+
+
Shares

खानेपानी उद्योगमा लापरवाहीः जारको पिँध टाल्न चुईंगम !

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते २०:१८

१२ कात्तिक, काठमाडौं । काठमाडौंमा जारको पानीलाई सबैभन्दा विश्वासिलो मानिन्छ । तर, ती पानी पनि खानेपानीका लागि खासै योग्य छैन भन्ने पुष्टि सोमबार काठमाडौंमा पानी उद्योगहरुमा गरेको अनुगमनले गर्‍यो ।

जारमा पानी भर्दा सरसफाइमा पटक्कै ध्यान नदिएकोदेखि थोत्रा, फोहोर र लेउ लागेका जारमा पानी भरेर उपभोक्ताकोमा पठाउने गरेको पाइयो । कुच्चिएका र राम्रोसाग सिल लाग्ने अवस्थामा नरहेका जारलाई कालो टेपदेखि चुईंगमसम्म लगाएर टालिने गरेको तथ्य अनुगमनमा खुल्यो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णको नेतृत्वमा गएको अनुगमन टोलीले दुईवटा पानी उद्योगमा अनुगमन गर्‍यो । दुबैमा लापरवाही देखिएपछि सिल गरेर फर्कियो ।
टोखा नगरपालिकाकाम अवस्थित गोसाइकुण्ड ब्राण्डको पानी बेच्ने मणी खानेपानी सेवा र ओ मिजु ब्राण्डको पानी विक्री गर्ने मारियन बेभररेज प्रालिमा सिल गरियो ।

गोसाइकुण्ड ब्राण्डको पानीको जारी धेरैजसो अत्याधिक पुराना भेटिए । कुच्चिएका मात्रै हैन, पीधमा लेउ बसेका जारमा पानी भरेर बेच्न लैजान ठिक्क पारेको अवस्थामा जारहरु फेला पार्‍यो अनुगमन टोलीले । कम्पनीभित्रै पानी चुहिने जारमा पिँधमा चुईंगम लगाएर टालेको भेटियो ।

जारका सफाइका लागि राखिएका मेसिनहरु थोत्रो भए थन्किएका थिए । कामदारहरु माथिबाट पानीले खन्याउँदै जारको धुलो मैलो सफा गर्दै पानी भर्ने काम गरिरहेका थिए । टिनले बेरेर बनाएइका उद्योगहरुमा धुलो र फोहोर नछिर्ने कुनै भएन ।

यतिमात्रै हैन, पानीका पाइपहरुबाट खिया लागेर चुहिँदा र फोहोर हुँदा पनि सफाइ नगरेको पाइएपछि सिलबन्दी गर्न विभागको टोलीले धेरैबेर लगाएन । जथाभावी रुपमा पानी भर्दा खानेपानी नै उद्योगमै फोहोर हुने गरेको देखियो ।

महानिर्देशक कर्णका अनुसार दुबै उद्योगले पानी फिल्टर गर्ने प्रविधिमा ब्यापक लापरवाही गरेका छन् । मणि खानेपानी सेवा रिभर अस्ामेसिस गर्ने मेसिनबाट पानी चुहिएको भेटियो भने अर्को उद्योगमा पनि पानी फिल्टर गर्दा प्रयोग भएका मेसिनहरु पुराना भेटिए ।

पानी भर्दा खुला स्थानमै भरिएको देखिन्थ्यो । पानी भर्ने काममा संलग्न कामदारले पञ्जासम्म पनि लगाएका थिएनन् ।

अनुगमन टोलीसमक्ष दुबै कम्पनीका मालिहरु उपस्थित हुन सकेनन् । मारियन पानी उद्योगमा सञ्चालनक महेश श्रेष्ठका बाबु लक्ष्मी श्रेष्ठ मात्रै थिए भने मणि खानेपानी सेवामा आफूलाई लेखापाल बताउने एक महिला मात्रै उपस्थित थिइन् । उनीहरुले विभागको टोलीले सोधेका धेरै प्रश्नको आलटाले उत्तर मात्रै दिए । मारियन पानी उद्योगले त विभागबाट जारी हुने खाद्य अनुज्ञाको प्रमाणपत्रदेखि कुनै कागजात नै पेश गर्न सकेन ।

पानी उद्योगमा बोटल र जारमा भरिने पानी पनि हातैले भरेको पाइयो । नियमअनुसार अटोमेटिक मेसिनबाटै नै पानी भर्नुपर्छ । ब्याक्टेरिया लगायतका संक्रमणको खतारा हुने भएकाले पानी उद्योगमा खुला स्थानमा पानी भर्न पाइँदैन ।

तर, दुबै उद्योगले भाँडो पखाल्ने र पानी भर्ने काम एकैस्थानमा गरेको पाइयो । पानी उद्योगहरुले नाम मात्रको ल्याब राख्ने गरेको पनि अनुगमनमा भयो ।


पानीको गुणस्तर जाँचेर मात्रै बजारमा पठाउनु पर्ने भएपनि महिनौं देखि ल्याब नै नचलाई राखेको पाइएको छ । ल्याबमा पर्याप्त प्रविधि र सामग्री पनि नभएको कर्णले बताए ।

तर, पनि उद्योगहरुले दैनिक रुपमा ल्याबको रिपोर्ट आएजस्तै गरी ढड्डामा पानीका गुणस्तरसँग सम्बन्धित विवरण चढाएर राख्ने गरेको भेटिएको छ ।

अनुगमन टोलीले मणि खानेपानी सेवामा ल्याब टेक्निसियनबारे सोधेपछि लेखापाल बताउने महिलाले एक पुरुषलाई तत्कालै बोलाइन् । उनले दैनिकरुपमा ल्याब टेस्ट हुने गरेको दावी गरे । तर, महानिर्देशक कर्णले ल्याब टेस्टमा हुने ‘बेसिक’ परीक्षण आफ्नै अघि गरेर देखाउन भनेपछि उनले अन्तमा ल्याबमा पानीको ‘पीएचपी’ नाप्ने मेसिनसम्म नभएको स्वीकारे । र, जाँच्नका लागि बिहानमात्रै पठाएको बहानाबाजी झिके ।

दुबै उद्योगमा अनुगमनमा पुग्दा कामदारहरु तितरवितर भएका थिए । खानेपानी उद्योगहरुले जो गाडीवाला जार लिएर आए पनि आफ्नो बिर्को र स्टिकर लगाएर बजारमा पठाउने गरेको पनि थाहा भयो । यसरी पानी लैजानेहरुले जारलाई प्रयोगमा राखिराख्न बिजुलीका टेपदेखि चुईंगमसम्म लगाएर टाल्ने गरेको हुन सक्ने विभागका अधिकारीहरु बताउँछन् ।

सय/दुई सयवटा थोत्रा र फोहोर जार पानी उद्योगमा छाड्ने त्यहाँबाटै पानी भरेर बजारमा पठाउो गरेको पनि भेटिएको विभागका अधिकारीले बताए ।


विभागमा महानिर्देशक सञ्जीव कर्णले दुबै सञ्चालाहरुलाई यस किसिमको लापरवाह स्वीकार्य नभएको भन्दै चेतावनी दिए ।

‘जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने विषयमा यस्तो खेलाँची राम्रो होइन,’ उनले भने,’ हामीले बनाएको मापदण्डभन्दा तलमाथि गरेर उद्योग चलाउन पाइँदैन ।’

उनले काठमाडौंमा धेरै पानी उद्योगले जनस्वास्थ्य प्रतिकुल हुने गरी पानी उत्पादन गरेको हुन सक्ने भन्दै अब प्रत्येक उद्योगलाई आधुनिकीकरण गरेर मात्रै चलाउन बाध्य पारिने बताए ।

अनुगमन टोलीले पानी उद्योगहरुको पानी फिल्टर गर्ने मेसिनहरु चुस्त अवस्थामा नरहेको निश्कर्ष निकालेको छ । अनुगमन टोलीमा रहेका उपभोक्ताकर्मी माधव तिमल्सिनाले खानेपानीजस्तो संवेदनशील वस्तुको उत्पादनमा यस्तो लापरवाही देखिनुले काठमाडौंमा पानी उद्योगहरुको संवेदनहीनतालाई दर्शाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?