Comments Add Comment

अवैधरुपमा यूएई जान खोज्ने महिला पक्राउ, दूतावासको गलत ‘स्पेलिङ’ले खुल्यो पोल

१५ कात्तिक, काठमाडौं । कीर्ते कागजात प्रयोग गरेर संयुक्त अरब इमिरेट्स (यूएई) उड्न लागेकी एक नेपाली महिला भारतको अध्यागमन विभागको फन्दामा परेकी छन् ।

बैङ्लोरको केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर यूएई जाँदै गरेकी ३४ वर्षीया सीता सिंगालीलाई शनिबार त्यहाँको अध्यागमन अधिकारीले पक्रेका हुन् ।

नेपाली दूतावासका नाममा जारी पत्र नक्कली पुष्टि भएपछि सिंगाली पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार फर्जी पत्रमा दूतावासको अंग्रेजी रुप गलत देखिएपछि ती महिलामाथि अध्यागमन अधिकारीले केरकार गरेका थिए । ‘Embassy’ लेख्नुपर्नेमा ‘Emnassy’ लेखिएको समाचारमा उल्लेख छ ।

काठमाडौंबाट शनिबार इमिरेट्स उडानमार्फत् आएकी सिंगाली त्यही दिन रातिको फ्लाइटमार्फत् सारजहा उड्न अध्यागमनको जाँच लाइनमा उभिएकी थिइन् ।

समाचार अनुसार यूएईको ३ महिनाको भिसा लगाइएको पासपोर्ट बोकेकी सिंगालीले नयाँदिल्लीको नेपाली दूतावासले अनुमति दिएको पत्रसमेत बोकेकी थिइन् ।

तर, अध्यागमन कर्मचारीले कागजात परीक्षणपछि उनलाई नियन्त्रणमा लिए । दूतावासको अंग्रेजी रुप गलत भेटिएसँगै थप अनुसन्धान अघि बढाए पनि शुरुमा उनले भारतमा रहेको नेपाली दूतावासबाटै पत्र लिएको जिकिर गरिन् । तर, अध्ययनको क्रममा पत्र नक्कली रहेको खुल्यो र अध्यागमन अधिकारीले विमानस्थल प्रहरीलाई जिम्मा लगाइदिए ।

इन्डियन एक्सप्रेसले त्यहाँको प्रहरी अधिकारीलाई उद्धृत उनीमाथि भारतीय दण्ड संहिताअनुसार तीन किसिमको मुद्दा चलाएर न्यायिक हिरासतमा राखिएको जनाएको छ ।

सोधपुछका क्रममा सिंगालीले ५ कक्षासम्म मात्रै अध्ययन गरेको र फूलको बजारमा काम गर्ने गरेको खुलेको छ ।

बैंग्लोरको विमानस्थल प्रहरीले सिंगालीको दाबीबारे परीक्षण गर्न नेपाली दूतावासलाई पत्राचारको तयारी गरेको छ ।

नेपाल सरकारले महिलालाई घरेलु कामदारमा विदेश पठाउन रोक लगाएपछि पछिल्लो समय भारतीय बाटो प्रयोग गर्ने क्रम बढेको छ । केही समयअघि मात्रै पनि यसरी विदेश जान लागेका महिलालाई भारतबाट उद्धार गरिएको थियो । तर, कागजात नै नक्कली प्रयोग गरेर जाँदै गरेको अवस्थामा महिला पक्राउ परेको भने यो पहिलो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment