+
+
Shares

युद्धको त्रासमा बेलायत

रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले लेखेका छन्, ‘सबैभन्दा खराब अवस्था आउन नदिन हामीले तयारी गर्नुपर्छ ।’

नवीन पोखरेल नवीन पोखरेल
२०८३ कात्तिक १० गते १८:४०

लन्डन । बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले तीन दिनअघि एउटा लेखमार्फत बेलायत एक हजार दिनभित्र युद्धका लागि तयार रहनुपर्ने बताएपछि देशभर तरंग उत्पन्न भएको छ ।

रुसले नेटोविरुद्ध आफ्नो ‘हाइब्रिड युद्ध’ तीव्र पारिरहेका बेला रक्षामन्त्री स्ट्रिटिङले ‘द टेलिग्राफ’ अखबारमा लेख लेख्दै चेतावनी दिएका छन्, ‘हाम्रा सत्रुहरू सन् २०३० सम्म बेलायतमाथि आक्रमण गर्न तयार हुन सक्छन् । हामीलाई हानि पुर्‍याउने उनीहरूको चाहना कुनै नौलो कुरा होइन । तर ती विरोधीको क्षमतामा भने परिवर्तन आएको छ ।’

सन् २०३० सम्म सम्भावित प्रतिद्वन्द्वी राष्ट्रको सैन्य शक्ति र युद्धका लागि आवश्यक आर्थिक क्षमता बढ्न सक्ने चेतावनी मन्त्रीको छ ।

स्ट्रिटिङले रुसबाट ‘राज्य–प्रायोजित आतंकवाद’ का लागि बेलायत तयार रहनुपर्ने स्पष्ट बताएका छन् ।

रुसी आक्रमणको सम्भावनालाई औंल्याउँदै उनले लेखमा उल्लेख गरेका छन्, ‘सबैभन्दा खराब अवस्था आउन नदिन हामीले त्यसका लागि तयारी गर्नुपर्छ ।’

आफ्ना सहयोगीहरूसँग मिलेर लड्न र युद्ध जित्न तयार रहने मिसन पूरा गर्न एक हजार दिनभन्दा केही बढी समय रहेको उनको धारणा थियो ।

उनको भनाइ छ, ‘मेरो मुख्य प्राथमिकता बेलायत युद्ध लड्न र जित्नका लागि तयार छ भन्ने सुनिश्चित गर्नु हो ।’

आफ्नो प्रतिरक्षा क्षमता बलियो बनाउँदा सम्भावित प्रतिद्वन्द्वीले बेलायतमाथि आक्रमण गर्नुअघि नै पुनर्विचार गर्न सक्ने मन्त्रीको विश्वास छ ।

सन् २०३० सम्म रक्षा खर्चलाई कुल गार्हस्थ उत्पादनको ३ प्रतिशत पुर्‍याउने लक्ष्यलाई लिएर पूर्वरक्षामन्त्री जोन हिलीले गत जुन महिनामा राजीनामा दिएपछि सरकारले आफ्नो ध्यान उक्त लक्ष्यबाट हटाएर सन् २०३५ सम्म ३.५ प्रतिशत पुर्‍याउने नेटोको व्यापक प्रतिबद्धतातर्फ केन्द्रित गरेको छ ।

बेलायतले हाल आफ्नो जीडीपीको लगभग २.६ प्रतिशत रक्षामा खर्च गर्छ भने २०२९ को मध्यमा हुने आमनिर्वाचनपछि अर्को संसद्‌मा ३ प्रतिशत लक्ष्य पूरा गर्ने बताएको छ ।

गत वर्ष नेटो सदस्यहरूले २०३५ सम्ममा जीडीपीको ३.५ प्रतिशत मुख्य रक्षा आवश्यकताहरूमा खर्च गर्न सहमत भएका थिए जसमा जीडीपीको थप १.५ प्रतिशत बृहत् रक्षा र सुरक्षा उपायहरूमा खर्च गर्ने सहमति भएको थियो ।

यस महिनाको सुरुमा एमआई फाइभका महानिर्देशक सर केन म्याकलमले राष्ट्रिय पूर्वाधारमा आइपर्ने खतराहरूको सामना गर्न सम्पूर्ण समाजको प्रयास आवश्यक रहेको बताएका थिए ।

उनले चेतावनी दिँदै भनेका छन्, ‘ह्याकिङका कारण बैंकिङ सेवाहरू ठप्प हुन सक्छन्, ड्रोनहरूले उडान सेवामा अवरोध पुर्‍याउन सक्छन् र अस्पतालहरूमा हुने साइबर आक्रमणले स्वास्थ्य उपचारमा प्रतिकूल असर पार्न सक्छ ।’

एमआई फाइभ संयुक्त अधिराज्यको गुप्तचर संयन्त्र हो जसले घरेलु प्रति–जासुसी एवं सुरक्षा एजेन्सीका रूपमा काम गर्छ ।

सरकारले केही दिनअघि २२ अक्टोबरमा ‘बी रेडी’ अभियान सार्वजनिक गर्दै प्रत्येक बेलायती नागरिकलाई प्रतिकूल मौसम, साइबर आक्रमण वा अन्य गम्भीर आपतकालबाट बच्न तीन दिनका लागि ९ लिटरसम्म पिउने पानी, लामो समयसम्म सुरक्षित रहने खालका खाना भण्डारण, टर्चलाइट, रेडियो, अतिरिक्त ब्याट्री, मोबाइल चार्ज गर्ने पावर बैंक, प्राथमिक उपचार सामग्री, आवश्यक औषधि र केही नगद घरमा सञ्चय गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री एन्डी बर्नहामले मानिसहरूलाई आपतकालीन अवस्थाका लागि खानेकुरा र पानीको जोहो गरेर राख्न सुझाव दिएका छन् । उनले बीबीसीलाई भनेका थिए ‘यो आत्तिनुपर्ने विषय होइन । यो त केवल कठिन परिस्थिति आइपर्दा काम चलाउन पुग्ने गरी घरमा आवश्यक सामग्रीहरू राख्ने एउटा समझदारीपूर्ण कदम हो ।’

गत महिना राष्ट्रिय लेखापरीक्षण कार्यालयले साइबर आक्रमणको बढ्दो खतरा र जलवायु संकटका कारण बेलायतको खाद्य आपूर्ति शृङ्खला जोखिममा रहेको चेतावनी दिएको थियो ।

विगत १८ वर्षदेखि लन्डनमा बस्दै आएका दिनेश न्यौपाने पछिल्ला खबरले मनोवैज्ञानिक त्रास पैदा भएको बताए । ‘बेलायतले युक्रेनलाई सहयोग गरेर रसियासंग रिसइवी साँध्न हुन्थेन । आफ्नो जनताको कल्याण र जीवनयापनमा सहयोग सट्टा युक्रेन युद्धमा प्रत्यक्ष संलग्न हुँदा रुसको टार्गेट हुनु स्वाभाविक हो,’ उनले सुनाए ।

बेलायतसँग रुष्ट रुस

आफ्नो भूभागभित्र लामो दुरीका आक्रमणहरू गर्न प्रयोग भएका ड्रोन युक्रेनलाई उपलब्ध गराएवापत रुस बेलायतसँग क्रुद्ध छ ।

किएभको ‘आतंकवादी संयन्त्र’ लाई बेलायतले जति बढी समर्थन गर्छ उसले त्यति नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी रुसले दिँदै आएको छ ।

बेलायतले गत अप्रिलमा युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको थियो जसमा कम्तीमा एक लाख २० हजार ड्रोनसहित आर्थिक विकासलाई बढावा दिने र बेलायतभित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको थियो ।

त्यसपछि जुनमा बेलायतले युक्रेनका लागि ७५ करोड २० लाख पाउन्ड (९९ करोड ६० लाख अमेरिकी डलर) बराबरको सहयोग प्याकेज घोषणा गर्‍यो, जसमा सन् २०२६ को अन्त्यसम्म १ लाख ५० हजार ड्रोन उपलब्ध गराइने पनि समावेश छ ।

बेलायत र युक्रेनबीच भएको नयाँ रक्षा साझेदारी सम्झौता रुसलाई चित्त बुझिरहेको छैन् । रुसी रक्षा मन्त्रालयले युक्रेनी ड्रोन उत्पादन बढाउने युरोपेली नेताहरूको कथित कदमले महादेशमा ‘सैन्य–राजनीतिक अवस्था’ बढिरहेको जिकिर गर्दै आएको छ ।

रुसभित्र हालै युक्रेनले गरेका आक्रमणहरूमा बेलायतमा निर्मित ड्रोनहरू प्रयोग भएको पुष्टि भएपछि मस्कोले ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको थियो ।

क्रेमलिनले लन्डन, लेस्टर, रिडिङ र सफोकमा युक्रेनका लागि ड्रोन र उपकरणहरू उत्पादन भइरहेको दाबी गर्दै ती ठाउँमा आक्रमणको चेतावनी दिएको थियो ।

बेलायतमा ‘टार्गेट’ गरिएको एक शहर सफोकको मिल्डेन हलमा रोयल एयर फोर्स (आरएएफ) बेस अवस्थित छ ।

तर, बेलायती प्रधानमन्त्री बर्नहामले लन्डनले युक्रेनलाई १०० प्रतिशत समर्थन जारी राख्ने बताएका छन् ।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि युरोपको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ ।

बेलायती अधिकारीहरूले रुसको सैन्य क्षमता र युद्धका लागि आवश्यक आर्थिक स्रोत बढ्दै गएमा भविष्यमा नेटो सदस्य राष्ट्रहरूसमेत थप जोखिममा पर्न सक्ने आकलन गरेका छन् ।

बेलायतका पूर्वसेना प्रमुखहरूले पनि रुससँग सम्भावित द्वन्द्वको जोखिमलाई ध्यानमा राख्दै देशको सैन्य तयारी मात्रै नभई नागरिक सुरक्षा र महत्त्वपूर्ण पूर्वाधारको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

गत वर्ष पूर्वसेना प्रमुख जनरल सर प्याट्रिक स्यान्डर्सले भ्लादिमिर पुटिन शासित रुससँग हुनसक्ने सम्भावित द्वन्द्वका लागि तयारी गर्न बेलायतसँग पाँच वर्षभन्दा कम समय बाँकी रहेको चेतावनी दिएका थिए ।

‘विश्व अहिले ‘शीत युद्ध’को समयमा जति खतरनाक थियो, त्यति नै वा त्योभन्दा पनि बढी खतरनाक बनेको छ । त्यसैले मलाई हाम्रो सुरक्षा व्यवस्थाका विभिन्न तहहरूबारे त चिन्ता लाग्छ नै, तर त्योभन्दा बढी चिन्ता हाम्रो लचकता वा कठिन परिस्थिति तथा आक्रमणहरूबाट पुनः तंग्रिने हाम्रो क्षमतालाई लिएर लाग्छ,’ उनको भनाइ थियो, ‘हामीले आफ्ना सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ र उनीहरूलाई यो कुरा बुझाउनुपर्छ कि यस्ता घटना अब केवल अन्यत्र मात्र हुने होइनन्, बेलायतमै पनि घट्न सक्छन् ।’

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?