Comments Add Comment

माधव नेपालको माग पूरा भएन, नारायणकाजीको राजीनामा अस्वीकृत

५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।

नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामा अश्वीकृत गरेको हो ।

डा.गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिएका थिए । उनको राजीनामा लामो समयदेखि अनिणिर्त अवस्थामा थियो ।

सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको स्रोतले जनाएको छ ।

आइतबारको बैठकमा बामदेव गौतमले आफ्नो असन्तुष्टि पोखेका थिए । सो बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो ।

सोमबारको बैठकमा नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए । बैठकमा विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि थियो ।

प्रदेश इञ्चार्ज तोक्ने निर्णय सदर

अघिल्लो सचिवालय बैठकले सात प्रदेशका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको निर्णयमा माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

तर, आइतबार र सोमबार बसेको बैठकले प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई भने उल्ट्याएन ।

माधव नेपालले राखेको लिखित प्रस्तावमा गम्भीर छलफल भएको र आगामी दिनहरुमा कमजोरी सच्याउने प्रतिबद्धता आएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment