Comments Add Comment

चार महिनासम्म उत्तरी गोरखामा पुगेन सहुलियतको चामल

१३ कात्तिक, गोरखा । चालु आर्थिक बर्षको चौथो महिनासम्म पनि उत्तरी गोरखामा नेपाल खाद्य संस्थानले सहुलियतको चामल पठाउन पठाउन सकेको छैन ।

ठेक्का सम्झौतामा भएको ढिलाइका कारण चामल ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थान गोरखा शाखा प्रमुख नवीन बस्नेतले बताए ।

‘सिर्दिवास डिपोका लागि पहिले परेको टेण्डर हेडक्वार्टरबाट अस्वीकृत भएर आयो,’ उनले भने, ‘दोस्रो पटक टेण्डर खुलाएर अहिले बल्ल स्वीकृत भएको छ ।’

तिहार अगावै सम्झौता गरेर खाद्यान्न ढुवानी गर्ने उनले दावी गरे । माछाखोला डिपोका लागि टेण्डर स्वीकृत भएर दशै अगावै सम्झौता भइसकेको उनको भनाइ छ । ‘माछाखोला डिपोमा करिब सात सय क्वीन्टल चामल स्टक छ त्यही भएर अहिले त्यहा पठाएका छैनौ, सिर्दिवासमा आवश्यक छ, त्यहाँ ठेक्का सम्झौता हुन बाँकी छ, तिहार अगावै सम्झौता गरेर चामल पठाउछौ,’ बस्नेतले भने ।

उत्तरी क्षेत्रमा चामल ढुवानीको ठेक्का यस पटक पनि प्रगति निर्माण सेवाले नै पाएको छ । चालु आर्थिक बर्षका लागि माछाखोला डिपोमा २ हजार पाँच सय र सिर्दिवास डिपोमा दुई हजार क्वीन्टल कोटा तोकिएको छ । आउदो असार मसान्त सम्म उक्त चामल ढुवानी गरिसक्नुपर्नेछ ।

उत्तरी क्षेत्रका स्थानीयलाई सहुलियत दरमा चामल उपलब्ध गराउने उदेश्यका साथ खाद्य संस्थानले २०३१ सालदेखि उत्तरी गोरखाको धार्चे गाउँपालिकाको माछाखोला र चुमनुब्री गाउँपालिकाको सिर्दिबास डिपोमा खाद्यान्न ढुवानी गर्दै आएको छ ।

सरकारले ढुवानी सहुलियत दिएको सोना मन्सुली चामल माछाखोला डिपोबाट प्रतिकेजी ४५ र सिर्दिबास डिपोबाट ४८ रुपैयामा स्थानीयले उपभोग गर्न पाउनेछन् । सिर्दिवास डिपोबाट सामागाउँ, ल्हो, प्रोक, विही, चुम्चेत, छेकम्पार र सिर्दीवास गरी साविकका सात गाविसका स्थानीयले अनुदानको चामल उपभोग गर्दै आएका छन् ।

त्यस्तै माछाखोला डिपोबाट लाप्राक, उहीया, केरौजा, गुम्दा, लापु र काशीगाउँ गरी साविकका ६ गाविसका स्थानीयले चामल उपभोग गर्दै आएका छन् । माछाखोलामा भन्दा टाढा भएकाले सिर्दिवासमा चामल ढुवानी गर्न कठिन हुने संस्थानले जनाएको छ । गत बर्ष माछाखोलामा चार हजार क्वीन्टल चामल ढुवानी भएको थियो भने सिर्दिवास डिपोमा दुई हजार क्वीन्टल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment