२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।
तिहार, छठलगायतका चाडपर्वहरू संघारमा अाएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
कांग्रेसको बैठकले मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको निधनप्रति शोक व्यक्त गरेको छ । सोमबार डोल्पामा जीप दुर्घटनामा परी निधन भएकाहरु प्रति पनि कांग्रेसको बैठकले शोक प्रकट गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा जनाइको छ ।
बैठकले पार्टीको लेखा परीक्षण समितिको संयोजकमा श्यामकुमार घिमिरेलाई मनोनयन गरेको छ ।
गच्छदारलार्इ उपसभापति बनाइयो
मंगलबार बसेको कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको छ । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस अाैपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।
कांग्रेस सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता नदिएको आरोप खेपिरहेका बेला मंगलबार गच्छदारलाई उपसभापति बनाएका हुन् ।
चुनावको मुखमा लोकतान्त्रिक फोरमलाई आफ्नो मातृपार्टी नेपाल किांग्रेसमा मिसाए पनि गच्छदार अहिलेसम्म जिम्मेवारीविहीन थिए ।
पार्टी एकीकरणका बेला सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने आश्वासन दिएको चर्चा चलेको थियो । यसवीचमा खुमबहादुर खड्का पनि उपसभापतिका दाबेदार थिए । यसैवीच गत चैत्रमा खड्काको निधन भएपछि देउवाले गच्छदारलाई उपसभापति बनाउन सहज भएको कांग्रेस नेताहरु बताउँछन् ।
पार्टीले गच्छदारलाई ढीलो गरी उपसभापतिको जिम्मेवारी दिए पनि लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका धेरै नेता-कार्यकर्ताहरु अहिलेसम्म जिम्मेवारीविहीन बनिरहेका छन् ।
जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको कांग्रेसले जानकारी दिएको छ । समितिले अागामी कार्य समिति बैठकमा पार्टी एकतासम्बन्धी विधि तय गरेर प्रतिवेदन पेश गर्ने छ ।
यसैवीच, गच्छदारलाई उपसभापति बनाइएकोमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले असन्तुष्टि प्रकट गरेको छ । गच्छदारको नियुक्ति विधि र प्रक्रिया मिचेर गरिएको पौडेल समूहको आरोप छ ।
यो पनि पढ्नुहोस्
विधि र प्रक्रिया मिचेर गच्छदारलाई उपसभापति बनाइयोः पौडेल समूह
प्रतिक्रिया 4