Comments Add Comment

विधि र प्रक्रिया मिचेर गच्छदारलाई उपसभापति बनाइयोः पौडेल समूह

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरुले पार्टीको विधि र प्रक्रिया मिचेर विजयकुमार गच्छदारलाई उपसभापति मनोनित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले लोकतान्त्रिक फोरमबाट एकतामा आएका गच्छदारलाई उपसभापतिमा मनोनित गर्‍यो । तर, पार्टी विधि र प्रक्रिया भन्दा बाहिर गएर निर्णय गरिएको भन्दै संस्थापनइतरका नेताहरुले असन्तुष्टि जनाएका छन् । ‘हामीले बैठकमै पार्टीको विधि र प्रक्रिया अनुसार निर्णय गर्नुपर्छ भनेका हौं । मैले यही ढङ्गले कुरा राखें,’ बैठकपछि नेता अर्जुननरसिंह केसीले पत्रकारहरुसँग भने, ‘तर निर्णय भयो । सर्वसम्मत भएको होइन ।’

पार्टीको विधानअनुसार गच्छदारलाई उपसभापति बनाउँन नमिल्ने भन्दै संस्थापनइत्तरका नेताहरुले बैठकमै असहमति जनाएका थिए । पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्नका लागि बाधा अड्काउ फुकाउको बाटो अपनाउन सकिने र त्यसका लागि एउटा छुट्टै समिति जान सकिने प्रस्ताव आफूहरुले राखेको नेता केसीले जानकारी दिए ।

कांग्रेसमा पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान छ । यसअघि गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मात्रै थिए । ‘बाधा अड्काउ फुकाउ गर्न सकिने बाटो थियो । त्यो कांग्रेसको विधि हो,’  नेता केसीले भने, ‘उहाँहरुको भातृसंगठनलाई पनि समाहित गर्नुपर्ने छ । यी सबै कामका लागि एउटा समिति बनाउँ भन्ने थियो तर आजै निर्णय भयो ।’

तर, निर्णय भइसकेपछि आफूहरुले गच्छदारलाई बधाइ दिएको र गच्छदारलाई उपसभापति बनाउनै हुन्न भन्ने पक्षमा भने आफूहरु नरहेको पनि उनले बताए ।

कांग्रेस नेता रमेश लेखकले भने गच्छदारलाई उपसभापति बनाउने निर्ण राजनीतिक निर्णय भएको भन्दै बचाउ गरेका छन् । ‘यो राजनीतिक निर्णय हो । दुई वटा पार्टीका  बीचमा राजनीतिक छलफल भयो । त्यही अनुसार तत्कालीन लोकतान्त्रिक फोरम नेपाल कांग्रेसमा समाहित भयो । हामीले त्यसबारे निर्वाचन आयोगमा जानकारी गरायौं , ‘ उनले भने, ‘यो सबै प्रक्रिया राजनीतिक प्रक्रिया हो । र अहिले पनि जुन निर्णय गरिएको ट त्यो राजनीतिक निर्णय हो ।’

राजनीतिक निर्णयमा विधि र प्रक्रिया भन्दा पनि तत्कालीन आवश्यकता र राजनीतिक सहमती नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

विधान संशोधन मस्यौदा पनि सर्वसम्मत हुन सकेन

नेपाली कांग्रेसको विधान संशोधन गर्न गठिन ‘विधान संशोधन मस्यौदा समिति’का संयोजक पूर्णबहादुर खड्काले विधान संशोधन मस्यौदामा सर्वसम्मत हुन नसकेको बताएका छन् ।

मंगलबार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्दीय समिति बैठकमा संयोजक खड्काले मस्यौदाका सबै विषयमा सर्वसहमत हुन नसकेको ब्रिफिङ गरेका हुन् ।

बैठकमा उनले सकेसम्म सबैको भावना समेटेर मस्यौदालाई अन्तिमरुप दिन खोजीएको बृफिङ गरेको समिति प्रवक्ता रमेश लेखकले जानकारी दिए । ‘बिधान प्राय बनिसकेको अवस्था छ । तर, केही विषयहरुमा केही फरक बिचारहरु प्रस्तुत भएका छन् । त्यसमा सर्वसम्मति गर्न बाँकी छ । त्यसकारण आज हामीले मस्यौदा पेस गर्न सकेनौं भनेर उहाँ (संयोजक खड्का) ले राख्नुभयो’, लेखकले जानकारी दिए ।

एक नेताका अनुसार समितिमा पार्टीको सदस्ययताको विषय सबैभन्दा विवादित बनेको छ ।

क्रियाशील सदस्यता र साधारण सदस्य गरी दुई थरी सदस्यता वितरण हुँदै आएकोमा अब एकै प्रकारको गर्ने कि भन्ने विकल्पमा छलफल भइरहेको जनाइएको छ । तर, एकै प्रकारका सदस्यता वितरण गर्दा अपनाइने अन्य विषयमा नेताहरुबीच विवाद छ ।

यसैगरी, केन्द्रीय पदाधिकारी बढाउनेर कि बढाउने, संगठन संरचना कस्तो बनाउने, निर्वाचन पद्धति के हुने भन्ने लगायतका विषयमा सहमति भइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment