Comments Add Comment

ओली सरकारलाई ट्याक्सी चालकले टेरेनन्

४ कात्तिक काठमाडौं । के तपाई दशैंमा घर गएर कलंकीसम्म गाडीमा र्फकंदै हुनुहुन्छ ? अनि कलंकीबाट बानेश्वर वा कोटेश्वरसम्म ट्याक्सीमा आउन खोज्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईलाई ट्याक्सीले ७/८ सय रुपैयाँ भाडा माग्न सक्छ । विमानस्थलबाट बानेश्वर आसपास वा गौशाला चाबहिलसम्म जाँदै हुनुहुन्छ भने तपाईलाई ट्याक्सीले कम्तिमा ४/५ रुपैयाँ माग्न सक्छ । मीटरमा जाने त कुरै नगरौं ।

सरकारले काठमाडौंमा मिटरमा मात्र ट्याक्सी गुडाउन निर्देशन दिएको समाचार तपाई हामीले दशैंका घरघरमा सुनेकै हौं । तर, दुईतिहाई बहुमतको शक्तिशाली ओली सरकारले दिएको त्यो निर्देशन कसरी कागजमा मात्र सीमित भएको छ भनेर बुझ्ने हो भने विमानस्थलमा पुगेर एउटा ट्याक्सीलाई भाडा सोधे काफी हुन्छ । ओली सरकारलाई ट्याक्सी चालकले समेत टेर्दैनन् भन्ने व्यवहारतः पुष्टि भएको छ ।

अहिले राजधानीमा ट्याक्सी चालकहरुले यात्रुलाई मनपरी ढंगबाट ठगिरहेका छन् । तर, प्रहरीहरु अहिलेसम्म मूकदर्शक भएर बसिरहेका छन् । हुन त प्रहरीले दशैंका बेलामा बढी भाडा लिने सैयौं ट्याक्सी चालकलाई कारवाही गरेको बताइरहेका छन्, तैपनि ट्याक्सी चालकहरुको लुटको ब्यापार मौलाइरहेको छ ।

अन्तरराष्ट्रिय विमानस्थलजस्तो ठाउँमा दिनदहाडै ट्याक्सी चालकहरुको मनपरी चल्ने गरेको छ । छेउछाउमा भएका प्रहरीले समेत थाहा नपाएजस्तो गर्ने गरेका छन् ।

एयोरपोर्टको ट्याक्सी लाग्ने स्टेसनमा समितिका नाममा प्रत्येक ट्याक्सीबाट ३० रुपैयाँ असुल्ने गरिएको छ । यसरी चन्दा उठाइरहँदा पनि सरकारले नदेखेजस्तै गरिरहेको छ । यसरी ३० रुपैयाँको रसिद काटिँदा पनि भाडा महंगो लिनुपरेको ट्याक्सी चाहकहरुको तर्क छ ।

महानगरीय ट्राफिक महाशाखाले दशैंका बेला मिटरमा जान नमान्ने १२८ ट्याक्सी चालकलाई कारवाही गरेको समाचार यसअघि सार्वजनिक भएको थियो । महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले गत बिहीबार एकै दिन १२८ ट्याक्सी चालकहरु कारवाहीमा परेको बताएका थिए । टीकाको अघिल्लो दिनसम्म उपत्यकामा गरिएका विभिन्न सवारी जाँचमा ३८६ ट्याक्सी चालकहरु कारवाहीमा परेका थिए । ती मध्ये १८ जना मादक पदार्थ सेवनको कारवाहीमा परेका थिए भने अन्य बढी भाडा लिएकोमा कारवाहीमा परेका थिए ।

प्रहरीले एउटा टाटा सुमोलाई बढी भाडा लिएको आरोपमा कारवाही गरेको थियो भने एकजना ट्याक्सी चालक यात्रुको सामान लिएर भागेको आरोपमा पक्राउ परेका थिए ।

ट्याक्सी चालकले सरकारको निर्णय पालना नगरेमा वा बढी भाडा लिएमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा फोन गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । तर, यति हुँदा पनि ट्याक्सी चालकले यात्रुहरुलाई ठग्ने धन्दा अहिलेसम्म रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment