Comments Add Comment

हजारको नोट बोक्नुभएको छ ? नक्कली पर्ला नि !

४ कात्तिक काठमाडौं । दशैंको समयमा नयाँ नोटको प्रचलन बढी हुने गर्छ । यही क्रममा तपाईले एक हजार रुपैयाँका नयाँ नोटहरु बोक्नुभएको छ भने होस गर्नुहोला, त्यो नोट नक्कली पनि पर्न सक्छ । एक हजार रुपैयाँका साथै एक सय रुपैयाँको पनि नक्कली नोट बजारमा पुगेको हुन सक्ने प्रहरीले संकेत गरेको छ ।

नेपाल प्रहरीले आइबार राजधानीमा नक्कली नोट र त्यसका कारोबारीहरुलाई सार्वजनिक गरेको छ । प्रहरीले नक्कली नेाटका बेही कारोबारीहरु त पक्राउ, गर्‍यो, तर बजारमा त्यस्ता नक्कली नोटहरु कति गइसकेका छन् भन्ने चाहिँ यकिन हुन सकेको छैन । यस्तो स्थितिमा तपाईको गोजीसम्म आइपुगेको नोट पनि नक्कली पर्न सक्ने खतरा बढेको छ ।

दशैंका बेलामा नक्कली नोटको बिगबिगी भइरहेको सूचना आएपछि प्रहरीले कारवाही अघि बढाएको थियो । यही क्रममा साँच्चै नै नक्कली नोटहरु फेला परेका छन्, यसले नेपाली अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्न सक्ने देखएकिो छ । विगतमा नक्कली भारुको मात्रै चर्चा हुने गर्दथ्यो, अब नेपाली नोटसमेत नक्कली छाप्ने अपराध सुरु भएको पाइएको छ ।

अभियुक्तहरुको साथबाट बरामद गरिएका एक हजार रुपैयाँका नक्कली नोटहरु झट्ट हेर्दाखेरि ठ्याक्कै सक्कलीजस्तै देखिन्छन् ।

नोट लिँदा नक्कली वा सक्कली हो एकिन गरेर मात्रै लिन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको सुझाव छ । यदि कसैले नक्कली नोट दिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा खबर गर्नुपर्ने उनी बताउँछन्

कसरी चिन्ने नक्कली नोट ?

नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो नहुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

‘सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन्’ निरौलाले अनलाइनखबरसँग भने, ‘छाम्दाखेरि चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो ।’

निरौलाका अनुसार सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । तर, नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।

चाडबाडकै बेला किन आउँछ ?

नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको कार्यकारी निर्देशक निरौला बताउँछन् ।

चाडबाड तथा चुनावका बेलामा सुरक्षा अंग र राज्यको ध्यान शान्ति सुरक्षामा हुने हुँदा यस्तो मौकामा नक्कली नोटको कारोबार गर्न सहज हुने ठानेर अपराधिक गिरोहले नक्कली नोटको कारोबार गर्न सक्ने निरौलाको भनाइ छ ।

दशैंका बेला जताततै भीड हुने भएकाले पनि नक्कली नोटको कारोबार बढी हुने गरेको उनको अनुभव छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीका प्रमुख समेत रहेका निरौला भन्छन्, ‘दशैंमा जताततै भीड हुन्छ, व्यापारीले पनि राम्रोसँग नोट हेर्न फुर्सद पाउँदैनन् यसकारण पनि नक्कली नोटको कारोबार भइरहेको छ ।’

कीर्तिपुरमा भेटियो नक्कली नोट छाप्ने मेसिन !

