Comments Add Comment

खानेपानीका प्राविधिक थाहै नपाई बने फूल व्यवसायी

१९ कात्तिक, गोरखा । सोलुखुम्वुका ४६ वर्षीय एकुबहादुर राई खानेपानी तथा सरसफाइ कार्यालयका प्राविधिक हुन् । जागिरको सिलसिलामा गोरखा आएको १३ वर्ष भयो । सोलुखुम्बुमा गर्दै आएको खेती किसानीलाई गोरखा आएर पनि उनले निरन्तरता दिए ।

गोरखा नगरपालिका-८ मा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गरेका राईले थाहै नपाई व्यावसायिक फूल खेतीतिर लागे । उनले ६ वर्ष तरकारी खेतीमात्रै गरे । तर तरकारीमा धेरै किरा लागेपछि उनी यसको समाधानको उपाय खोज्नतिर लागे ।

तरकारीमा किरा लाग्ने समस्या भएपछि उनले अरु कृषकसँग सुझाव लिए । अरुले किरा हटाउन सयपत्री फूल रोप्न सझाव दिए । उनले तरकारी खेती गरेकै ठाउँमा सयपत्री फूलका बोटहरु लगाए । तिनै बोटहरुको संख्या बढाएर अहिले उनी व्यवसायिक सयपत्री फूल खेतीमा लागेका छन् ।

‘तरकारी खेतीमा किरा लाग्ने समस्या आएपछि केहीले मलाई छेउछेउमा फुलको बोट रोप्नु अनि किरा लाग्दैन भन्नुभयो । त्यही अनुसार केही सयपत्री फूलका बोटहरु रोपें,’ एकबहादुरले भने, ‘फूल पनि राम्रै फूल्यो, केही मानिसहरु फूल किन्न पनि आउनुभयो, त्यसपछि राम्रो व्यापार हुन्छ जस्तो लागेर गत वर्षबाट फूल खेती सुरु गरें ।’

फूल बेच्न भ्याइनभ्याई

 सयपत्रीको व्यापार हुने मुख्य समय तिहार हो । सोमबारबाट तिहार सुुरु भएपछि उनलाई फूल बेच्न भ्याइनभ्याइ छ ।

उनले करिब पाँच क्विन्टल फूल बेचिसकेका छन् । ‘करिब आठ क्वीन्टल जति फूल फूलेको छ, पाँच क्विन्टल बेचिसकें, अरु पनि धमाधम बिक्री भइरहेको छ,’ उनले भने । होलसेल मूल्य प्रति केजी दुई सय पचास र खुद्रा मूल्य प्रति केजी तीन सय रहेको उनले बताए ।

उत्पादित फूलहरु गोरखासँगै काठमाडौ र चितवनमा बिक्री हुने गरेको उनी बताउँछन् । ‘जिल्लाकै माग पुर्‍याउन सकेको छैन, बाहिरी जिल्ला नपठाएर पहिले जिल्लाकै माग पुर्‍याउन सके हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने ।

चाडवाडको समयमा भारतबाट फूल ल्याउँदा करोडौको रकम विदेशिने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘हामी आफै आत्मनिर्भर बन्न सक्यौ भने त हाम्रो पैसा विदेशिदैन, फेरि रोजगार पनि हुन्छ त्यही सोचेर फूल खेती सुरु गरेको हुँ,’ उनले भने ।

फूल खेतीका लागि बढी मेहनत पनि गर्नु नपर्ने उनी बताउँछन् । करिब ८ क्विन्टल फूल उत्पादन गर्न उनले २० हजार नगद र केही श्रमदान मात्र खर्च गरेका छन् । उक्त फूल बेच्दा करिब तीन लाख आम्दानी हुने उनी बताउँछन् । रोपेको एक सय ४० दिनमा फूल बेच्न मिल्ने उनको भनाइ छ ।

सरकारी जागिरे भएका कारण उनले बिहान बेलुकी र बिदाको दिन मात्र समय दिन पाउँछन् । अन्य समयमा उनलाई उनकै परिवारले साथ दिइरहेका हुन्छन् ।

कामको चाप भएको बेला ज्यालामा मान्छे लगाउँछन् । झार कम गर्न फूल खेती लगाएको ठाउँमा उनले मास, भटमास र बोडी पनि लगाएका छन् ।

अहिले पाँच रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आएका राईले आगामी दिन थप क्षेत्रफलमा फूल खेती गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment