक्यो, एक घण्टामा आइपुग्छ ।’

तर, काउण्टरवालाले एक घण्टा भनेको, दुई घण्टा बितिसक्दा पनि गाडी आएन । यात्रुहरु काउण्टरवालासँग रिसाउँदै खै गाडी भनेर प्रश्न तेर्साइरहेका थिए । काउण्टरवाला दुई शब्दमा यात्रुको उत्तर दिन्थे ‘केहीबेर पर्खनुस् ।’

बिहान ८ बजेर २० मिनेट नाघिसकेपछि गाडी आयो । सबै यात्रुहरु चढे ।

गाडी अगाडि बढ्यो र अलि पर पुगेर रोकियो । त्यहाँ पनि केही यात्रुहरु टिकट काटेर गाडी पर्खिरहेका रहेछन् । ती यात्रुहरु निकै झोक्किए । ड्राइभरले मेरो गल्ती होइन हजुर, तपाईहरुले पैसा तिरेको मान्छेसँग भन्नु भन्दै उनीहरुलाई गाडीमा चढाए ।

रामपुरबाट छुटेको गाडी उदयपुर जिल्ला छाडेर सप्तरी पुग्दासम्म ३ ठाउँमा मान्छे चढे । सिट खचाखच भरिइसकेका थिए ।

सिटका विषयमा लफडा

गाडी सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर बजारमा पुग्यो । एक अधबंैशे व्यक्तिले गाडी रोक्न इशारा गरे । गाडी रोकियो । ‘यो गाडीमा ५/६ नम्बर सिट खाली गरिदिनुस त, मेरो मान्छे छ’ भन्दै उनी आफंैले गाडीको ढोका खोले ।

गाडीका सबै सिट भरिएका थिए । सबै सिट भरिएको देखे पछि ती व्यक्तिले ५ र ६ नम्बर सिटमा बसेका व्यक्तिलाई त्यो सिट आफूले रामपुरको काउण्टरवालासँग सम्पर्क गरेर काटेको भन्दै छाड्न आग्रह गरे । तर, सिटमा बसेका व्यक्तिले आफूहरुले सिटको पैसा तीन दिन अगाडि नै तिरिसकेको भन्दै छाड्न मानेनन् ।

त्यहीँबाट शुरु भयो सिटको लफडा । ‘राजेशलाई ५ र ६ नम्बरको सिट भनेर झुक्याउने, यो गाडी म जानै दिदिनँ ।’ ती व्यक्ति जंगिए । गाडी नै जान नदिने भनेपछि यात्रुहरुले एकै स्वरमा भने तपाई को हो ? किन हामीलाई सास्ती दिनुहुन्छ ?’

राजेश नाम गरेका ती व्यक्ति कञ्चनपुरका टिकट काट्ने मान्छे रहेछन् । उनले २ वटा सिट छन् भनेर काठमाडौंका लागि टिकट भनेका रहेछन् ।

त्यहाँ निकैबेर भनाभन भयो । राजेशले रामपुरको काउण्टरमा सम्पर्क गरे । तर, फोन लागेन । निकैबेरको भनाभन पछि अन्ततः ड्राइभरले एउटा जुक्ति निकाले ।

ड्राइभरको सिटभन्दा पछाडि र सिट नम्बर १ र २ अगाडि अलिकति खाली ठाउँ थियो । आफ्नो सीट पछाडि भएको खाली ठाउँमा मान्छे राखिदिन र त्यसवापत भाडा रकम घटाएर दिन उनले आग्रह गरे । त्यसो भने पछि राजेशले यात्रु हाल्न राजी भए । ६० वर्ष नाघेका ज्येष्ठ नागरिक यात्रुलाई त्यही अलिकति खाली ठाउँमा बस्न भनियो ।

केहीबेर ती ज्येष्ठ नागरिकहरुले यस्तोमा बसेर काठमाडौं पुग्न नसकिने भन्दै राम्रो सिट मिलाइदिन आग्रह गरिहेरे । तर, यहाँ सिट भरिएको र अर्को गाडी पनि नपाइने भने पछि त्यही ठाउँमा बस्न उनी बाध्य भए । अडि नै नसक्ने साह्रै अप्ठेरो ठाउँमा बस्नुको विकल्प नभएपछि उनीहरुले बाध्यताबस कष्टपूर्ण यात्राका लागि तयार भए ।