शनिबार महानगरीय प्रहरी परिसर काठमाडौको टोली कीर्तिपुर नगरपालिका -४ स्थित कृष्णबहादुर क्षेत्रको साढे ४ तल्ले घरमा पुग्यो । सो घरको पहिलो तल्लाका दुईवटा कोठा नारायण श्रेष्ठ र इन्द्रबहादुर श्रेष्ठले भाडामा लिएका थिए । ती कोठाहरुमा छापा मार्दा प्रहरीले नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोटहरु र छपाइमा प्रयोग गर्ने सामाग्रीहरु बरामद गर्‍यो ।

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ईन्द्रबहादुर श्रेष्ठ पर्साको बिरुवा गुठी घर भई हाल मच्छेगाउँमा बस्दै आएका थिए । २७ वर्षे श्रेष्ठ यसअघि सिरहा जिल्लाबाट हात हतियार खरखजाना मुद्दामा ११ महिना जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीको भनाइ छ । उनी नक्कली नोट छाप्ने प्रमुख योजनाकार रहेको प्रहरीको दाबी छ ।

सँगै पक्राउ परेका इन्द्रबहादुर श्रेष्ठका सहयोगी २५ वर्षीय नारायण श्रेष्ठको घर गोरखाको सहिल लखन गाउँपालिका वडा नं ८ मा पर्छ । त्यसैगरी नक्कली नोटको कारोबारमा पक्राउ परेका अन्य व्यक्तिहरुमा मकवानपुरको हर्नामडी -९ घरभई हाल मूलपानी बस्ने बर्ष २५ का साहिल थापामगर पनि छन् ।

त्यसैगरी पर्साको बिरुवागुठी- ३ घर भई हाल जोरपार्टी बस्ने वर्ष २८ का राज श्रेष्ठ छन् । कागेश्वरी मनहरा ११ घर भई हाल कुमारीगाल बस्ने वर्ष २९ का विकास दोचे पनि नक्कली नोटको कारोबारमा समातिएका छन् ।

३ लाख ७० हजारका नक्कली नोट !

प्रहरीले श्रेष्ठको कोटाबाट रु. एक हजारका दरका नक्कली नोट ३७० थान बरामद गरेको छ । तर, छापिइसकेका कति नोट बजारमा पुगेका छन् भन्ने खुलिसकेको छैन । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ

प्रहरीले ब्रोदर कम्पनीको पैसा छाप्ने मेसिन एक थान, २ बट्टा मसी र २ बण्डल पेपर बरामद गरेको छ । गोर्खा फाइनाइन्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग गरिने सामाग्री १२ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

श्रेष्ठको कोठाबाट एनआइसी बैंकको नक्कली चेकसमेत भेटिएको प्रहरीले जनाएको छ । नक्कली नोट बनाउन प्रयोग गरिएका सक्कली हजारका तीन वटा नोट पनि प्रहरीले बरामद गरेको छ । साथमा एक सय रुपैयाँमा सक्कली ३ थान नोट फेला परेका छन् । यसबाट सयको नोट पनि नक्कली छापिएको हुन सक्ने संकेत देखिएको छ । श्रेष्ठको कोठाबाट प्रहरीले लालीगुराँस अंकित रबरस्टाम्प, कैंची र ४ वटा मोबाइलसमेत बरामद गरेको छ ।

अभियुक्तहरुले नक्कली नोट होटल रेष्टुरेन्टमा पैसा तिर्ने क्रममा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । त्यसैगरी किराना पसलमा पनि नक्कली नोट दिने गरिएको पाइएको छ । नक्कली नोट बजारमा दिँदा सक्कलीसँग मिसाएर दिने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

के सजायँ हुन्छ ?

नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

तर, नक्कली नोटहरु बजारमा छरिएमा त्यसले अर्थतन्त्रमा पार्न सक्ने नकारात्मक प्रभाव चाहिँ अपराधीले पाउने यस्तो सजायँ भन्दा धेरै नै बढी हुन्छ । यसका साथै आफूसँग भएको नोट नक्कली पर्‍यो कि भनेर उपभोक्तहरुमा त्रास बढ्छ ।

भारतमा यसैगरी नक्कली नोटको कारोबार र कालो धनको वृद्धि भएका कारण मोदी सरकारले नोटबन्दीको नीति ल्याएर पुराना नोटहरु खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment