Comments Add Comment

काठमाडौंमा यो दशैंमा ५ वर्षयताकै बढी दुर्घटना, १३ जनाको मृत्यु

५ कात्तिक, काठमाडौं । घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन् ।

यो बर्षको दशैमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या ५ बर्षयताकै सबैभन्दा धेरै भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाको संख्या पनि ५ बर्षयताकै धेरै २ सय ७२ वटा भएका छन् । गत बर्ष दशैको समयमा भएका १ सय ७७ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी २०७३ /७४ मा १ सय ४६ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको थियो । विशेष गरेर मादक पदार्थ सेवन गरेर सवारी चलाएका कारण दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

साथै यस बर्षका दुर्घटनाहरु मुख्य शहरी क्षेत्रमा भन्दा उपत्यकाका काँठ क्षेत्रमा बढी भएको महाशाखाका प्रहरी निरीक्षक दामोदर सिलवालले जानकारी दिए ।

यसैगरी ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ । बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दुरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको इन्सपेक्टर सिलवासलले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दशै तिहार तथा छट पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment