Comments Add Comment

…त्यसपछि नेपाली क्रिकेट टिमको पहिलो कप्तान भएँ

अहिले नेपालमा क्रिकेटको क्रेज कति छ मैले बताइरहनु नपर्ला । मैले बताउनुपर्ने कुराहरु अरु धेरै छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो कप्तान भनेर आफूलाई चिनाउन पाउँदा आज मलाई गर्व हुन्छ । तर, हाम्रो समयमा क्रिकेट खेल्न सजिलो थिएन । खेलकुदमा लाग्न बच्चाहरुलाई बाबुआमाबाट प्रोत्साहन हुँदैनथ्यो । घरबाट ब्याट र बल लुकाएर मैदान पुग्थ्यौं हामी ।

केही पनि नभएको बेलामा पनि खै किन र कसरी क्रिकेटले तानिरहेको थियो, सम्झँदा अचम्म लाग्छ । फर्केर हेर्दा रमाइलो मान्नुपर्ने र दंग हुनुपर्ने कुरा धेरै नै छन् ।

……

मेरो बुबा लिलासिंह कर्मा राष्ट्रिय समाचार समितिमा जागिरे हुनुहुन्थ्यो । उहाँकै जागिरको सिलसिलामा म नौ महिनाको हुँदा परिवार जनकपुर बसाईं सरेको थियो । २०१९ साल माघमा म काठमाडौंमा जन्मेको मलाई जनकपुरले हुर्काएको हो ।

नेपालमा त्यो समय क्रिकेट सबै अञ्चलमा पुगेको थिएन । भारतमा पढेर आएकाहरुले खेलिटोपल्थे । जनकपुर ब्रहृमपुरी टोल भने पहिलेदेखि नै क्रिकेटको लागि चिनिएको थियो । ठूला दाइहरुले क्रिकेट खेलेको हेरेर हामी दिन बिताउँथ्यौं । खेलाडी थोरै हुने हुँदा ब्याट्सम्यानले हानेको बल हामीलाई समात्न लगाइन्थ्यो । पछि थाहा भयो कि फिल्डिङ भनेको यही रहेछ ।

एक हिसाबले नेपालमा क्रिकेटको उद्गमस्थल नै ब्रहृमपुरी हो भने हुन्छ । पछि अञ्चलस्तरीय खेलहरु हुँदा ९ जना खेलाडी त ब्रहृमपुरी टोलकै हुन्थे । जनकपुरको बाह्रबिघा मैदानमा खेल हुन्थ्यो । त्यहाँ बाहिरबाट आएर जागिर खानेहरुले पनि खेल्थे । त्यही देखेर हामीले पनि काठको मुङ्ग्रो समात्न सुरु गर्‍यौं ।

हामीसँग बल, ब्याट किन्ने पैसा हुने त कुरै भएन । पैसा भए नै पनि जनकपुरमा खेलकुदको सामान पाइने पसलै थिएन । भारतको पटना गएर किनेर ल्याउनुपर्थ्यो । त्यसैले ठूला दाइहरुसँगै खेल्नुको विकल्प पनि थिएन ।

हुन त हामी साना केटाकेटी पनि खाली भएको बारीमा कहिलेकाहीँ क्रिकेट खेल्ने गर्थ्यौं । बारीमा खेल्दा कुनै नियमले खेलिन्थेन । एकछिन चोर पुलिस खेल्यो । अल्छि लाग्छ अनि एकछिन क्रिकेट खेल्यो । फेरि ढ्याक खेल्यो । राष्ट्रिय प्रतियोगिताका बेला फुटबल, एथ्लेटिक्स, कबड्डी पनि खेल्थ्यौं ।

जनकपुरमा फुटबल पनि पपुलर थियो । ठूला राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला त फुटबलमय नै हुन्थ्यो । तर, विस्तारै हाम्रो ध्यान क्रिकेटमा नै केन्द्रित हुन थाल्यो ।

……

क्रिकेटमा नै विशेष चाख हुनुको अर्को कारण त्यो समय हामीले रेडियोमा सुन्ने क्रिकेट कमेन्ट्री पनि एक हो । अहिलेको पुस्ताले अनुभव गर्न नपाएको भन्ने या नपरेको भन्ने, रेडियोमा क्रिकेट सुन्नुको रमाइलो अर्कै थियो । टिभी नभएका हुनाले रेडियो सुन्नुको विकल्प पनि थिएन ।

पछि ०४४ सालतिर मात्रै जनकपुरमा टीभी आयो । त्यो पनि नाम मात्रैको थियो । झिरिररर्र गरेर केही नबुझिने टीभी पनि हेरेर बस्थ्यौं । भारतको दूरदर्शन च्यानल हेर्न पाइन्थ्यो । च्यानल राम्रो आउला भनेर कुर्दा कुर्दै खेल सकिन्थ्यो । ४८ सालपछि भने केबलको व्यवस्था भएर राम्ररी क्रिकेट हेर्न पाइयो ।

त्यसअघि भारतको टेस्ट म्याच, एकदिवसीय म्याच साथीहरु जम्मा भएर बीचमा रेडियो राखेर सुन्थ्यौं । त्यसबाट पनि क्रिकेटको क्रेज बढेको हो । भारतका सुनिल गावास्कर, पाकिस्तानका जाभेद मियादादहरुको फ्यान भएका थियौं ।

त्यस्तो समयमा हामीले जुन तरिकाले खेल्यौं त्यो सानो कुरा थिएन । आफ्ना बच्चाले घरमा क्रिकेट खेलेको बाबुआमाले रुचाउँदैन थिए । त्यसैले भागेर, लुकेर खेल्नुपर्थ्यो । खेल्ने बेला ब्याट, बल र स्टम्प लुकाएर लैजान्थ्यौं । पढ्न छोडेर के पारा हो यो ? भन्ने प्रश्न सबैको घरमा हुन्थ्यो नै । तैपनि रमाइलोका लागि खेलिरहेका थियौं ।

म ११-१२ वर्षको भएपछि टोलका दाइहरुसँग फिल्डिङ गर्न मात्र होइन ब्याटिङको मौका पनि पाउन थालियो । खेल बुझ्दै गइयो । त्यो बेला करकेट बल भन्ने हुन्थ्यो । ब्याडमिन्टनको ककको पछाडिको भाग हुन्छ नि त्यस्तैलाई बाँधेर बनाइएको बल । सस्तो त्यही थियो । डिउज बल त महँगो पनि पर्ने र किन्न पनि भारतको पटना र मुजर्फरपुर नै पुग्नु पथ्र्यो ।

पहिलोपटक २०३७ सालमा भएको राष्ट्रिय स्तरको प्रतियोगितामा म जनकपुरबाट टिममा छानिएँ । त्यो बेला १८ वर्षको थिएँ । जय ट्रफी नेशनल च्याम्पियनसिपको नाममा अञ्चल स्तरको प्रतियोगिता भएको थियो । त्यो टिममा ९ जना त हामी ब्रहृमपुरी टोलकै थियौं ।

……

जय ट्रफीको कुरा आइनै हाल्यो । नेपाली क्रिकेटको विकासमा जय ट्रफीको योगदान ठूलो छ । क्रिकेट नै नहुने त्यो समयमा एउटा नियमित प्रतियोगिता हुँदा खेलाडीहरु बढेका थिए ।

त्यसअघि पनि हामी जनकपुरबाट लाहानमा मैत्रीपूर्ण खेल खेल्न जान्थ्यौं । जाँदा बल र ब्याट मात्र होइन, पिच बनाउन म्याट पनि बोकेर जानुपर्ने स्थिति थियो । मैदान भए पनि पिच हुँदैन थियो । यसैले म्याट ओछ्याउनुको विकल्प थिएन । खेल सकेपछि फेरि म्याट बोक्यो र फर्कियो ।

जय ट्रफी हुनुअघि वीरगञ्जमा राज्याभिषेक ट्रफी पनि एक-दुई वर्ष भयो । त्योबाहेक राजविराज, लाहान र वीरगञ्जमा हुने मैत्रीपूर्ण खेल नै हाम्रो क्रिकेटको दुनियाँ थियो । जय ट्रफीपछि देखासिकीमा क्रिकेट प्रतियोगिता बढ्न थाले । काठमाडौं, कलैया, जनकपुर, विराटनगर सबैतिर प्रतियोगिताहरु बढेका थिए । त्यसले गर्दा हाम्रो अभ्यास पनि बढेको थियो ।

हामी ०३३ सालदेखि क्रिकेट खेल्न थालेको भए पनि खेलाडी एकदमै कम थिए । ०३७ सालमा जय ट्रफी हुँदा कति टिमले भारतीय खेलाडीसमेत ल्याएका थिए । हामीले विवाद गर्नुहुन्न भन्ने सोच्यौं । नेपाली खेलाडी पनि भारतमा पढ्न बसेका धेरै थिए । नेपालमै बसेर क्रिकेट सिक्ने र खेल्ने त निकै कम ।

त्यो बेला खेल जित्दा नगद पुरस्कार आउने त कुरै थिएन । प्रतियोगिता हुनु नै ठूलो कुरा थियो । राष्ट्रिय प्रतियोगिता क्यानको आयोजनामा हुने भए पनि सबै हर्ताकर्ता राष्ट्रिय खेलकुद परिषद नै हुन्थ्यो । खर्च उसैले व्यहोर्थ्यो, व्यवस्थापन पनि उसकै । जयकुमारनाथ शाह क्यानको अध्यक्ष भएकाले ट्रफीको नाम ‘जय ट्रफी’ राखिएको थियो ।

उद्योगी-व्यापारीबाट आर्थिक स्रोत जुटाएर प्रतियोगिता आयोजना हुन्थ्यो । पैसा जति उठ्यो खेलाडीले उति सुविधा पाउँथे । पैसा राम्रो उठेन भने खानेकुरा पनि कमसल हुन्थ्यो, ठीकैको ठाउँमा राखिन्थ्यो । कप पनि सामान्य दिन्थ्यो ।

०३७ सालमा पहिलोपटक जय ट्रफी खेलेको मैले ०५८ सालसम्म लगातार नै राष्ट्रिय प्रतियोगिताहरु खेलें । जय ट्रफी बीचमा केही वर्ष भएन ।

०५८ सालमा ३९ वर्षको उमेरमा मैले सन्यास लिएँ । ०५८ सालपछि त जय ट्रफी पनि भएन । त्यसपछि अञ्चलस्तरीय र जिल्लास्तरीय प्रतियोगिताहरु हुन थाले ।

……

०४१ सालदेखि जनकपुर चुरोट कारखानाले क्रिकेट टिमको प्रायोजन गर्न थाल्यो । त्यसपछि टिम राम्रो हुँदै गयो । प्रायोजक भएपछि क्रिकेट सामग्रीहरुको कमि भएन । कारखानाकै कर्मचारीले भारतको पटना गएर वर्षभरीको लागि पुग्ने सामान ल्याइदिन्थे ।

मैले त्यसअघि नै ०३८ सालमा जनकपुर चुरोट कारखानामा नोकरी सुरु गरिसकेको थिएँ । बिहान ७ देखि ११ सम्म मेरो ड्युटी थियो । क्रिकेट टिम बनाउने भएपछि क्रिकेट खेल्ने अरु ७/८ जनालाई पनि करारमा नोकरीमा राखियो ।

पहिले घरबाट डराउँदै लुकेर क्रिकेट खेल्न जाने हामी जागिर नै भएपछि त ढुक्कले खेल्न थाल्यौं । हरेक दिन दिउँसो १ बजेदेखि नियमित अभ्यास हुन्थ्यो । न्युरोडको काठमाडौं खेल मण्डलले काठमाडौंमा गर्ने केकेएम टुर्नामेन्ट जनकपुर चुरोट कारखानाबाट हामीले लगातार तीन पटक जित्यौं । सबै स्वदेशी खेलाडीले नै खेलेर जितेका थियौं ।

त्यही उपलब्धीको बलमा हामीले ०४५ सालमा काठमाडौं-११ नाममा टिम बनाएर सुपर ६ क्रिकेट खेल्न बैंकक जाने अवसर पायौं । टिमको नाम काठमाडौं ११ भए पनि टिममा हामी ९ जना थियौं । त्यही नै हाम्रो पहिलो विदेश यात्रा थियो ।

पहिलोपटक बाहिर खेल्न जाँदा असाध्यै राम्रो भयो । पहिले त सबै जोशिएर खेल्न खोज्थ्यौं । बाहिर बस्नु नपरे हुने, प्लेइङ सेटमा पर्न पाए हुने भन्ने सबैलाई लाग्थ्यो । तर, पछि त यति गाह्रो भयो कि आफूलाई बाहिर राखिदिए पनि हुने जस्तो लाग्न थालेको थियो ।

६ ओभर पूरै कुदिरहनुपर्थ्यो । श्रीनिवास राणा हाम्रो कप्तान थिए । म, श्रीनिवास, दीपक कोइराला नियमित नै टिममा हुन्थ्यौं । टिमबाट निक्लन पाए हुन्थ्यो भन्ने लागे पनि कप्तानले भनेपछि खेल्नु परिहाल्यो । नेपालमा पनि क्रिकेट छ है भनेर बुझाउन त्यो प्रतियोगिताले सहयोग गरेको थियो । टेस्ट खेल्ने देशका खेलाडीहरु पनि आएका थिए ।

हामी बैंककबाटै मैत्रीपूर्ण खेलको लागि बंगलादेश गयौं । नेपालबाट ६ जना अरु साथी सिधै बंगलादेश गए र हामी उतै भेटेर दुईवटा एकदिवसीय खेल खेल्यौं । त्यसमा पनि जनकपुरको ७ जना थियौं । ३३ सालदेखि क्रिकेट देशबाहिर गएर खेल्ने मौका ४५ सालमा गएर बल्ल पाइयो ।

०४६ सालमा भारतीय रेल्वेको निमन्त्रणामा फेरि मैत्रीपूर्ण खेलका लागि हामी दिल्ली गयौं । त्यहाँ तीनवटा खेल खेल्यौं । दुईवटा खेलमा श्रीनिवास कप्तान थिए, म उपकप्तान । अन्तिम खेलमा श्रीनिवासको हजुरआमा बिरामी भएर र्फकनुपरेपछि मैले कप्तानी गर्न पाएको थिएँ । तर, पानी परेर खेल नै भएन । अगाडि दुई खेल एक/एकको बराबरीमा सकिएको थियो ।

……

यस्तै अनुभवहरुले नै म नेपाली क्रिकेट टिमको पहिलो कप्तान बन्न पाएँ । आईसीसी मान्यताप्राप्त नेपालको पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी सन् १९९६ मा नेपाली टिमको कप्तानी गरेर मलेसिया गएँ । त्यो ०५३ साल भदौको कुरा हो । म कसरी कप्तान भएँ भन्ने सन्दर्भ पनि रोचक छ ।

त्यस प्रतियोगिताका लागि ०५३ सालमा वीरगञ्जमा भएको जय ट्रफीबाट खेलाडी छानिएको थियो । त्यतिबेला हाम्रो जिल्लास्तरीय टिम भइसकेको थियो । सुरुमा सबै जिल्लाबाट गरेर ३२ जना छानियो र वीरगञ्जमा नै क्याम्पमा राखियो । त्यसबाट १८ र १४ खेलाडी छानियो । तर, पनि पानी पर्ने बेलाको क्याम्प भएकाले दौडने काम मात्रै भयो । ब्याट र बल त समाउनै पाएनौं ।

०५३ को जय ट्रफीमा मैले शतक हानेको थिएँ । त्यही शतकले नै मलाई नेपालको पहिलो क्रिकेट टिमको कप्तान बनाएको हो । जय ट्रफीमा सुरुका दुई/तीन वर्ष त मेरो ब्याट नै चलेको थिएन । अभ्यासमा छुरा थिएँ, तर खेल्ने बेला कहिल्यै राम्रो नहुने । अरु प्रतियोगितामा राम्रै रन बनाइरहेको हुन्थें । तर ट्रफीमा के हुन्थ्यो हुन्थ्यो ।

ब्याटिङ गर्न जाँदा हान्छु भन्ने सोच्यो, तर ताल नै नमिल्ने । त्यो बेला प्रतियोगितापछि हुने क्याम्पमा पनि मेरो नाम कहिल्यै नपर्ने । बडा ताजुब लाग्थ्यो । त्यहाँ परेको भए पनि केही बुझ्न पाइन्थ्यो भन्ने लोभ थियो । त्यो क्याम्पमा बसेर सिक्नेहरुले जिल्लामा गएर अरुलाई सिकाउँछन् भन्ने थियो । त्यसैले राष्ट्रिय प्रतियोगितामा मेरो चार वर्ष एकदमै संघर्ष जस्तो भयो । त्यसपछि भने जय ट्रफीमा पनि राम्रो भयो । रन बनाउन थालेको थिएँ ।

अँ, म कुरा गर्दैथिएँ राष्ट्रिय टिमको कप्तानीबारे । खासमा ०५३ सालको जय ट्रफीमा ललितपुरसँग परेको खेलमा मैले राम्रो ब्याटिङ गरेको थिएँ ।

त्यो बेला जय ट्रफी वैशाखको गर्मीमा वीरगञ्जमा भएको हुनाले दुई सिफ्टमा गरेर खेलाइएको थियो । पहिलो इनिङ बिहान ७ बजेदेखि र दोस्रो इनिङ दिउँसो २ बजेपछि हुन्थ्यो । एउटा इनिङपछि बीचमा आरामको समय पर्याप्त पाइन्थ्यो ।

ललितपुरले पहिले ब्याटिङ गरेर १ सय ६२ रन बनाएको थियो । हामीले लक्ष्य पछ्याउँदा मैले तीन नम्बरमा ब्याटिङ गरेर शतक बनाएँ । मेरै शतकले हामीले खेल जित्यौं । त्यही इनिङले नेपालले पहिलोपटक एसीसी ट्रफी खेल्दा म कप्तान बन्न पाएको हुँ ।

संयोग भनौं वा भाग्यले साथ दिएको हो । हल्का हातले पुल गर्दा पनि छक्का निस्किरहेको थियो । त्यसअघि ब्याटिङ गर्न त्यति सजिलो मलाई कहिल्यै लागेको थिएन । चाहेको बेला छक्का, चौका हानिरहेको थिएँ । आफ्नो ब्याटिङ देखेर आफै अचम्ममा परेँ ।

……

एसीसी ट्रफी खेल्न मलेसिया जानुअघि हामीलाई पूरा ५० ओभर खेल्नुपर्छ है भनियो । अरु उद्देश्य नै केही थिएन ।

हामीले त्यही सोचेर खेल्यौं । हाम्रो प्रशिक्षक सुरज भट्टराई हुनुहुन्थ्यो । पहिलोपटक नेपालको आधिकारिक प्रतियोगितामा राम्रो अनुभव भयो । नेपालको जर्सीमा पहिलोपटक खेल्न पाउँदा गर्व लाग्यो ।

मलेसियामा मैदान पनि असाध्यै राम्रो थियो । मैदान मात्रै पाँच वटा । देख्दै वाउ ! जस्तो लाग्ने ।

हामीले ब्रुनाई र जापानलाई हरायौं । बंगलादेश, फिजी र हङकङसँग हामी हारेका थियौं ।

पहिलो खेल नै बंगलादेशसँग परेको थियो । बंगलादेशले पूरा ५० ओभर खेल्दै ९ विकेट जाँदा २ सय १३ रन बनायो । दोस्रो इनिङ सुरु नुहुँदै बीचमा पानी परेकाले खेल ३९.२ ओभरमा छोट्याएर १ सय ६८ रनको लक्ष्य दिइएको थियो । हामीले पूरा ओभर त खेल्यौं तर ५ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यौं ।

दोस्रो खेलमा जापानालाई ३३ ओभरमा ७२ रन बनाउँदा अल आउट पार्‍यौं । १५ ओभरमा २ विकेट जाँदा हामीले लक्ष्य भेट्यौं । पहिलो आधिकारिक प्रतियोगितामा पहिलो जित निकाल्दा हामी असाध्यै रमाएका थियौं । तेस्रो खेल फिजीसँग १ सय २३ रनले हार्‍यौं । चौथो खेलमा ब्रुनाइलाई ७८ रनले हरायौं । अन्तिम खेलमा हङकङसँग ६ विकेटले हार्‍यौं ।

त्यो बेलाको बंगलादेश अहिले कहाँबाट कहाँ पुग्यो । हङकङमा त भारत, पाकिस्तान र इंग्ल्याण्डका खेलाडी मिसिएका थिए । हामीले समग्रमा राम्रो नै गर्‍यौं । म घरेलु प्रतियोगितामा विकेटकिपर ब्याट्सम्यान थिएँ । त्यहाँ ३ नम्बरमा ब्याटिङ गर्थें । जनकपुरको टिमबाट पनि ३ नम्बरमा नै ब्याटिङ गर्थें ।

जतिबेला हाम्रो खेलको उचाइको समय थियो त्यो बेला बाहिर प्रतियोगिता थिएन । पहिलोपटक आधिकारिक प्रतियोगिताको कप्तान हुँदा नै ३४ वर्षको थिएँ ।

त्यसपछि ०५५ साल असोजमा नेपालमै भएको एसीसी ट्रफीमा म छनोट नै भइनँ । त्यसपछि ०५७ साल कात्तिकमा युएईमा भएको एसीसी ट्रफी भने खेल्न पाएँ । पहिलो एसीसी ट्रफीमा कप्तानको रुपमा थिएँ भने तेस्रोमा खेलाडीको रुपमा मात्रै ।

तेस्रो एसीसी ट्रफीमा पनि मेरो स्थान सुरक्षित थिएन । विभिन्न छनोट चरण पार गर्दै अन्तिम १८ सम्म पुगेको थिएँ तर अन्तिम १४ मा परेको थिइनँ । ०५७ सालमा पहिलो विदेशी प्रशिक्षकका रुपमा पाकिस्तानका अफताब बालोच आएका थिए । छनोटमा सबै खेलाडीलाई उनैले हेरेका थिए ।

त्यो बेला टिममा नपर्दा असाध्यै दुःख लागेको थियो । घरेलु प्रतियोगिताहरुमा राम्रो गरिरहेको थिएँ । तर पनि मेरो उमेरलाई देखाएर उहाँले अरु युवा खेलाडीलाई अवसर दिने निर्णय गर्नुभएको थियो । अहिले सम्झँदा उहाँको निर्णय सही थियो भन्ने लाग्छ । सबै राम्रो भए पनि मेरो उमेर बाधक बन्यो । त्यतिबेला म ३८ वर्ष भइसकेको थिएँ ।

मेरो नाम बैकल्पिकमा थियो । तर, युएई गएपछि दिपेन्द्र चौधरी घाइते भए र मैले अवसर पाएँ । त्यो बेला पवन अग्रवाल कप्तान थिए । युएईमा भएको त्यो बेलाको एसीसी ट्रफीमा हामी सेमिफाइनसम्म पुगेका थियौं । समूह चरणमा हामीले जापान र माल्दिभ्सलाई हरायौं । सेमिफाइनलमा हङकङसँग हार्‍यौं ।

……

मैले विकेटकिपिङ कसरी सुरु गरें भन्ने पनि रमाइलो छ । घाइते हुने डरले सुरुमा कोही पनि विकेटकिपिङ गर्नै नमान्ने । म त जिउ पनि पातलो, फुर्तिलो मान्छे । कोही नमानेपछि विकेटकिपिङमा दाईहरुले मलाई नै बसाइदिन्थे । सेफ्टी केही हुँदैनथ्यो । लागेर गइयो भने त बित्यासै परिहाल्थ्यो । त्यही भएर नै हत्तपत्त कोही विकेटकिपर बस्दैन थिए । यद्यपि, मलाई चोट लागेन, त्यसैले किपिङमा पनि मन लाग्दै गयो । नेपालमा मेरो नाम ब्याटिङमा मात्रै होइन किपिङमा पनि आउँथ्यो ।

अर्को सम्झना आइरहने घटना बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जाँदा पनि घट्यो । त्यहाँ मैले एउटा खेलमा अर्धशतक बनाएको थिएँ ।
मैले रन बनाइरहँदा सबैको ध्यान भने मेरो ब्याटमा रहेछ । ब्याट चाहिँ एचडीको बाउन्डी । त्यो भारतमा २ सय ५० रुपैयाँमा पाइन्थ्यो ।

अर्धशतक हानेपछि एउटा बंगलादेशीले सोध्यो, यो ब्याटको कति पर्छ ?

अब त्यो बंगलादेशीलाई २ सय ५० रुपैयाँ भने भनें त त्यसले हेप्छ भनेर मैले पनि एक हजार भनिदिएँ । अनि त्यसले ‘नाइस ब्याट’ भनेर गयो ।

……

क्रिकेट खेल्दाको सबैभन्दा रमाइलो सम्झना टुँडिखेलमा नै छ । त्यो बेला काठमाडौंमा क्रिकेट हुने भनेकै टुँडिखेलमा । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको दर्शक नै हो । त्यो बेला पनि क्रिकेट हेर्ने मान्छे त्यति धेरै हुन्थे भन्दा अहिले विश्वास नहुन सक्छ । तर, त्यहाँ खेल हेर्न मात्र होइन, घाम तापेर बदाम खान पनि धेरै आउँथे । नबुझे पनि लहैलहैमा हुटिङ गरिहाल्थे ।

जय ट्रफीअघि पनि महावीर कप, भट्टराई कप, केकेएम कप जस्ता प्रतियोगिता खेल्न हामी काठमाडौं आइरहेका हुन्थ्यौं । हामीले केकेएम लगातार तीनपटक जितेपछि काठमाडौंमा हाम्रो समर्थक बढेका थिए । जनकपुरबाट नै काठमाडौं आएर बस्ने पनि धेरै ने हुन्थे । त्यसैले हाम्रो समर्थन राम्रो थियो ।

हेर्नुहोस् भिडियो

टुँडिखेलको एउटा खेलमा हामीले गैह्रीधारासित खेल्दा एम्पायरले एक ड्रप भएर समातेको क्याचमा पनि आउट दिए । हाम्रो ओपनिङ ब्याट्सम्यान नै स्लिपमा गलत निर्णयमा आउट भएपछि दर्शक सबै मैदानमा पसे । हामी दोस्रो इनिङमा लक्ष्य पछ्याइरहेका थियौं । दर्शकले होहल्ला गरेर मैदानमै पसेपछि खेल नै हुन सकेन र भोलिको लागि सारियो । भोलिपल्ट हामीले खेल जित्यौं ।

‘तिमीहरुको त काठमाडौंमा पनि कति राम्रो समर्थन, तिमीहरुलाई छुनै नसकिने’ भन्थे अरु टिमका साथीहरु । पछि एम्पायरलाई किन त्यस्तो पनि आउट दिएको भनेर सोधेको त बल बाउन्स भएर ब्याटमा लाग्ने बेला आँखामा धुँलो पर्‍यो भनेर जवाफ दिए ।

त्यो बेला मैले म्यान अफ दि सिरिज भएर एक प्याक बिस्कुट पाएको थिएँ । आफैले बोक्न अप्ठेरो लागेर साथीलाई बोक्न दिएको त ल उत्तमले बिस्कुट बाँड्यो भनेर सब दर्शकले लुछाचुडी गरेर लगिहाले । मेरो हातमा पर्दासम्म विस्कुट धुलोपिठो भइसकेको थियो ।

……

०५६ सालमा अस्कलको टिमबाट पनि एउटा प्रतियोगिता खेलें । कलेजस्तरीय प्रतियोगिता थियो त्यो । कीर्तिपुर मैदानमा मेरो पहिलो खेल त्यही नै थियो । जय ट्रफीको बेला सुरुका प्रतियोगिताहरु त टुँडिखेलमा नै भयो । पछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा पनि खेलियो । पछि ०५८ सालको मेरो अन्तिम जय ट्रफी हुँदा पनि हाम्रो खेल कीर्तिपुरमा परेन ।

अन्त्यमा जय ट्रफी नै खेलेर सन्यास लिएँ । सन्यासपछि नेपाल क्रिकेट संघ (क्यान) बाट बिदाइ, सम्मान केही भएन । क्यानमा अहिलेसम्म पनि त्यस्तो खालको कल्चर छैन । हुन त म आफै क्यानमा हुँदा पनि त्यस्तो कामको सुरुवात भएन । अब एउटा सिस्टम बसाल्नुपर्छ भन्ने लागेको छ ।

०६३ सालमा पुरानो कप्तानको नाताले क्यानमा सदस्य भएर काम गर्न पनि पाएँ । त्यसपछि सचिव भएँ । आफ्नो तर्फबाट सधैं क्रिकेटको विकासका लागि नै काम गरेको छु भन्ने लाग्छ ।

अहिले नेपालले क्रिकेटमा राम्रो गरिरहेको छ । यस्तो अवस्थामा पनि विभिन्न विवादले क्रिकेट संघ निलम्बनमा हुँदा दुःख लाग्छ । हामी सबैले आफ्नो स्थानबाट जे गर्न सक्छौं त्यो गरेर विवाद छिटो समाधान गर्नुपर्छ भन्ने लाग्छ ।

यस्तै हो भने त हामीले एकदिवसीय मान्यतालाई पनि जोगाउन सक्दैनौं । नेपालमा महिला क्रिकेटले राम्रो गरिरहँदा पनि शून्यको अवस्थामा पुग्ला जस्तो भइसक्यो । जिल्ला, क्षेत्रमा पनि प्रतियोगिता ठप्प छ । सबै कुरा क्यान नहुँदा नै अड्किएको छ । त्यसैले छिटोभन्दा छिटो क्यानलाई मिलाउन नै लाग्नुपर्छ ।

शक्ति गौचन, परेश लोहनी, बिनोद दास, कलाम अलिहरुसँग प्रतियोगिता खेले पनि त्योपछिको ब्याचसँग भने मैले खेलिनँ । अहिले पछिल्लो पुस्ताले झनै राम्रो गरिरहेको छ । उनीहरु अहिले नै पैसाको पछि नलागुन् र खेलमा विशेष ध्यान दिउन् भन्ने लाग्छ । खेल राम्रो भएपछि पैसा त आउन थालि नै हाल्छ । त्यसको उदाहरण त सन्दीप लामिछानेले दिई नै रहेका छन् ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीरहरु : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment