Comments Add Comment

भारतीय क्रिकेट टिमको माग : विश्वकपमा श्रीमती, नास्तामा केरा

१३ कात्तिक, काठमाडौं । ईंग्ल्यान्डमा क्रिकेट विश्वकप सुरु हुन करिब सात महिना बाँकी छ । यसपालीको विश्वकपमा सबैभन्दा बलियो दावेदार हो भारत ।

एकदिवसीय विश्वकप तयारीका सिलसिलामा हालै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एउटा वैठक राख्यो ।

वैठकमा विश्वकप तयारीका विविध पक्षहरुमा छलफल हुनुको साथै खेलाडीहरुका माग र गुनासोहरु पनि व्यक्त भएका थिए । यस क्रममा खेलाडीहरुले केही रोचक माग राखेका छन् ।

हैदराबादमा भएको वैठकमा विश्वकपका दौरान आफ्ना पत्नीहरुलाईं ईंग्ल्यान्ड लैजान र आफूसँगै राख्न पाउनुपर्ने माग गरिएको थियो । उक्त माग कप्तान विराट कोहली स्वयम्ले राखेको बुझिएको छ ।

यसैगरी बसको साटो ट्रेन प्रयोग गर्न छुट दिइनुपर्ने खेलाडीहरुले बताएका छन् । साथै नास्तामा अन्य फलफुलका साथ केरा अनिवार्य समावेश हुनुपर्ने उनीहरुको माग छ ।

वैठकमा कप्तान कोहलीका अलावा उपकप्तान अजिन्क्य रहाने, रोहित शर्मा, प्रशिक्षक रवि शास्त्री र मुख्य चयनकर्ता एमएसके प्रसाद पनि थिए । टिमको तर्फबाट केराको माग गरिँदा वैठकमा हाँसो छाएको इन्डियन एक्सप्रेसले जनाएको छ ।

समाचार अनुसार हालै ईंग्ल्याण्डको भ्रमण गर्दा भारतीय टिमले माग गरिएअनुसार फलफुल पाएको थिएन । खेलाडीहरुको मागपछि बीसीसीआईले खेलाडीहरुका लागि पर्याप्त केरा खरिद गर्न टिम म्यानेजरलाई आदेश दिएको छ ।

टिम इन्डियाले बीसीसीआईका सीओएसँग खेलाडीहरु बस्ने होटलमा व्यवस्थित जिम अनिवार्य हुनुपर्ने माग राखेका छन् ।

साथै पत्नीहरुलाई साथमा राख्नेसम्बन्धी प्रोटोकलको विषयमा पनि चर्चा भयो । यस मागका विषयमा सीओएले टिमका सबै सदस्यहरुसँग लिखित सहमति माग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment