Comments Add Comment

मेस्सी नहुँदा बार्सिलोनाले के गर्ला ?

५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा मात्रै होइन च्याम्पियन्स लिगमा पनि अगाडि जेसुकै होला प्रशिक्षक एर्नेस्टो भालभर्देले बुझेका छन्, लियोनल मेस्सी नहुँदा बार्सिलानालाई सहज छैन ।

मेस्सी जस्तो लयमा देखिएका खेलाडीको स्थान पूरा गर्न अरु कुनै खेलाडीबाट असम्भव जस्तै देखिन्छ । यो सिजन मेस्सीले १२ गोल गरिसकेका छन् भने ६ गोलका लागि अवसर बनाएका छन् । गोल नगर्दा पनि खेल मिलाउने प्रमुख भूमिकामा उनी देखिएका हुन्छन् ।

बार्सिलोना अहिले मेस्सीको कमि पूरा गर्नेमा भन्दा पनि गल्ती कम गरेर भएका खेलाडीबाट अगाडि बढ्नेमा केन्दि्रत हुन आवश्यक छ ।
मेस्सीले बुझेर गर्ने हरेक कामले बार्सिलोना विश्व फुटबलमा उत्कृष्ट टिमको रुपमा चिनिन्छ । गएको १० वर्षदेखि विश्व फुटबलमा राम्रा स्ट्राइकरका रुपमा देखिएका मेस्सीको स्थानमा कसलाई राख्ने भन्नेमा भालभर्देलाई पनि सहज छैन ।

सेभिल्लासँगको खेलमा घाइते भएर मेस्सी बाहिरिएपछि उनको स्थानमा उसमान डेम्बलेलेलाई खेलाइएको थियो । तर, खेलमा पाएका धेरै अवसरलाई उनले सदुपयोग गर्न सकेनन् । आउँदा खेलमा सुधारिएको प्रदर्शन गरे पनि मेस्सीको कमी डेम्बेलेमार्फत पूरा हुन कठिन छ ।

यदि भालभर्देले च्याम्पियन्स लिगमा इन्टर मिलानसँगको खेल र ला लिगामा रियल मड्रिडविरुद्धको खेलमा डेम्बलेलाई खेलाएमा लुइस स्वारेज र फिलिप कोटिन्होसँग अट्याकमा देखिने छन् ।

भालभर्देसँग रहेको अर्को उपाय माल्कोमको प्रयोग हो । बार्सिलोनाले माल्कोमलाई ल्याएदेखि नै राम्रो अवसर दिएको छैन । यस्तोमा उनको क्षमताको प्रयोग गर्ने र नयाँ अवसर दिने यो एक अवसर पनि हो ।

डेनिस स्वारेज पनि मेस्सी नहुँदाका लागि एक विकल्प हुन सक्छन् । भिलारियलमा रहँदा डेनिस स्वारेजले आफ्नो स्थानमा उत्कृष्ट खेल नै देखाएका हुन् । बार्सिलोनामा पनि पाएका केही अवसरमा उनी कमजोर छैनन् । यसैले डेनिस स्वारेजमाथि पनि विश्वास गर्ने ठाउँ देखिन्छ ।

भालभर्देले स्ट्राइकरमा तीन जनाको ठाउँमा दुई जनालाई खेलाएर पनि मेस्सीको कमी पूरा गर्न सक्छन् । यसअघि दुई स्ट्राइकर खेलाउँदा मेस्सी र स्वारेज अगाडि खेल्ने गर्दथे । अहिले कोटिन्हो र स्वारेजलाई अगाडि खेलाएर मिडफिल्डमा नयाँ प्रयोग गर्ने ठाउँ पनि भालभर्देसँग छ ।

दुई स्ट्राइकर राख्दा मिडफिल्डमा आर्टुरो भिडालले पनि अवसर पाउने छन् । सर्जियो बुस्केट्स, इभान र्‍याकिटिक, आर्थरस र भिडालमा भालभर्देलाई छनोटको अवसर रहने छ ।

च्याम्पियन्स लिगमा इन्टरसँगको प्रमुख खेलमा मात्रै होइन ला लिगामा पनि रियल मडि्रडविरुद्धको महत्वपूर्ण खेल रहेकाले भालभर्देलाई मेस्सीको कमिले अप्ठेरो पर्न सक्छ ।

क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि एल क्लासिकोमा मेस्सी हाबी रहने अनुमान भइरहेका बेला सिजनकै पहिलो एल क्लासिकोमा मेस्सी पनि नहुने भएका हुन् । २००४ पछि मेस्सीबिनाको एल क्लासिको बार्सिलोनाले जितेकै छैन ।

अहिले मेस्सी र रोनाल्डो दुवै नभएको एल क्लासिको कस्तो रहला भन्ने अनुमान पनि सुरु भएका छन् । यो सन् २००७ पछिको मेस्सी र रोनाल्डोबिनाको एल क्लासिको पनि हो ।

२००७ मा मेस्सी घाइते हुँदा एल क्लासिकोमा खेल्न सकेका थिएनन् । रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट २००९ मा रियल मड्रिड आएपछि एल क्लासिको मेस्सी या रोनाल्डोविहीन भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment