News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ स्कटल्याण्डको ग्लास्गोमा खुलेको छ र बेलायतमा आउटलेट ३८ पुगेका छन्।
- ग्लास्गो सिटी सेन्टर नजिक सकिअल स्ट्रिटमा खुलेको रेष्टुरेन्टको शनिबार छोङले औपचारिक उद्घाटन गर्नुभयो र फ्रेन्चाइज स्वामित्व विकास आचार्यले लिएका हुन्।
- छोङले स्कटल्याण्डमा व्यवसाय विस्तार गर्ने योजना रहेको बताउँदै सन् २०३० सम्म बेलायत, युरोप र मध्यपूर्वसहित कम्तीमा १०० शाखा पुर्याउने लक्ष्य राखेका छन्।
२५ असोज, लन्डन । नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ स्कटल्याण्डको ग्लास्गोमा समेत खुलेको छ । स्कटल्याण्डमा पहिलो स्टोर खुलेसंगै इरो सुसीको आउटलेट संख्या बेलायतमा ३८ पुगेको छ ।
ग्लास्गो सिटी सेन्टर नजिक सकिअल स्ट्रिटमा अवस्थित ‘इरो सुसी’ को शनिबार सञ्चालक छोङले औपचारिक उद्घाटन गरे । उक्त रेष्टुरेन्टको फ्रेन्चाइज स्वामित्व विकास आचार्यले लिएका हुन्।
स्कटल्याण्डमा पहिलोपटक आफ्नो रेष्टुरेन्ट विस्तार गर्न पाउँदा निकै उत्साहित रहेको शेर्पाले बताए ।
स्कटल्याण्डमा व्यवसाय आक्रामक रुपमा विस्तार गर्ने योजना रहेको सुनाउँदै उनले इच्छुक अन्य व्यवसायीलाई सम्पर्क गर्न पनि आग्रह गरे। मल्टिपल स्टोर लिनेलाई विशेष प्राथमिकता र एकल लिन चाहनेलाई पनि अवसर दिइने उनको भनाइ छ ।
इरो सुसीमा लगानी गर्नेलाई अहिलेसम्म व्यवसायिक क्षतिको अनुभव नपरेको उनको जिकिर छ। कम्पनीले साझेदारीमा लगानी र पूर्ण लगानीसहित दुई प्रकारका फ्रेन्चाइज विकल्प उपलब्ध गराएको छ। पूर्ण फ्रेन्चाइजका लागि प्रारम्भिक शुल्कसँगै कारोबारको पाँच प्रतिशत रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।
स्कटल्याण्डमा पहिलो पटक इरो सुसी भित्रयाउन पाउनु आफ्ना लागि भाग्य भएको उल्लेख गर्दै स्थानीय संचालक विकास आचार्यले स्थानीय समुदायमा स्वस्थ, उच्च–प्रोटिनयुक्त खाना र गुणस्तरीय सुसी उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
इरो सुसीका साल्मन सेलेक्सन, चिकेन कात्सु करी, चिकेन ग्योजा लगायत सर्वाधिक बिक्री हुने परिकार हुन्। इरो सुसीका संस्थापक छोङ नोर्बुले सन् २०३० सम्म बेलायत, युरोप र मध्यपूर्वसहित विश्वभर कम्तीमा १०० शाखा विस्तार गर्ने लक्ष्य राखेका छन्।
हाल बेलायतभरका इरो रेस्टुरेन्टले वार्षिक करिब ११ लाख ग्राहकलाई सेवा दिँदै आएको छ । सन् २००९ मा उच्च शिक्षा अध्ययनका लागि लन्डन आएका नोर्बुले ट्रेनी सेफबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। उनले सन् २०१४ मा क्ल्यापहाम जङ्सनमा पहिलो इरो सुसी खोले भने सन् २०१९ देखि फ्रेन्चाइज मोडलमा व्यवसाय विस्तार गर्न थाले।
दोलखाको विकट गाउँमा सामान्य परिवारमा जन्मिएका ३८ वर्षीय नोर्बु आफ्नो सफलताको श्रेय लगनशीलता, इमानदारी र कडा परिश्रमलाई दिन्छन्।
प्रतिक्रिया 4