बिचौलियाका कारण यात्रुहरु समस्यामा पर्छन् भन्ने कुरा खोज्न अन्त जानु पर्दैन । एक गतिलो उदाहरण यही हो । गाडी अर्कैको, यात्रा गर्ने पनि अर्कै व्यक्ति अनि काउण्टर पनि रामपुर बसपार्कको । अनि बीचमा बसेर पैसा कमाउने चाहिँ राजेश । गाडीले कञ्चनपुर छाडेपछि मात्रै थाहा भयो राजेशले यात्रुलाई ठगेका रहेछन् ।

सापकोटा थरका ती ज्येष्ठ नागरिकहरुसँग राजेशले १ हजार ३ सयका दरले २ हजार ६ सय रुपैयाँ असुलेका रहेछन् । गाडीका चालक स्वयं नै साहु भएकाले कति दियो त पैसा भनेर सोध्दा ठगिएको थाहा भयो ।

आफूले २६ सय लिए पनि ८ सय रुपैयाँका दरले जम्मा १६ सय रुपैयाँमात्रै राजेशले गाडीवालालाई बुझाएका रहेछन् । अर्थात दुईजनाको टिकट काट्दा १ हजार रुपैयाँ राजेशले कमाएछन् ।

टिकट काट्ने बिचौलियाका कारण यतिधेरै यात्रुहरु समस्यामा परिरहेका छन् । बिचौलियाले न उचित भाडा लिए, न त राम्रो सिट नै मिलाइदिए । भाडा महंगो तिरेर यात्रा गर्ने ज्येष्ठ नागरिक त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता घटना हरेक गाडीमा हुने गरेका छन्, दशैंका बेलामा ।

हुन त सरकारले महिला, ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई प्रत्योक गाडीमा आरक्षण सीटको अनिवार्य व्यवस्था गर्नुपर्ने भनेको छ । तर, देशमा दुई तिहाईको सरकार भएर पनि सरकारै नभएजस्तो भएपछि ज्येष्ठ नागरिकहरुले समेत सास्ती ब्यहोर्ने पर्ने भएको छ ।

यसरी ठगिँदैछन् यात्रु

शनिबार उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर लगायतका ठाउँहरुमा यस्तो देखियो, जहाँ टिकट काट्नेले जे गरे पनि यात्रुहरु चुपचाप सहन बाध्य थिए । उनीहरु जति भाडा भने पनि चुपचाप तिर्न बाध्य थिए ।

नेपालमा बिरलैमात्र यस्ता क्षेत्र होलान्, जहाँ बिचौलिया छैनन् । यातायात व्यवसायमा भएको सिण्डिकेटको बहस लामै समय चल्यो । तर, दशैंका बेलामा यातायात क्षेत्रका बिचौलियाको मनपरि यस वर्ष पनि प्रसस्तै देखियो ।

विजयादशमी सकिएसँगै काठमाडौं फर्किने सर्वसाधारणले यतिबेला सिण्डिकेटको सास्ती व्यहोरिरहेका छन् । दशैं मनाउनका लागि कर्मथलो छाडेर जन्मथलोतिर लागेका सर्वसाधारणहरु पुनः कर्मथलोमा फर्किन धेरैले स्थलमार्ग प्रयोग गरिरहेका छन् ।

काठमाडौंबाट गाउँ जानका लागि सर्वसाधारणले जति सास्ती खेपे, त्योभन्दा धेरै सास्ती काठमाडौं र्फकंदा खेप्नुपरेको छ । काठमाडौं छाड्दा बढी भाडा तिर्नु नपर्ने र कसैले बढी भाडा लिए ठाउँको ठाउँ कारबाही गर्ने प्रहरीको उर्दीपछि धेरै यात्रुहरु ठगिनबाट जोगिए । तर, तिनै यात्रुहरु काठमाडौं र्फकनका लागि भने जति भाडा भन्यो, उति नै तिर्न बाध्य छन् ।

प्रहरी नै बेखबर !

दशैं मानेर काठमाडौं फर्किने यात्रुहरुलाई कुनै पनि समस्या नरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, प्रहरी निरीक्षक नविन सिंह बताउँछन् । गाडीहरुले भाडा तोकिए अनुसारको नै लिएको प्रहरी निरीक्षक सिंहको दाबी छ ।

यात्रुलाई कुनै त्यस्तो समस्या नरहेको र रामपुरदेखि काठमाडौंसम्मा जाने भाडा ७ सय देखि १ हजार रुपैयाँसम्म रहेको उनी बताउँछन् । प्रहरी निरीक्षक सिंहकै भनाइलाई आधार मान्दा गाडीवालाले प्रतिव्यक्ति ३ सय रुपैयाँदेखि ६ सय रुपैयाँसम्म बढी भाडा असुलिरहेका छ । तर, प्रहरी चुपचाप बसेर भन्छ- ‘यात्रुहरुलाई कुनै समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment