Comments Add Comment

थुनुवा फरार प्रकरण : शौचालयको पर्खालबाट काटिएको थियो रड

११ कात्तिक, मोरङ । इलाका प्रहरी कार्यालय रानी विराटनगरबाट थुनुवा फरार हुनुमा प्रहरी कर्मचारीकै चरम लापरबाही भएको प्रारम्भिक निश्कर्ष निकालिएको छ ।

विराटनगर १७ का महम्मद अस्फाक हत्या आरोपमा असोज दोस्रो साता पक्राउ परेका २१ बर्षका महम्मद सद्दिम हुसेन र २० बर्षका महम्मद आरिफ आलम ड्युटीमा रहेका प्रहरी कर्मचारीको चरम लापरवाहीका कारण भागेको छानबिन समितिले प्रारम्भिक निष्कर्ष निकालेको हो ।

गत असोज १ गते अस्फाकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका हुसेन र आरिफ थुनुवा कक्षको भेण्टिलेसनको ६ वटा रड काटेर शुक्रबार फरार भएका थिए । विहान १ बजेदेखि २ बजेको बीचको समयमा भेण्टिलेसनमा रहेको ८ वटा रडमध्ये ६ वटा रड फलाम काट्ने ब्लेडले काटेर भागेका हुन् ।

रड काट्न प्रयोग भएको ब्लेड प्रहरी कार्यालय परिसरभित्रै कपडाले बेरेको अवस्थामा भेटिएको थियो भने भेण्टिलेसनका ६ वटा रड प्रहरी कार्यालयको उत्तरपट्टी रहेको खाली जग्गामा भेटिएको छानबिन समितिका संयोजक प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए ।

थुनुवा राखिएको कक्षबाट भेण्टिलेसन हातले भेट्न सकिदैन । क्रिकेटको सट्टेबाजमा समेत सक्रिय रहेका आलम र हुसेनले ड्युउटीमा रहेका प्रहरीलाई समेत प्रभावमा पारेर रड काटेको हुन सक्ने स्रोत बताउँछ ।

करिब १० फुट अग्लो स्थानमा रहेको भेण्टिलेसनमा रहेको रड थुनुवा कक्षसँगै रहेको शौचालयको पर्खालमा टेकेर काटेर भागेको प्रारम्भिक निष्कर्ष निकालिएको हो ।

भेण्टिलेसनको रड काटेपछि छतमा समाएर आरोपीहरु बाहिर निस्किएर भागेको छानबिन समितिका एक सदस्यले बताए । इलाका प्रहरी कार्यालय रानीको उत्तरतर्फ पर्खाल लगाइएको छैन । गेटमा २४ घण्टा प्रहरी तैनाथ भएकाले आरोपी उत्तर तर्फको खाली जग्गा हुदै भागेका थिए ।

कसरी आयो ब्लेड ?

छानबिनका क्रममा प्रहरीले बिहीबार राति र शुक्रबार डिउटीमा रहेका ७ प्रहरीलाई जिल्ला तानेको छ । शुक्रबार नै थुनुवा कक्षको ड्युउटीमा रहेका प्रहरी हवल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्केलाई निलम्बन गरी छानबिन सुरु गरिएको हो ।

तीन दिनको छानबिनका क्रममा आरोपीका आफन्तले भात ल्याउने भाडोमा लुकाएर हृयाक्सो ब्लेड ल्याएको हुन सक्ने अनुमान गरिएको छ । छानबिनका क्रममा प्रहरीले ३ वटा टुक्रा ब्लेड भेटेको थियो । टुक्रा अवस्थामा भेटिएको ब्लेड नयाँ रहेको बताइएको छ ।

छानबिन समितिका संयोजक थापा पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताउँछन् । उनले छानबिन सुरु भएकाले केही बताउन नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment