Comments Add Comment

रियल मड्रिडका प्रशिक्षक भन्छन् : अवस्था जे होस् म लडिरहन्छु

५ कात्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जुलेन लोपेटेगीलाई एल क्लासिको अघि नै बर्खास्त गर्ने हल्ला चलिरहेका बेला उनले अवस्था जे भए पनि आफू लडिरहने बताएका छन् ।

च्याम्पियन्स लिगमा बुधबार राति पौने १ बजे प्लेजेनसँगको खेलअघि गरिएको पत्रकार सम्मेलनमा लोपेटेगीले यस्तो बताएका हुन् ।

२००१/०२ को सिजन पछि ला लिगामा सबैभन्दा खराब सुरुवात गरेको रियल मड्रिडले च्याम्पियन्स लिगमा पनि सीएसकेए मस्कोसँग १-० ले हारेर कमजोर अवस्था देखाएको छ ।

ला लिगामा ९ खेलमा ४ मा जित, ३ बराबरी र २ मा हार ब्यहोरेको रियल मड्रिड सातौं स्थानमा छ । यसैले सिजनकै पहिलो एल क्लासिको अघि नै लोपेटेगीलाई बर्खास्त गर्ने दाबीसहितका खबरहरु बाहिरिरहेका छन् ।

‘मैले रियल मड्रिडमा सिकेको कुरा भिडिरहन हो । अवस्था जे सुकै होस् म लड्न छाड्ने छैन’ लोपेटेगीले भनेका छन्, ‘हामी सबैलाई थाहा छ नतिजा हाम्रो पक्षमा देखिएको छैन तर हामी लड्न छाड्ने छैनौं ।’

सोमबार पत्रकार सम्मेलनमा बार्सिलोनासँगको खेलमा नरहने भन्ने प्रश्नमा लोपेटेगीले अहिले आफू रियल मड्रिडमा नै रहेको र त्यसभन्दा बाहेक केही भन्न नसक्ने जवाफ दिएका छन् ।

‘तपाईं अर्को महिना के हुन्छ ? अर्को वर्ष के हुन्छ भनेर सोध्नुहुन्छ भने त्यसको जवाफ मसँग हुँदैन । हामी वर्तमानमा केन्द्रित  भएर मेहनत गरिरहेका छौं’ उनले भने ।

लोपेटेगीले थकित र हारेको प्रशिक्षकलाई हेर्ने चाहना छ भने आफूलाई नहेर्न पनि बताएका छन् ।

‘हामी भोलिको खेलका बारेमा सोचिरहेका छौं । त्यसैको तयारीमा छौं । तपाईं हारेको प्रशिक्षक देख्न चाहिरहनु भएको छ भने यता नहेर्नुहोस्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment