Comments Add Comment

कात्तिक १५ देखि उद्योग बन्द गर्ने कपडा उद्योगीको चेतावनी

७ कात्तिक, काठमाडौं । नेपाल कपडा उद्योग संघले सरकारले कात्तिक १५ गतेदेखि मुलुकभरका कपडा उद्योग बन्द गर्ने चेतावनी दिएको छ ।

मूल्य अभिवृद्धि करका सम्बन्धमा पुरानै व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको संघले त्यसबारे सरकारले निर्णय गर्न ढिलाइ गरेको भन्दै उद्योग नै बन्द गर्ने चेतावनी दिएको हो ।

विदेशी कपडासंग प्रतिस्पर्धा गर्नका लागि सरकारले नेपाली कपडा उद्योगलाई मूल्य अभिवृद्धि करको छुट दिदै आएको थियो । कपडा उद्योगीहरु कर छुटको व्यवस्था नराख्दा विदेशी कपडासंग प्रतिपर्धा गर्न नसकिने र उद्योग व्यवसाय नै धरापमा पर्ने भएकाले आफूहरु उद्योग संञ्चालन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् । कर छुट दिन नमिले अन्य विकल्पबाट उद्योगलाई सो बराबरको अनुदान उपलब्ध गराउनुपर्ने संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले माग गरे ।

चालु आर्थिक बर्षको बजेट घोषणमा सरकारले करको सिद्धान्त विपरीत रहेको भन्दै कपडा उद्योगीलाई दिदै आएको कर छुटको व्यवस्था खारेज गरेको थियो । लगत्तै व्यवसायीले कर निर्धारण सम्बन्धी निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्दै प्रतिवेदन बुझाएका थिए । उद्योगीका मागबारे छलफल गर्न सरकारले कार्यदल बनाए पनि ३ महिनासम्म केही उपलब्धि नभएपछि उद्योग नै बन्द गर्ने अवस्थामा पुगेको उद्योगीहरु बताउँछन् ।

सरकारले कपडा उद्योगीका बारेमा निर्णयमा पुग्न नसक्दा उद्योग व्यवसाय धरापमा पर्दै गएको भन्दै अध्यक्ष प्रधानले चिन्ता व्यक्त गरे । करका बारेमा स्पष्ट नहुँदा व्यवसायीले दशैको बेलामा पनि कपडा बेचेका छैनन् । बाषिर्क कुल कारोबारको झण्डै ४० प्रतिशत कारोबार हुने समयमा सामान स्टकमा राख्नुपर्दा व्यवसायको उत्पादन ५० प्रतिशतले घटेको उनले दावी गरे ।

नेपालमा प्रयोग हुने कुल कपडामा ८५ प्रतिशत चोरी पैठारी हुने गरेको भन्दै अध्यक्ष प्रधानले चोरी पैठारीका कपडा नियन्त्रणमा लिन नसकेकोमा सरकारी निकायप्रति आक्रोश पोखे । उनले नेपालमा बार्षिक कति कपडा खपत हुन्छ र ती कुन कुन माध्यमबाट आइरहेका छन् भन्ने आंकडासम्म सरकारसंग नहुनु दुखद भएको टिप्पणी गरे ।

मुलुकको कुल औद्योगिक उत्पादनको ७ प्रतिशत हिस्सा नेपालको कपडा उद्योगले लिएको छ । कुल निर्यात आयमा १५ प्रतिशत योगदान पुर्याएको कपडा उद्योगमा ६० हजार बढीले रोजगारी पाइरहेका छन् । नेपाल कपडा उद्योग संघका अनुसार मुलुकभर २ सय बढी कपडा उद्योग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment